काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउन दुई कार्यकालसम्म त्याग गर्न तयार रहेको घोषणा गरेका छन् । पार्टी बैठकमा उठाइएका आन्तरिक शंकाहरूलाई चिर्दै उनले दिएको यो अभिव्यक्तिले रवि र बालेनबीच खटपट रहेको भनिएको राजनीतिक बहसमा नयाँ मोड ल्याइदिएको छ ।
रवि र बालेन सम्बन्ध धरापमा
सरकार ढाल्ने खेलमा रवि
बालेन रोक्ने रणनीति रास्वपाभित्र
पछिल्ला केही सातायता यिनै प्रश्नले नेपाली राजनीतिक बजार तातिरहेको छ । सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलहरुका राजनीतिक गल्लीसम्म एउटै चर्चा हुँन्छ ः रवि र बालेन अब एउटै बाटोमा छैनन् । तर, बुधबार रास्वपाको केन्द्रीय समिति बैठकमा रवि लामिछानेले दिएको एउटा अभिव्यक्तिले यी सबै चर्चामाथि सीधा प्रहार गर्ने प्रयास गरेको छ ।
बैठकमा केही नेताहरूले विधान संशोधनमाथि प्रश्न उठाए । गणेश कार्की, तोशिमा कार्की, पुकार बम र रञ्जु दर्शनालगायत नेताहरूले संशोधित व्यवस्थाले भविष्यमा संसदीय दलको नेतृत्व परिवर्तन गर्ने बाटो खोलेको हो कि भन्ने आशंका व्यक्त गरे । कतिपयले त विधानमा छेडखानी भएको भन्दै छानबिन समिति नै बनाउन माग गरे । तर यो कुरामा सभापति रवि लामिछाने केही आक्रामक देखिए । बालेन शाहलाई प्रधानमन्त्री बनाउन यो पाँच वर्ष मात्रै होइन, अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु भन्दै रविले बालेन पक्षलाई आश्वस्त पार्न खोजेका छन् ।
उनले आफ्नो बोलीका विश्वास नभए कागज ल्याउनुस्, म हस्ताक्षर गरिदिन्छु सम्म भनेका छन् । रविको अभिव्यक्तिले रास्वपाभित्र खटपट छ भन्दै आएकाहरुलाई भने धक्का लागेको छ । पछिल्ला केही दिनयता रवि बालेनविरुद्ध लागे । सरकार ढाल्ने खेल शुरु भयो । बालेनलाई कमजोर बनाउने रणनीति बन्यो जस्ता हल्लाहरु निकै चर्चामा थिए । जुन पार्टी आएपनि नेपालमा पद र सत्ताका लागि लुछाचुडी गर्छन् भन्ने भाष्य बनाउने प्रयास गरिरहेकाहरुलाई रविको यो स्पष्टोक्तिले ब्रेक लगाउने काम गरेको छ । त्यसो त रवि यतिमै रोकिएनन् ।
उनले विधानको बारेमा पनि स्पष्टिकरण दिएका छन् । उनले भनेका छन् ‘विधान कुनै व्यक्तिलाई हेरेर बनाइदैन, पाँच वर्ष होइन, ५० वर्षको पार्टी सोचेर बनाइन्छ ।’ रविको दाबी छ : पार्टीको नियम कुनै एक नेताको भविष्य हेरेर होइन, पार्टीको भविष्य हेरेर लेखिएको हो । तर रविको यो प्रष्टोक्तिसँगै प्रश्न भने बाँकी नै छ । यदि रवि र बालेनबीच कुनै समस्या छैन भने उनले यस्तो स्पष्टिकरण दिनु पर्ने अवस्था किन आयो ? बैठकमै बालेनको नाम किन यति धेरै पटक उठ्यो ? किन केही नेताहरुले संशोधित विधानलाई बालेनलाई ठीक पार्ने अस्त्रको रुपमा बुझे ? रास्वपाभित्रको अर्को बहस यहीबाँट पुनः शुरु भएको छ । राजनीतिमा कहिलेकाँही सफाईभन्दा सफाई दिनु पर्ने अवस्था धेरै महत्वपूर्ण मानिन्छ ।
फेरि अर्को प्रश्न उठ्छ : रविको यो स्पष्टिकरणले वास्तवमै बालेन र रास्वपाबीचको दूरी घटाउने संकेत दिएको हो वा बढ्दो राजनीतिक चर्चा र चासोलाई मत्थर पार्ने प्रयास मात्रै हो ? यसको उत्तर आगामी दिनको राजनीतिले दिनेछ । तर अहिलेलाई के हो भने ‘कागज ल्याउनुस् म हस्ताक्षर गरिदिन्छु भन्ने रविको अभिव्यक्तिले रास्वपाभित्र खटपट छ भन्ने अहिलेको राजनीतिक बहसलाई भने नयाँ दिशातर्फ मोडिदिएको छ ।’
सार्वजनिक अभिव्यक्तिमा बालेनकै पक्षमा रवि !
बाहिर जति नै खटपट वा तिक्तताको बहस चलेपनि रास्वपा सभापति लामिछाने प्रधानमन्त्री बालेनको रक्षाकवच नै बनिरहेका छन् । पछिल्लो सुनसरी काण्डमा समेत उनले बालेनलाई राम्रै साथ दिए । सरकारले बोलाउनु पर्ने सर्वदलीय बैठक पनि उनले नै डाक्दै तनाव समाधानमा विपक्षी दलहरुको समेत साथ खोजे ।
बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविले सुनसरी घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै कुनैपनि अफवाह वा कन्स्पिरेसीको पछि नलाग्न आग्रह गरे । प्रधानमन्त्री र गृहमन्त्रीले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताउँदै रविले बचाउ गरे । उनले राजनीतिक दलहरूले एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाउनुपर्ने बताए ।
ठूलो र सत्तारुढ दलको हैसियतमा रविले पछिल्लो समय संयोजनकारी भूमिकामा आफुलाई निखार्दै लगेका छन् । नेपाली राजनीतिको अहिले पावर सेन्टर बनेका रवि कत्तिको आफ्ना सार्वजनिक अभिव्यक्तिहरु जस्तै साच्चीकै जिम्मेवार बन्दै त्याग पनि देखाउँछन् कि पुराना दलहरु जस्तै सत्तामोह देखाउँदै आफ्नै पार्टीको सरकारलाई अप्ठ्यारो पार्ने खेलमा पनि लाग्छन् ? उत्तर आगामी राजनीतिक घटनाक्रमहरु खुल्दै जानेछन् ।
