News 24 Television
फेरि कांग्रेस फुटाउन स्वदेश फर्किदैछन् देउवा !

काठमाडौं । गत वर्ष भदौ २३ र २४ को आन्दोलनपछि दिशाविहिन बनेको कांग्रेसलाई महाधिवेशनबाट नयाँ बाटो तय गर्ने अपेक्षा थियो । तर पुरानो नेतृत्वको जडता र युवाहरुको नेतृत्व परिवर्तको हुटहुटीले नियमित महाधिवेशन तय हुन सकेन । अन्ततः गगन थापा समूहले गरेको महाधिवेशनले तिक्तता झनै बढायो ।

निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले समेत विशेष महाधिवेशनलाई मान्यता दिएपछि चाउरिएको शेरबहादुर देउवा समूहले अन्ततः विभाजनको बाटो तय गर्दैछन् । 

गत पुसमा सम्पन्न भएको गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूहले अस्वीकार गर्दै आएको थियो । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले समेत विशेष महाधिवेशनलाई मान्यता दिएपछि इतर समूह कानूनी रुपमा पनि पराजय भयो । तर पनि इतर समूहले थापाको नेतृत्वलाई स्वीकार गर्नै सकेन । यद्यपी मरिचझैं चाउरिएको यो समूह मनले नमाने पनि थापाले दिएको टिकट लिएर चुनावी मैदानमा होमिए । 

त्याहाँ पनि परिणाम सून्य जस्तै भयो । निर्वाचनको पराजयलाई पनि इतर समूहले विशेष महाधिवेशनको कारक भनिरहेका छन् । चुनावमा होमिने बेला पार्टी कब्जा गर्ने बाहनामा विशेष महाधिवेशन गर्दा निर्वाचनमा हार ब्यहोरेको निश्कर्ष इतर समूहले निकाल्यो । 

चुनावी परिणामपछि थापा समूहबाट अलग हुने बाटो खोज्दै उनीहरु समानान्तर गतिविधिमा सक्रिय हुन थाले । अन्ततः साउन २९ गतेदेखि ३१ गतेसम्म राष्ट्रिय भेलाको आयोजना गरि पार्टीलाई औपचारिक विभाजनको बाटोतर्फ अघि बढाएका छन् । भेला सम्पन्न गर्नका लागि वीपीपुत्र एवम् कांग्रेस पूर्व महामन्त्री डा. सशांक कोइराला नेतृत्वमा ५ सय ५१ सदस्य भेला आयोजना समिति गठन गरेका छन् भने १६ वटा भेला तयारी समिति बनाइएको छ । भेलाका लागि राजनीतिक, समसामयिक राजनीतिक, सांगठनिक, विधान मस्यौदालगायतको समिति गठन गरिएको छ । 

भदौ २४ गतेको हिंसात्मक घटनामा पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोड जस्ता घटना भई संकटको बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको निश्कर्ष इतर समूहको छ । 

पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढेको आयोजक समितिका संयोजक डा. कोइरालाको भनाई छ । पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिनकै लागि राष्ट्रिय भेला गर्न लागिएको इतर समूहले स्पष्ट गरेको छ । 

राष्ट्रिय भेलाअघि इतर समूहले आफ्नो समूहका निर्वाचित सांसदहरुदेखि जिल्ला, प्रदेश तहका भेलाहरु सम्पन्न गरिकसको छ । मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्नका लागि राष्ट्रिय भेला गर्न लागिएको दाबी गरेको इतर समूहका नेता एवम् पूर्व सभापति देउवा पनि यहि भेलालाई लक्षित गर्दै नेपाल फर्किने तयारीमा छन् । 

भेलामा वर्तमान तथा पूर्व पदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको इतर पक्षका नेताहरुले बताएका छन् । पार्टी एकताको रटान लगाउँदै आएको इतर समूहले अन्ततः राष्ट्रिय भेला गरि औपचारिक रुपमा नै विभाजनको बाटो तय गरेका छन् । अब यो विभाजन रोक्नका लागि गगन थापाले के कति त्याग गर्छन्, त्यसमै निर्भर हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update