काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या भएको ८ वर्ष पूरा भइसकेको छ । यो बीचमा आधा दर्जन बढी गृहमन्त्री फेरिएका मात्र छैनन्, ७९ सालको संसद नै विघटन भई निर्वाचनमार्फत नयाँ सरकार बनेको चार महिना बढी भइसकेको छ ।
अहिलेसम्म पनि निर्मलाको हत्याको अनुसन्धानले पूर्णता पाउन सकेको छैन । बिहिवार यसै विषयमा राष्ट्रिय सभामा सवालजवाफ हुँदा कड्किएका गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् । सांसदले सोधेको जवाफ दिने क्रममा आफुबाट ठाडो भाषा प्रयोग भएको भन्दै उनले माफि मागेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त २०७५ साउन ११ गते घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । साथीकोमा पढ्न जान भनेर घरबाट निश्किएकी निर्मलाको ऊखुबारीमा शव फेला परेको हो । निर्मलाको बलात्कारपछि हत्या भएको भन्दै न्यायको माग गर्दै देशब्यापी आन्दोलन भयो ।
निर्मलाको हत्यापछि गृहमन्त्री भएका सुधन गरुङ सातौं गृहमन्त्री भएका छन् । यो घटनापछि गृहमन्त्रीदेखि प्रहरी प्रमुख समेत फेरिएका छन् ।
घटना हुँदा सर्वेन्द्र खनाल आईजीपी थिए । खनालपछि ठाकुर ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह, बसन्त कुँवर, दीपक थापा, चन्द्रकुबेर खापुङ आईजीपी भए । अहिले दानबहादुर कार्की आईजीपी छन् । तर पनि यो घटनाको अनुसन्धानले अहिलेसम्म पूर्णता पाएको छैन । प्रहरीले अनुसन्धान अपराधी नजिक पुगेको बताउने गरेको छ ।
निर्मलाको हत्याको बेलामा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । उनीपछि बालकृष्ण खाँण गृहमन्त्री बने । वर्तमान सत्तारुढ दल रास्वपा सभापति रवि लामिछाने, नेकपा नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रमेश लेखक गृहमन्त्री भए ।
हाल रास्वपाकै नेता सुधन गुरुङ गृहमन्त्री छन् । रास्वपा सभापति लामिछाने मात्रै २ पटक गृहमन्त्री भए । सबै गृहमन्त्रीले निर्मला हत्याको अपराधीलाई पत्ता लगाएरै छाड्ने प्रतिवद्धता जनाउँदै छानबिन समितिहरु बन्ने गरेका छन् ।
हालका गृृहमन्त्री सुधनले पनि निर्मलाको हत्यारालाई पत्ता लगाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उनले घटनादेखि अहिलेसम्मका छानबिन र अनुसन्धान प्रतिवेदनलगायतमा अध्ययन र अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने गरी अनुसन्धान गर्न एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा १५ सदस्य समिति बनाएका छन् । प्रहरीकै प्राविधिक जनशक्तिसहित रहने गरी पंगेनीको नेतृत्वमा अध्ययन समिति बनाएको हो ।
सदनदेखि सडकसम्म बारम्बार उठिरहन्छ प्रश्न, उत्तर छैन
निर्मला हत्याको विषयमा सडकदेखि सदनसम्म प्रश्नहरु उठिरहेका छन् । निर्मला पन्तको हत्यारा को हो ? निर्मलाले न्याय कहिले पाउँछिन् ? विहीबार राष्ट्रियसभाको बैठकमा पनि यहि प्रश्न उठ्यो । तर प्रश्नको जवाफ दिन रोष्टममा उभिएका गृहमन्त्री सुधन गुरुङले अनुसन्धान प्रक्रिया कहाँ पुगेको भनेर सदनमा उत्तर दिन चाहेनन् । प्रश्न प्रतिप्रश्नहरु पनि भए तर गृहमन्त्री गुरुङले उत्तर दिन्न जवाफ फर्काए ।
यस्तो थियो संसदमा गृहमन्त्रीसँगको सवालजवाफ
राष्ट्रिय सभाको विहीबारको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिए ।
सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरे ।
रोष्टममा उभिएका गृहमन्त्री गुरुङलाई जवाफ दिन राष्ट्रियसभा अध्यक्ष दाहालले आग्रह गरे । गृहमन्त्री गुरुङले विषयको गम्भीर्यतालाई आफूले बुझेको बताए । तर यहि प्रश्न हजुरलाई गर्न चाहन्छु– गृहमन्त्री गुरुङले सांसद विश्वकर्मालाई नै प्रश्न गरे– ‘हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो ? आमाको घाउलाई कोट्याइरहन नहुने भन्दै उनले राष्ट्रियसभामा मात्र होइन, प्रतिनिधिसभामा पनि यो प्रश्न नगर्न आग्रह गरे ।
संसदमा सोध्नका लागि पूर्व तयारी स्वरुप गरिएको प्रश्नोत्तर थियो । सांसद विश्वकर्मालाई पुनः प्रतिप्रश्न गर्न अध्यक्ष दाहालले आग्रह गरे । विश्वकर्माले आफ्नो विधायिकी अधिकार भएको भन्दै पुनः प्रश्न गरे– निर्मलाको हत्याका कहिले पक्राउ पर्छन् ?
पहिलो प्रश्नमा सुक्ष्म अध्ययन भइरहेको भन्दै फेरि फेरि यो प्रश्न नगर्न आग्रह गरेका गृहमन्त्री गुरुङले पुरक प्रश्नको जवाफ नै नदिने बताए ।
गृहमन्त्री गुरुङलाई ब्यक्तिगत रुपमा एक्लै सोध्न चाहने माननीय सदस्यहरुलाई घटनाको अनुसन्धानबारे पूरा जानकारी दिने प्रतिवद्धता पनि सदनको रोष्टमबाट गरेका छन् । सदनबाट यो धेरै कुरा बोल्न सक्दिन र बोल्नु हुँदैन भनेका गृहमन्त्री गुरुङले सदन बाहिर भने अनुसन्धानबारे बताउने भनेका छन् ।
गृहमन्त्री गुरुङको आशय घटनाबारे अनुसन्धानबाट धेरै कुरा खुलेका छन् । तर उनी संसदलाई भन्न चाहँदैनन् । अब सांसदहरुले ब्यक्तिगत रुपमा गृहमन्त्रीलाई गएर सोध्लान् कि बिधायिकी अधिकार भन्दै संसनबाट मात्र प्रश्न उठाइरहन्छन्, त्यो समयले बताउनेछ ।
