मधेश । मधेश प्रदेशका धनुषासहित विभिन्न जिल्लामा जारी तनावबीच प्रशासनले कफ्र्यु र निषेधाज्ञालाई निरन्तरता दिएको छ । सर्वपक्षीय रूपमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरिँदै सुरक्षा व्यवस्था कडा बनाइएको छ भने केही स्थानमा प्रदर्शन र तनावसमेत जारी रहेको छ ।
मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी र पर्सामा विकसित सुरक्षा अवस्थापछि प्रशासनले कफ्र्यु तथा निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रशासन, राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवाले संयम अपनाउन, अफवाहबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेका छन् । जनकपुरधाममा बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले शान्ति, सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्ष सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको छ ।
सामाजिक सञ्जालमा फैलाइने भ्रामक तथा उत्तेजनात्मक सामग्री नियन्त्रण गर्न आग्रह गर्दै सद्भाव यात्रा सञ्चालन गर्ने निर्णय गरिएको छ । धनुषामा कफ्र्यु दोस्रो दिन पनि जारी रहँदा सुरक्षा व्यवस्था कडा पारिएको छ । केही समयका लागि कफ्र्यु खुकुलो बनाइए पनि पुनः कडाइ गरिएको प्रशासनले जनाएको छ ।
सांसद सिताराम साहसहित विभिन्न समुदायका प्रतिनिधिले सद्भाव ¥याली निकाल्दै सामाजिक एकता र शान्तिपूर्ण सहअस्तित्वको सन्देश दिएका छन् । प्रशासनले कानुनको पालना गर्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ भने सर्वसाधारणले पनि शान्ति, भाइचारा र आपसी सद्भावको आवश्यकता औंल्याएका छन् ।
यता महोत्तरीमा प्रदर्शन जारी रहँदा सिरहाको गोलबजारमा मृतक बालकको घरअगाडि स्थानीय र सुरक्षा निकायबीच तनाव भएको छ । गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न जाँदा सुरक्षा टोलीलाई स्थानीयले घेराउ गरेका थिए । पर्साको वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरिएको छ भने सप्तरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ ।
यसैबीच प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पु¥याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्साबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
