काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा रास्वपाले पदाधिकारी मनोनयनदेखि समसामयीक विषयमा छलफल गर्ने भनेको छ। यसमा अब रास्वपाको आन्तरिक राजनीतिसंगै प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको विषयमा पनि छलफल होला ?
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनपछि बस्न लागेको केन्द्रीय समिति बैठकलाई चासोपूर्वक हेरिएको छ। रास्वपाको महाधिवेशनको एक महिना वितिसक्दा समेत मनोनयन हुन नसक्दा प्रश्न र शंकाहरु व्याप्त छन्। अझं, रास्वपामा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच आपसी विवाद रहेको चर्चा पनि छ। यसको पूर्वसंकेत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत सचिवालयको संख्यालाई लिएर गरिसकेका छन्।
यसरी रास्वपाभित्रको उकुसमुकुसमा सभापति रवि लामिछानेले कसरी समाधान निकाल्छन भन्ने चासोकाबीच बस्न लागेको केन्द्रीय समिति बैठकमा मनोनयन समेत सिमित हुने देखिन्छ। जसमा पार्टी प्रवक्तादेखि केहि पदाधिकारीबाहेकमा मनोनयन हुने संकेत देखिएको छैन्। उसोतः उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष जस्ता पदमा कसरी मनोनयन हुन्छ भन्ने चासोकाबीच नेताहरुको दौडधुप पनि बाक्लिएको देखिन्छ।
जसअनुसार उपसभापतिमा सुनिल लम्सालसहित सुधन गुरुङ र भुपदेव शाहको चर्चा चलाइएको छ। यता, महामन्त्री पनि वालेन्द्र शाह पक्षले नै प्राप्त गर्ने भएकाले कसलाई लैजान्छन भन्ने चासो देखिन्छ। तर, यी पदमा रविले एकैपटक मनोनयन गर्ने सम्भावना भने नदेखिएको बताइन्छ।
केन्द्रीय समितिमा जालान् बालेन्द्र शाह ?
प्रधानमन्त्री वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेता हुन्। यसरी हेर्दा वरिष्ठ नेता पनि सभापतिले मनोनयन गर्ने भनिएकोमा रविले वालेन्द्रलाई मनोनयन गरे नगरेको विषय अहिलेसम्म सार्वजनिक गरिएको छैन्। तर, रास्वपाको वेबसाइटमा भने वालेन्द्र शाहलाई वरिष्ठ नेता भन्दै स्वीकार गरिएको छ। यसरी हेर्दा वालेन्द्र शाह पनि बुधबारको केन्द्रीय समिति बैठकमा उपस्थित हुने अपेक्षा स्वभाविक देखिन्छ। तर, वालेन्द्रको उपस्थितिबारे अहिलेसम्म धेरै विषय भने खुल्न सकेको छैन्।
बालेन्द्र उपस्थिति र अर्थ
प्रधानमन्त्री वालेन्द्र शाह बैठकमा उपस्थित भएमा उनको भारत भ्रमणबारे समेत प्रश्न उठ्न सक्छ। भारतीय पक्षले वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएको दाबी गरेको छ ।
भारतीय पक्षले यस्तो दाबी गरेपनि वालेन्द्र शाहले यसबारे औपचारिक जानकारी दिएका छैनन्। यता, परराष्ट्र मन्त्रालयले पनि कुनै जानकारी दिएको देखिन्न। तर, वालेन्द्रले भारत भ्रमणको निम्तो पाएको विषय सार्वजनिक हुनुभन्दा पहिले कुमार वेनले भारत भ्रमण गोप्य ढंगले गरेको भन्ने चर्चाले पनि बैठकमा प्रवेश पाउन सक्छ। यस्तोमा रास्वपा केन्द्रीय समिति बैठक अर्थपूर्ण हुने ठानिएको छ ।
