काठमाडौँ । गत पुस महिनामा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि नेपाली काँग्रेस औपचारिक रूपमै दुई धारमा विभाजित छ । तर, फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्यासित हारपछि १५औँ नियमित महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन दुवै पक्षका नेताहरू संवादमा जुटेका छन् ।
यद्यपि, दुई समूहबीचको आ–आफ्नै अडानका कारण एकता प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन । पार्टी एकताका लागि दुवै पक्षबाट पटक–पटक संवाद भए पनि सहमति जुट्न नसकेपछि संस्थापन इतर अर्थात शेरबहादुर देउवा पक्षले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालय नै स्थापना गरेर आफ्ना गतिविधि तीव्र बनाएको छ । गत साता मात्र खोलिएको उक्त सम्पर्क कार्यालयमा पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूबीच तीन दिनसम्म चलेको सघन छलफलले सशर्त पार्टी एकता गर्ने निष्कर्ष निकाल्यो ।
विशेष गरी देउवा पक्षले एकताका लागि मुख्य २ सर्त अघि सारेको छ,
१, सदस्यता विवरणको मान्यर्ता : देउवा पक्षले अघि सारेको पहिलो सर्तमा यसअघि गगन थापा संयोजक रहँदा अद्यावधिक गरिएको पार्टी सदस्यताको विवरणलाई हुबहु मान्यता दिनुपर्ने ।
२, केन्द्रीय कमिटीमा समायोजन : १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय कमिटीमा समाहित गरिनुपर्ने ।
तर, काँग्रेस सभापति गगन थापा भने देउवा पक्षका यी मागप्रति सकारात्मक देखिएका छैनन् । हालै जनसम्पर्क समिति जापानको अधिवेशनका क्रममा आयोजित भर्चुअल बैठकमा सभापति थापाले देउवा पक्षको प्रस्ताव विधान विपरीत हुने स्पष्ट जवाफ दिएका थिए । क्रियाशील सदस्यता अद्यावधिक नगरेकाहरूलाई नियमित महाधिवेशनमा सामेल गराउने प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नहुने गगनको अडान छ । मुख्य गरी यिनै दुईसर्तमा सहमति नजुट्दा काँग्रेस एकताको सम्भावना टर्दै गएको देखिन्छ ।
संस्थापन पक्ष गम्भीर नभएको इतर पक्षको आरोप
पछिल्ला संवाद र प्रस्तावहरू अस्वीकृत भएपछि देउवा पक्षले संस्थापन पक्षमाथि एकताका लागि गम्भीर नभएको आरोप लगाउन थालेको छ । बाहिर चर्चा कमाउनका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले संस्थापन पक्ष वार्तामा बस्नै तयार नभएको उनीहरूको आरोप छ । यदि दुवै पक्षले इमानदारीतापूर्वक छलफल गरे पार्टी तत्काल एक हुन सक्ने इतर पक्षका नेताहरुले दावी गरिरहेका छन् ।
उता संस्थापन पक्षले भने पार्टी एकताका लागि आफूहरू गम्भीर रहेको र संवाद जारी राखेको जिकिर गर्दै आएको छ । संस्थापन पक्षले एकतामा जोड दिइरहेको बताए पनि अहिलेसम्म दुई समूह मिल्ने संकेत भने देखिँदैन ।
पार्टी विभाजन गर्नसमेत तयार देउवा पक्ष
चुनदेवीमा बसेको इतर पक्षको बैठकले वार्ता र संवादबाट एकता नभए नयाँ ढंगले अघि बढ्ने विकल्पसमेत खुला रहेको निश्कर्ष निकालेको छ । बैठकमा सकभर संवादबाटै निकास खोज्ने, तर सहमति नजुटे नयाँ राजनीतिक दल खोलेर अघि बढ्न सकिने चेतावनी नेताहरूले दिएका थिए ।
इतर पक्षभित्र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का जसरी पनि एकताकै पक्षमा उभिएका छन् । तर, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू मोहनबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कान्छाराम तामाङ लगायतका प्रभावशाली नेताहरू भने गगन थापासँग झुकेर बस्नुभन्दा नयाँ पार्टी खोलेरै अघि बढ्नु उपयुक्त हुने पक्षमा दृढ देखिएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपाली काँग्रेसभित्रको नेतृत्व विवाद थप उत्कर्षमा पुगेको थियो ।
आन्तरिक विवाद र महाधिवेशनको किचलोका कारण पार्टी संकटमा प¥यो, जसको सीधा असर फागुन २१ को निर्वाचनमा पनि देखियो । गत पुसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा पार्टीको केन्द्रीय सभापति त निर्वाचित भए, तर पार्टी भने अझै स्पष्ट रुपमा दुई कित्तामा विभाजित छ । चुनावको धक्कापछि दुवै पक्ष एकताको उच्चतम प्रयासमा रहेपनि एकता हुनसक्ने आधार बलियो देखिँदैन ।
