काठमाडौं । फिफा वरीयताको शीर्ष चार भित्र पर्ने र विश्वकप फुटबलको उपाधि जितिसकेका चार राष्ट्रहरु जारी विश्वकपको सेमिफाइनलमा पुगेका छन् । त्यसैले सेमिफाइनल समिकरण ऐतिहासिक मात्रै बनेको छैन, स्टार खेलाडी, पूर्वविजेताको विगत र उत्कृष्ट लयका कारण यो क्लासिक भिडन्तमा परिणत भएको छ । अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड उपाधिका लागि अब दुई कदम मात्रै पछाडि छन् ।
फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलपछि साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्ड अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलमा पुग्ने टिमहरुको रोचक संयोग के छ भने यसपटक सेमिफाइनल पुग्ने चारवटै टोली विश्वकपको उपाधि जितिसकेका राष्ट्र हुन् ।
अर्जेन्टिना तीन पटक, फ्रान्स दुई पटक तथा स्पेन र इंग्ल्यान्ड समान एक–एक पटक विश्वविजेता बनिसकेका छन् । त्यसैले पनि उपाधि भिडन्तअघि नै जारी विश्वकपको दुई सेमिफाइलन खेल खेलप्रेमीका लागि सर्वाधिक चासोमा छन् ।
पहिलो सेमिफाइनल : हेड टु हेड र प्लेयर्स टु वाच
असार ३१ गते पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । फ्रान्स र स्पेनबीचको प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा निकै रोमाञ्चक बन्दै आएको छ । दुवै टोली बल नियन्त्रणमा अब्बल छन् । फ्रान्सको तीव्र काउन्टर अट्याक र स्पेनको छोटो पासमा आधारित खेल शैलीबीचको टक्कर पहिलो सेमिफाइनलमा विशेष हुनेछ ।
फ्रान्सका कप्तान केलियन एमबाप्पे उत्कृष्ट लयमा छन् भने स्पेनका युवा स्टार लामिन यामालसँगै निर्णायक मिडफिल्डर मिकेल मेरिनो प्लेयर्स टु वाच रहनेछन् । हेड–टु–हेडमा फ्रान्सको सामान्य अग्रता रहे पनि पछिल्ला भेटहरू अत्यन्त प्रतिस्पर्धात्मक भएका छन् । हालेको खेलको लय हेर्दा फ्रान्सको फाइनल पुग्ने सम्भावना करिब ५५ प्रतिशत र स्पेनको ४५ प्रतिशत देखिन्छ ।
दोस्रो सेमिफाइनल : हेड टु हेड र प्लेयर्स टु वाच
असार ३२ गते दोस्रो सेमिफाइलन खेलमा इंग्ल्यान्डले अर्जेन्टिनाको चुनौती सामना गर्नेछ । अर्जेन्टिना र इंग्ल्याण्ड विश्व फुटबल इतिहासकै सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । यी दुई टोली भिड्दा खेलप्रेमी खेलमा मात्रै सिमित रहँदैनन् । यी दुई देशबीचको युद्धका गाथा समेत साइडलाइनका विषय बन्छन् । त्यसैले पनि सेमिफाइनलको यो भिडन्त फुटबलप्रेमीका लागि फाइनल सरह नै हुनेछ । विश्वकपको इतिहासमा इंग्ल्यान्डले अर्जेन्टिनामाथि तीन जित निकालेको छ भने अर्जेन्टिनाको नाममा एक जित छ ।
१९८६ को ह्यान्ड अफ गड र गोल अफ द सेन्चुरी देखि यी दुई राष्ट्रबीचको प्रतिस्पर्धाले सधैं विशेष चर्चा पाउने गरेको छ । अर्जेन्टिनाका लियोनेल मेस्सी जारी विश्वकपकै सर्वाधिक चासोका खेलाडी बनेका छन् । अर्कोतर्फ इंग्ल्यान्डका जुड बेलिङ्घम उत्कृष्ट लयमा छन् भने कप्तान ह्यारी केन विपक्षी टोलीका लागि झन खतरा हुन् । यो विश्वकपमा अर्जेन्टिनाको अनुभव र आक्रमणलाई हेर्दा फाइनल पुग्ने सम्भावना करिब ५२ प्रतिशत देखिन्छ भने इंग्ल्यान्डको सम्भावना ४८ प्रतिशत आँकलन गर्न सकिन्छ ।
चार टोलीको प्रदर्शन
प्रदर्शनका हिसाबले फ्रान्सले नकआउट चरणमा स्विडेन, पाराग्वे र मोरक्कोलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो भने स्पेनले सेमिफाइनल यात्राका लागि अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पन्छाएको थियो ।
सेमिफाइनलसम्मको यात्रामा इंग्ल्यान्डले डीआर कङ्गो, मेक्सिको र नर्वेलाई हराएको छ भने अर्जेन्टिनाले केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । चारै टोलीले आक्रामकता, अनुभव र र खेश कौशलको उत्कृष्टा संयोजन देखाउँदै आएका छन् । त्यसैले पनि विश्व वरीयताको पनि चार शीर्ष भित्रै पर्ने चार पूर्वविश्व विजेतामध्ये को फाइलनमा पुग्छ र उपाधि कसको हातमा पुग्छ भन्ने चासो र अड्कलसँगै उपाधिको वास्तविक परीक्षा शुरु हुँदैछ ।
