काठमाडौं । राजनीतिक रुपमा शक्तिहिनतापछि सत्ता र शक्तिको स्वाद लिइसकेका नेताहरुले अघि बढाएका छन्, अग्रगामी मोर्चा। नाम अग्रगामी भएपनि उनीहरुको विरोधको केन्द्र हो– सरकार। सरकारकै विरोधभन्दा अन्य विषयमा मोर्चा किन बन्दैन? जनताको जीवनस्तर उकास्नका निम्ति मास्टर प्लान बनाउन किन मोर्चा बन्दैन?
मोर्चा बन्छ त केवल– पुनः शक्ति प्राप्तिका लागि। यहि दृश्य मधेस केन्द्रित दल, नेताहरुले शुरुवात गर्दा टुप्लुक्क पुगेका छन, जनार्दन शर्मा ।
संविधान निर्माणको बेला अनेक मोर्चाबन्दी, गठबन्धन बन्थे। ३२ दलीय गठबन्धन समेत बनेको नेपालको इतिहास छ। तर, यी गठबन्धन वा मोर्चामा सहभागीहरुले अन्तिमसम्मको यात्रा भने गरेको देखिन्न। संविधान निर्माण २०७२ अघिको स्थितिलाई स्मरण गर्दा धेरै परको समय भयो भन्ने लाग्न सक्छ। नजिकै हेरौं– २०७९ को निर्वाचनमा पनि वाम–लोकतान्त्रिक मोर्चा बनेको थियो।
त्यहि मोर्चाको बलमा कांग्रेस लार्जेस्ट पार्टी बनेको थियो भने नेकपा तेश्रो र माधव नेपालको दलले समानुपातिक मतमा थ्रेस होल्ड कटाउन नसक्दा पनि प्रत्यक्षमा १० सिट जितेको थियो। तर, सरकार बनाउदा गठबन्धन भत्किसकेको थियो। कारण थियो– प्रचण्ड र शेरबहादुर देउवामा सत्ताको नेतृत्व गर्ने मनोकांक्षा। त्यसपछि के–के भयो त्यो खुलस्त छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाएको छ। सरकार शक्तिशाली भएपनि शक्तिहिनतातर्फ त जाँदैन? प्रश्नहरु उठेका बेला मधेस केन्द्रित दलहरुले अघि बढाएका छन्, अग्रगामी मोर्चा।
अग्रगामी को नेपाली अर्थ हो अगुवाई गर्ने, परिवर्तनकारी वा नेतृत्वदायी भूमिका निर्वाह गर्ने। तर, के नेताहरुका अनुहारले जनमतबाट बहिस्करणमा परेको बेला अग्रगामी बन्न सकिन्छ? जवाफ हो सकिन्छ। तर, सरकारको विरोधमात्रै गरेर होइन, रचनात्मक ढंगले जनताका काम, समस्या बुझेर राजनीतिक समाधानको बाटो देखाउदा सम्भव छ। यस्तोमा अग्रगामी बन्न राज्यसत्ताबाहिर रहँदा कसरी सम्भव हुन्छ ?
