News 24 Television
सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही गर्ने सरकारको प्रतिवद्धता

काठमाडौँ । सरकारले कानून विपरित र जथाभावी रूपमा सवारी साधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ । 

मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारमाध्यम र नेताका घर अगाडि गाडी पार्किङ गर्ने काम नियोजित कार्य नभएको स्पष्ट पारे । नेताका घर अगाडि, सञ्चारमाध्यम भवन अघि नियमविपरित सवारी साधनहरू राखिएको र जरिवानासमेत नतिरी छाडिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको प्रष्ट पारे ।

सोमवार कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि लगेर गाडी पार्किङ गरिएको थियो । प्रहरीले पछि उक्त स्थानबाट क्रेन लगाएर गाडी हटाएको हो । 

उहाँले भने, ‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीको भए पनि उहाँहरूले गर्नुभएको गल्तीका आधारमा प्रचलित कानूनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ ।’

मन्त्री पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पुर्याउने गरी सवारी साधन राख्ने कार्यमा संलग्नहरूको प्रहरीले सुक्ष्म खोजी गरिरहेको जानकारी दिए । उनले यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि कानूनबमोजिम सजाय हुने स्पष्ट पारे । सरकारले विधिको शासन कायम गर्न र अराजकता रोक्न कुनै सम्झौता नगर्ने समेत उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update