काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा छ । विभिन्न प्रदेशमा भएको प्रशिक्षणमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव नेपालले प्रशिक्षण दिइरहेका छन् ।
यहिबीचमा नेकपा एमालेसँगको पार्टी एकताको छलफल पनि चल्यो । मदन जयन्तीको अवसरमा केपी ओली, प्रचण्ड, माधव र झलनाथले बाम एकताको चर्चा मात्रै गरेनन्, तत्कालै कार्यगत एकता गर्ने उद्घोष गरे । तर एकता प्रयास भाँडिएपछि नेताहरु पनि एक अर्काप्रति कटु आलोचनामा उत्रिएका छन् ।
तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीको जन्म जयन्तीको अवसरमा असार १४ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी शीर्ष नेताहरुले बाम दलहरुबीच कार्यगत एकतादेखि पार्टी एकतासम्मको चर्चा यसरी खुलेरै गरेका थिए । तर पार्टी एकता नभए पनि कार्यगत एकताको आवश्यकता औंल्याएका नेताहरुले एकअर्काप्रति कटाक्ष भने गरि नै रहेका थिए ।
ओलीले त आफ्नो पार्टी विचार राजनीतिका हिसावले अब्बल रहेको भन्दै कथम्कदाचित एकता भइहाले पनि तलमाथि नहुने स्पष्ट गरेका थिए । उनले बाम दलहरुमात्र होइन, बामलोकत्रान्त्रिक दलहरुबीच नै कार्यगत एकताको आवश्यकता औंल्याएका थिए ।
त्यही कार्यक्रममा तत्कालै एकता गरिहाल्नुपर्ने पक्षमा देखिएका थिए झलनाथ खनाल । तर माधव नेपालले सोही मञ्चबाटै झलनाथलाई जवाफ फर्काए–कुराले मात्रै चिउरा भिज्दैन ।
गत भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि तासको घरझै गल्र्यामगुर्लुम ढलेका नेताहरु आफू कसरी बलियो बन्ने भन्ने दाउमा छन् । त्यही भएर नै उनीहरु एकताको तुरुप फ्याँकिरहेका छन् । विगतमा सर्व शक्तिमान भनेका दलहरु नै तहसनहस भइरहेकाबेला नेकपाका सह संयोजक नेपाल भने विश्वमै बामपन्थीको प्रभाव बढ्दै गएको भनी कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेका छन् ।
अघिल्लो पटक मदन स्मृति दिवसमा एकता गरेको स्मरण गर्दै गरेका प्रचण्ड यसपाली मदन जयन्तीमा पुनः एकताका पक्षमा हौसिएका थिए । तर पार्टी एकता होइन, कार्यगत एकतासमेत नहुने अवस्थामा पुगेपछि प्रचण्ड पनि निकै आक्रोशित हुन थालेका छन् ।
केही दिनअघि मात्रै वर्तमान रास्वपा सरकारका कारण जनआन्दोलन र जनयुद्धको उपलब्धी गुम्ने खतरा देखेका प्रचण्डले आइतबार पार्टीको बाग्मती प्रदेश स्तरीय प्रशिक्षणमा भने ओली बालेन भन्दा पनि खतरनाक रहेको ब्रिफिङ गरे ।
नेकपा संयोजक प्रचण्डले एमाले अध्यक्ष ओलीकै कारण माधव नेपालले मुद्दा झेलिरहनु परेको स्मरण गराए । आफूलाई फसाउन र सिध्याउनका लागि ओली जति बालेन नलागेको प्रचण्डको भनाई थियो । भदौ २३ र २४ को घटना पनि स्मरण गर्दै प्रचण्डले भूराजनीतिक शक्ति केन्द्रहरुको एकता र संघर्षको कारणले मात्रै आफूहरु बाँच्न सफल भएको तर्क गरे । एकाएक एकताको चर्चामा हावामा उडेपछि कार्यकर्ताहरुले पनि पार्टी नेतृत्वको विश्वास गर्न छाडेका छन् ।
नेताहरु फेरि पनि घुमाइ फिराई एकता वा धु्रवीकरणको बाहनामा ब्यक्तिगत स्वार्थमा रुमलिरहेको स्पष्ट भएको छ । अब आफ्नै कार्यकर्ताले पत्याउन छाडेपछि जिम्मेवारी बोधका कारण उदारताका साथ बामपन्थी आन्दोलनको आवश्यकता महशुस गरेर नै एकताको कुरा गरेको प्रष्टिकरण दिइरहेका छन् ।
नेकपा एमालेभित्र पार्टी पुनर्गठनको कसरत अन्तिम चरणमा पुगिरहँदा नेपाली कम्युनिस्ट पार्टीले चाँही अब कस्तो पासा फ्याँक्ने हो केही समयमै स्पष्ट हुनेछ ।
