News 24 Television
तातोपानी भन्सार यार्ड पहिरोको उच्च जोखिममा, निर्माण कम्पनीको ढिलासुस्तीले बढायो चिन्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयअन्तर्गत रहेको सुख्खा बन्दरगाह (ड्राइ पोर्ट) को भन्सार यार्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण पहिरो र भोटेकोसी नदीको कटानको उच्च जोखिममा परेको छ । वर्षायाम सुरु भएसँगै यार्डको डिल निरन्तर भासिँदै जान थालेपछि भन्सार कार्यालय, व्यवसायी तथा स्थानीय सरोकारवालाहरूले तत्काल निर्माण कार्य तीव्र बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

२०८१ असोज ११ र १२ गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नदी किनारमा निर्माण गरिएको रिटेनिङ वाल लच्किएको थियो । त्यसयता उक्त संरचनाले नदीको बहाव रोक्न नसक्ने निष्कर्ष निकाल्दै स्थानीय व्यवसायी, उद्योग–वाणिज्य संघ, तातोपानी भन्सार कार्यालय तथा अन्य सरोकारवालाहरूले पुरानो संरचना हटाई दीर्घकालीन समाधानका रूपमा माइक्रो पाइल सहित रिटेनिङ वाल निर्माण गर्न सुझाव दिएका थिए ।

सुझावपछि नेपाल इन्टरमोडल यातायात विकास समितिले प्राविधिक अध्ययन सम्पन्न गरी पाइलिङ निर्माण गर्ने निर्णय गरेको थियो ।  समितिले २०८१ सालको अन्त्यतिर ठेक्का आह्वान गरेपछि ७३ करोड ६९ लाख रुपैयाँ लागतको निर्माण जिम्मा ॐ साइराम कन्ट्रक्सनले पाएको थियो । २०८२ वैशाख १५ गते सम्पन्न सम्झौताअनुसार १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब २२ प्रतिशत र आर्थिक प्रगति १६ प्रतिशत मात्रै पुगेको समितिले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रमेश शाहले निर्माण कम्पनीको ढिलासुस्तीका कारण भन्सार यार्ड झन् जोखिममा परेको बताए । उनका अनुसार सम्झौतापछि समयमै काम सुरु नगर्दा अहिले वर्षायाममा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।

‘भन्सार यार्डको डिल दिनप्रतिदिन भासिँदै गएको छ । ठूलो वर्षा भए यार्डको भौतिक संरचनामै क्षति पुग्ने खतरा बढेको छ,’ शाहले भने, ‘हामीले हिउँदयाममै निर्माण कार्यलाई तीव्र बनाउन पटक–पटक आग्रह गरेका थियौँ। तर ठेकेदार कम्पनीले चासो नदिँदा अहिले वर्षायाममा ठूलो जोखिम सिर्जना भएको छ ।’

उनका अनुसार निर्माण कम्पनीले पाइलिङ निर्माणका लागि यार्डको केही भाग खनेर छाडेको भए पनि आवश्यक संरचना निर्माण नगर्दा पहिरो र नदी कटानको जोखिम अझ बढेको छ ।

सुख्खा बन्दरगाह सञ्चालन गरिरहेको ट्रान्स सिल्क टर्मिनलका प्रबन्धक अनिरुद्र थापाले पनि निर्माण कम्पनीको लापरबाहीले जोखिम बढाएको आरोप लगाए । उनले सम्झौताअनुसार काम अघि नबढ्दा सञ्चालनमा समेत समस्या आउन थालेको बताए ।

‘१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कामको गति अत्यन्तै सुस्त छ । निर्माण गर्ने भन्दै यार्डको भाग खनेर छाडिएको छ। आवश्यक संरचना नबन्दा अहिले जोखिम झन् बढेको छ,’ थापाले भने ।

यसअघि भोटेकोसी नदीको कटान नियन्त्रण गर्न चिनियाँ निर्माण कम्पनीले रिटेनिङ वाल निर्माण गरेको थियो । तर गत वर्षको बाढीपछि उक्त संरचना लच्किएर प्रभावहीन बनेपछि दीर्घकालीन सुरक्षाका लागि पाइलिङ निर्माणको विकल्प रोजिएको हो ।

सरोकारवालाहरूका अनुसार तातोपानी नाका नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार भएकाले भन्सार यार्डमा क्षति पुगे आयात–निर्यात प्रणाली नै प्रभावित हुन सक्छ । त्यसैले वर्षायाम थप सक्रिय हुनुअघि नै निर्माण कार्यलाई युद्धस्तरमा अघि बढाई पाइलिङ निर्माण सम्पन्न गर्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update