काठमाडौं । नेपाली कांग्रेस विभाजनको ढोका खोल्ने तरखरमा छ। संस्थापन पक्षले वास्ता नगरेजस्तो देखिदा इतर पक्षले राष्ट्रिय भेलाका निम्ति पाइला अघि बढाएको छ । तर, कांग्रेसभित्र यस्तो समूह पनि छ, जसले कांग्रेसको आन्तरिक एकताका निम्ति पहल गर्ने भनेको छ। यस्तोमा लाग्दैछ, तत्कालीन समयमा नेकपा जोड्ने अभियानका वामदेव गौतम जस्तै पात्रको जन्म कांग्रेसमा पनि होला ?
नेपालमा राजनीतिक दल फुट्ने, बन्ने प्रक्रिया यति छिटो हुन्छ, कि विश्वास नै नभएकाहरु मिल्छन। विश्वास नै गर्न नसकिनेहरु फुट्छन्। पछिल्लो समय नेपालको राजनीति यहि चक्रका कारण विकृत पनि बनिरहेको छ। यस्तो किन हुन्छ? किन राजनीतिक दलहरु एकताको सुत्रमा बाँधिन सक्दैनन? लेखाजोखा कम, महत्वकांक्षा धेरै देखिने गर्छ।
विशेष महाधिवेशनपछि कांग्रेसको आन्तरिक विवाद छताछुल्ल छ। शेरबहादुर देउवा पक्षका नेताहरुले एकताका निम्ति भन्दै सर्त अघि सार्छन्। कांग्रेसको आधिकारिकता पाएका गगन थापा आफ्नै सुरमा गति समात्न खोज्छन्। यहि परिक्रम चलिरहेको बेला कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।
कांग्रेसको इतर पक्षले राष्ट्रिय भेलाका निम्ति भन्दै डा. शशांक कोइरालालाई नेतृत्व तोकेको छ। संस्थापन इतर समूहले पूर्वमहामन्त्री कोईरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गर्दै आफ्ना गतिविधि अघि बढाएको हो ।
इतरपक्षले संस्थापनसंग यो कदम बार्गेनिङका निम्ति गरेको हो ? प्रश्न गर्न त सकिन्छ तर, राजनीतिक दलभित्र हुने आन्तरिक संघर्षको चरम बिन्दुपछि मिलनभन्दा विभाजन नै प्रमुख हुने अवस्थामा यसरी नै घटनाक्रम विकास हुन्छन्।
यसअघि यहि समूहले गगन थापालाई आफ्ना माग भन्दै गगनकै बहुमत स्वीकार गर्ने भनेको बेला किन कांग्रेसको आन्तरिक एकता जोगाउने प्रयास चलेन? प्रश्न र चासोहरु यता सोझिएका छन्। इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भनेको छ। जसमा उनीहरुको आरोप छ, कांग्रेसको खटनपटन सहि दिशामा छैन् ।
नेताहरुले जिकिर गरिरहेका दाबी र चलिरहेका गतिविधिले राम्रो संकेत भने गरिरहेका छैनन्। जसले नेपालको पुरानो राजनीतिक शक्ति विभाजनमा जाने स्थिति बन्दा यसले राष्ट्रलाई थप क्षति हुने खतरा समेत बढ्दो छ।
विभाजनको चक्र र एकताको मध्यस्थता
नेपाली कांग्रेस विभाजनको संघारमा पुग्दा अर्को पक्ष उभिएको छ, जसले भन्दैछ– एकताको मध्यस्थता आवश्यक छ। हामी गर्छाैं। कांग्रेसमा देखिएको दरारलाई एकतामा ल्याउने प्रयास गर्ने भएका छन, कांग्रेस नेता– नैनसिंह महर लगायतले । देश र कांग्रेस जोड्ने अभियान घोषणा गर्दै उनीहरुले एकताको प्रयास गर्ने भनेका छन्।
कांग्रेसको विभाजनले देशलाई क्षति हुने भन्दै उनीहरुले विभाजन रोक्ने प्रयास गर्ने जिकिर गरिरहेका छन्। तर, यो समूहले कांग्रेसको रक्षा गर्न सक्ला? प्रश्न र चासोहरु भने जिवितै छन्।
नेकपाको स्मरण
तत्कालीन समयमा नेकपा विभाजनको संघारमा थियो। नेकपाभित्रको विवादकाबीच नेकपाको सचिवालयमा शक्तिशाली बनेका थिए, वामदेव गौतम। वामदेवले जता पलट मार्थे, उतै बहुमत हुने स्थिति थियो। तर, वामदेवले बीचको बाटो समाते। वामदेवकै कारण नेकपाको विभाजन भने रोकिएन्।
अन्ततः नेकपा विभाजन भयो। तर, वामदेवले थाले नेकपा एकता अभियान। विभाजनपछि चलेको तिक्ततामा केपी ओली, प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु उछितो काढ्ने स्थितिमा पुगिसकेका थिए। तर, वामदेव भन्दैथिए, एकता गराएरै छाड्छु। मैले चाहँदा एकता नहुने भन्ने कुरै हुन्न। तर, नेकपा एकता हुन सकेन्। वामदेवसंग रहेका नेताहरुले एमाले रोज्न थाले। केहिले माधव नेपालको पार्टी रोजे त केहिले प्रचण्ड। अन्ततः वामदेव एक्लिन पुगे। न एकता गराउन सके, न आफ्नो पार्टी चलाउन नै। त्यसपछि विरक्तिएका वामदेव अन्ततः नेकपा प्रवेश गरे।
अहिले उनी के गर्दैछन? पत्तो छैन्। यस्तै स्थिति कांग्रेस एकता अभियानका नेताहरुको हुने त होइन? शंका शुरु बिन्दुबाटै हुन थालेको छ।
गगनले बोलाए बैठक
विवाद उत्कर्षमा पुगेकै बेला कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ। कांग्रेसले साउन २४ गतेका लागि बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन्। किन एक हप्तापछि बैठक बोलाइयो? विवाद उत्कर्षमा पुगेको बेला तत्काल डाक्नुपर्ने बैठकले के निर्णय गर्ला? यस्ता चासो र सभापति गगन थापाको सक्रियतामाथिका प्रश्न, शंका र चासोहरु बढेका छन्।
