News 24 Television
काठमाडौँमा रुस–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ । रुस र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँस्थित रुसी भवन (रसियन हाउस) मा सोमबार एक विशेष समारोहको आयोजना गरियो। कार्यक्रममा वरिष्ठ राजनीतिक नेतृत्व, कूटनीतिज्ञ, शिक्षाविद्, सांस्कृतिक व्यक्तित्व तथा रुस–नेपाल मैत्री संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

समारोहको शुभारम्भ परम्परागत पानस बालेर “रुस–नेपाल: मित्रता र सहकार्यका ७० वर्ष” शीर्षकको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गरी गरिएको थियो।

दुवै देशको राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल तथा रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभका बधाई सन्देश प्रस्तुत गरिएको थियो। विदेशमन्त्री लाभ्रोभले कूटनीतिक टेलिग्राममार्फत आफ्नो शुभकामना सन्देश पठाउनुभएको थियो।

b0eedf82-ba90-4906-b884-a3c5d3aad698-1784559962.jpg
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभत्सेभले सेप्टेम्बर २०२५ मा तियानजिनमा भएको एससिओ (SCO) शिखर सम्मेलनका क्रममा दुवै देशका नेताहरूबिच भएको भेटघाटको स्मरण गर्दै दुई देशबिचको दीर्घकालीन साझेदारीबारे चर्चा गर्नुभयो। सोभियत युगमा रुसले नेपाललाई पुर्‍याएको सहयोगले दुई देशबिच आत्मीयता र सद्भावको बलियो आधार तयार गरेको र यसैले आधुनिक तथा दूरदर्शी साझेदारीको जग बसालेको उहाँले बताउनुभयो।

रसियन हाउसकी निर्देशक एनास्तासिया खोखलोभाले सोभियत तथा रुसी विश्वविद्यालयहरूबाट स्नातक गरेका हजारौँ नेपाली नागरिकहरूले दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। बहुध्रुवीय विश्वप्रतिको साझा प्रतिबद्धताले शैक्षिक सहकार्य, व्यापारिक सम्बन्ध र सांस्कृतिक आदानप्रदान विस्तार गर्न नयाँ अवसरहरू सिर्जना गर्ने उहाँको भनाइ थियो।

सो अवसरमा नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका महासचिव स्वराज शाक्यलाई द्विपक्षीय सम्बन्ध अभिवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै रसियन हाउसका तर्फबाट प्रशंसापत्र तथा 'टोकन अफ लभ' प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल–रुस संसदीय मैत्री समूह, मित्रकुञ्ज, RUDN सोसाइटीका मित्रहरू, नेपाल–रुस साहित्य समाज, नेपाल–रुस उद्योग वाणिज्य संघ तथा शैली थिएटरका प्रतिनिधिहरूले पनि दुई देशबिचको सात दशक लामो साझेदारीबारे आफ्ना विचार व्यक्त गर्दै भावी सहकार्यका लागि प्रतिबद्धता जनाएका थिए।

समारोहको अन्त्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो, जसमा परम्परागत नेपाली नृत्य, याना येलिसेयेभाद्वारा प्रस्तुत प्रसिद्ध क्लासिकल ब्याले नृत्य “द डाइङ स्वान”, जुजुकाजी रञ्जितको सांगीतिक प्रस्तुति र भेरा युर्चेन्कोद्वारा प्रस्तुत चर्चित रुसी गीत “नादेज्दा” (आशा) समावेश थिए। कार्यक्रमपश्चात् औपचारिक रात्रीभोजको आयोजना गरिएको थियो।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update