तत्कालीन राजाको शासनमा प्रचण्डले जनयुद्धको थालनी गरे। समाजमा देखिएको विभेद, राज्यबाट हुने बहिस्करण र भूगोल, जाति, धर्म र पेशाको आधारमा हुने राज्य संरक्षित विभेदविरुद्धको बलियो आवाज। यसमा जोडिएको थियो, गणतन्त्र। गणतन्त्रमा आउने र राजतन्त्रको अन्त्य गर्ने कुरा कल्पनासम्म पनि गर्न सकिने स्थिति थिएन। तर, सम्भव भयो। किनभने जनतालाई यो कुरा बुझाउन प्रचण्डको नेतृ्त्वमा थालिएको जनयुद्ध र सबै राजनीतिक दलले चालेको कदम। जसकारण लोकतन्त्रका निम्ति भन्दै जनताले अग्रगमनको बाटो पछ्याए। नेपालले गणतन्त्र पायो।
उसोभए मधेस केन्द्रित दलहरुले थालेको अग्रगामी मोर्चाविरुद्धको आक्रोश किन? प्रश्न स्वभाविक छ। तर, अहिलेको समय फेरिएको छ। प्रविधिको विकास, जनताको चेतनास्तर, शिक्षाको अवस्था जस्ता विभिन्न विषयले मानिसले सहि गलत छुट्याउने समय छ।
यसमा एआई, डिपफेकजस्ता विषयले मानिसलाई केहि समय भ्रममा पार्न सकिएपनि उनीहरु यसबाट उम्किन सक्षम बनिहाल्छन्। यस्तो बेला थालिएको अग्रगामी मोर्चाले अब थाल्ने कदमहरु केवल राजनीतिक नारामा सिमित बने, उनीहरुको यो मोर्चा संविधान निर्माण बेलाको ३२ दलीय वा २०७९ को निर्वाचनको बेलाजस्तो वाम लोकतान्त्रिक जस्तो बन्न सक्छ। नतिजा निकालेपनि परिणाम दिन नसक्ने।
मोर्चाका अभिव्यक्तिका संकेत के ?
अग्रगामी मोर्चा निर्माण गर्नेक्रममा नेताहरुले सामूहिक रुपमा प्रतिबद्धता व्यक्त गरेका छन्। मधेस केन्द्रित मुद्दामा जोडतोडका साथ आवाज राखेका छन्। उनीहरुले सरकारको गतिमा प्रश्न गरेका छन्। संविधानमाथि हुनसक्ने छेडखानीमा प्रश्न गरेका छन्।
अग्रगामी मोर्चाले २८ बुँदे घोषणापत्र जारी गर्दै उपेन्द्र यादवको नेतृत्वमा सीके राउतको जनमत, प्रमुको आम जनता, रेशमको नागरिक उन्मुक्ति, सन्तोषको प्रलोपा, नेसपाका रिजवान अन्सारी, बहुजनका हरिनन्दन कुमार रञ्जन र खुम्बुवानका रामकुमार राईले हस्ताक्षर गरेका छन्। उनीहरुले संविधान संशोधनमार्फत संघीयताको सवलीकरणसहित विभिन्न माग राखेका छन्। तर, उनीहरुले पदमा रहँदा के गरे? यसको लेखाजोखा समेत हुने देखिन्छ ।
को नेता पराजय भोगेका हुन् ?
अग्रगामी मोर्चा कस्दै राजनीतिक अधिकारको रक्षा गर्ने भनेका नेताहरुमा उपेन्द्र यादव, सीके राउत, जनार्दन शर्मा, सन्तोष परियार, प्रभु साहले गएको निर्वाचनमा पराजय व्यहोरेका हुन्। यसको अर्थ जनमतबाट बहिस्करणमा परेका हु्न। तर, उनीहरुमध्ये सीके र सन्तोषबाहेक सबै नेताहरु पटक–पटक मन्त्री बनिसकेका व्यक्तिहरु हुन्। सन्तोष पनि तत्कालीन रास्वपाका प्रमुख सचेतक रहिसकेका व्यक्ति हुन भने सीके अन्य नेतालाई मन्त्री बनाएर आफू सरकारमा नजाने भनेका व्यक्ति ।
यस्तोमा उनीहरुले अबको राज्यसत्तालाई कसरी अघि लैजान्छ ? जनताका समस्यामा कसरी आउँछन? तमाम प्रश्नहरुले पनि उनीहरुमाथि शंकाको लाभसहित प्रश्नहरु उब्जिएका छन्। तर, अग्रगामी मोर्चाले जनस्तरका समस्यालाई बाहिर ल्याउने र समाधानमा पनि काम गर्ने स्थिति बन्न नसकेमा भने उनीहरुको मोर्चा पनि पूर्ववत् मोर्चाभन्दा फरक केहि देखिने अवस्था बन्नेछैन्। के मोर्चाका नेताहरुले नयाँ शिराबाट राजनीतिक गतिविधि र रचानात्मक किसिमले काम गर्लान? मोर्चा घोषणासंगै परीक्षा शुरु भएको छ।
