काठमाडौँ । आईएमई खल्ती लिमिटेडले अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने भएको छ। खल्तीमार्फत रु १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्दा ग्राहकहरू स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्।
यस कार्यक्रमअन्तर्गत दैनिक एक जना विजेताले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु १० लाख प्राप्त गर्नेछन्। भुक्तानीको विवरण सुरक्षित रूपमा राजस्व विभागको प्रणालीमा पुग्ने र उपहार कुपन स्वतः सिर्जना भई खल्ती एपमै देखिने व्यवस्था मिलाइएको छ। विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गरी एसएमएस, इमेल तथा खल्तीमार्फत जानकारी गराउनेछ।
बिलमा आधारित कारोबार प्रवर्द्धन गरी डिजिटल अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीलाई सुदृढ बनाउने लक्ष्यका साथ यो सहकार्य गरिएको आईएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्।
