काठमाडौं । एमालेको परम्परागत जनाधार खस्किँदै गएको पार्टीकै महासचिव शंकर पोखरेलको स्वीकार गरेका छन् । युवा, सहरी मध्यम वर्ग, सुकुम्बासी र प्रवासी नेपाली एमालेसँग टाढिँदै गएको उनको भनाइसँगै पार्टी नेतृत्वमाथि आत्मसमीक्षा, संगठन सुधार र पुस्तान्तरणको दबाब बढेको छ ।
नेपालको राजनीतिमा कुनै समय सबैभन्दा अनुशासित, वैचारिक र शक्तिशाली सङ्गठन मानिने नेकपा (एमाले) अहिले आफ्नो ऐतिहासिक विरासत जोगाउनै धौ–धौ पर्ने मोडमा आइपुगेको छ । देशमा वैकल्पिक राजनीति र ‘पपुलिज्म’को लहर चलिरहँदा एमालेप्रतिको जनविश्वास, विशेष गरी युवा र सहरी मध्यम वर्गमाझ दिनानुदिन खस्कँदो छ ।
अझ रोचक र गम्भीर कुरा त के छ भने— पार्टी कमजोर भएको र चार प्रमुख समुदाय एमालेबाट टाढिएको स्वयं महासचिव शंकर पोखरेल सार्वजनिक मञ्चहरूमा निर्धक्क स्वीकारिरहेका छन् । तर, अर्कोतिर पार्टी अध्यक्ष केपी शर्मा ओली भने एमाले खस्किएको पत्याउनै तयार छैनन् । न त ओलीमा नेतृत्व हस्तान्तरणको कुनै सोच देखिन्छ, न त पार्टीभित्र बढ्दो असन्तोष र एक्लोपनले उनको दम्भ र अहंकारमा नै कुनै कमी ल्याएको छ । पार्टीभित्र चौतर्फी दबाब बढ्दा समेत ओली आफ्ना अडानमा टसमस हुन सकेका छैनन् ।
‘चार समुदाय एमालेबाट टाढिए’
शनिबार काठमाडौँको तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले पार्टीको धरातलीय यथार्थ छर्लंग पारिदिए । २०७९ को निर्वाचनयता एमालेबाट चारवटा प्रमुख वर्ग र समुदाय पूर्ण रूपमा टाढिँदै गएको उनको विश्लेषण थियो । पोखरेलका अनुसारः
१. सहरी मध्यम वर्ग : राजधानीसहितका ठुला सहरका मध्यम वर्गीय नागरिक एमालेबाट विमुख भएका छन् ।
२. सुकुम्बासी र सहरी गरिब : परम्परागत भोट बैंक मानिएका भूमिहीन सुकुम्बासी र सहरी गरिबको सम्बन्ध एमालेसँग टुट्दै गएको छ ।
३. नवयुवा र नयाँ पुस्ता : पार्टीबाट सबैभन्दा बढी युवा वर्ग टाढिँदै गएका छन् । आन्दोलनमा युवाहरूको सहभागिता फाट्टफुट्ट र उत्साहहीन बनेको छ ।
४. वैदेशिक रोजगारीमा रहेका नेपाली : प्रवासमा रहेका नेपालीहरू पनि एमालेप्रति झनै नकारात्मक बनेका छन् ।
महासचिव पोखरेलले ‘मिसन ग्रासरुट’ मार्फत हरेक वडा र पालिकामा युवा नेतृत्व विकास गर्ने परिपत्र जारी गरे पनि तल्लो तहमा त्यो काम अपेक्षित रूपमा हुन नसकेको र कार्यकर्ता पलायन भइरहेको गम्भीर चिन्ता व्यक्त गरे ।
प्रमुख दलहरू सच्चिनै पर्ने दबाब
महासचिव पोखरेलले पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार रहेको बताए। उनले ’देखाइदिऊँ’ भन्ने क्षणिक प्रवृत्तिको दुष्परिणाम आज पार्टीले भोगिरहेको स्वीकार गर्दै प्रमुख दलहरू नसच्चिए देशको राजनीतिक भविष्य नै सङ्कटमा पर्ने चेतावनी दिए।
वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण र रूपान्तरण अनिवार्य रहेको भन्दै उनले पार्टी पुनर्गठनका लागि कार्यदल बनाइएको जानकारी समेत दिए।
ओलीको दम्भ र एमालेको संकट
महासचिव पोखरेलले तल्लो तहको यथार्थ बुझेर आत्मसमीक्षाको कुरा गरिरहँदा, पार्टी नेतृत्वको शीर्ष तहमै बसेका अध्यक्ष केपी शर्मा ओली भने अझै पनि आफ्नो अडान र अहंकार छाड्न तयार छैनन् । पार्टीभित्र दोस्रो र तेस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग उठाइरहँदा पनि ओलीले त्यसलाई पूर्णतः अस्वीकार गर्दै आएका छन् ।
पार्टीभित्र विरोधका स्वरहरू सुक्दै जाँदा र एकाध चाटुकारहरूको घेराबन्दीमा पर्दै जाँदा ओली झन्–झन् एक्लिँदै गएका छन् । यति हुँदा पनि चुनावी पराजय र युवा पुस्ताको निराशालाई स्वीकार्नुको साटो अरूलाई नै दोष दिने उनको पुरानै शैली कायम छ ।
देशमा कम्युनिस्ट विरोधी र नयाँ पपुलिस्ट शक्तिहरू बलियो हुँदै जाँदा एमालेजस्तो मुलुककै ठुलो क्याडर–बेस्ड कम्युनिस्ट पार्टी यदि समयमै सुध्रिएन, आन्तरिक लोकतन्त्रलाई ब्युँताएन र नेतृत्व परिवर्तनको ढोका खोलेर युवा वर्गलाई समेट्न सकेन भने— एमालेको यो वैभव र विरासत केवल इतिहासका पानामा मात्र सीमित हुने पक्का छ ।
