काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा युनिभर्सल पीस फेडेरेसन (UPF) नेपालले शंकरापुर नगरपालिका, काठमाडौंस्थित भाग्योदय कलेजमा “युवा नेतृत्वको भूमिका–विश्वास पुनर्स्थापना : अहिले शान्तिका लागि के गर्न सकिन्छ ?” विषयक युवा सेमिनार सम्पन्न गरेको छ।
कार्यक्रममा १३८ जना कलेज विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। सेमिनारले शान्ति निर्माण, विश्वास पुनर्स्थापना, सामाजिक सद्भाव तथा जिम्मेवार नेतृत्व निर्माणमा युवाको महत्वपूर्ण भूमिकामाथि विशेष जोड दिएको थियो। भाग्योदय कलेजका प्रिन्सिपल श्री रुशन बसिले स्वागत मन्तव्य दिनुभएको थियो भने WFWP नेपालकी अध्यक्ष श्रीमती नीला श्रेष्ठले विशेष मन्तव्य राख्नुभएको थियो। कर्मशील महिला समाजकी अध्यक्ष श्री मदनकुमारी बज्राचार्यले कार्यक्रमको कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा UPF नेपालका अध्यक्ष श्री सन्तोषकुमार पौडेल र महासचिव श्री प्रकाशबाबु थापाले युवा नेतृत्व, इमानदारी, संवाद, पारस्परिक सम्मान, सेवा, सहकार्य तथा सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीहरूलाई सम्बोधन गर्नुभयो। उहाँहरूले युवालाई शान्ति निर्माणका सक्रिय साझेदारका रूपमा अघि बढ्न तथा आफ्नो नेतृत्व क्षमतालाई समाजको सकारात्मक रूपान्तरणमा प्रयोग गर्न प्रेरित गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले एकता, मित्रता, रचनात्मकता तथा सांस्कृतिक विविधताको सुन्दर सन्देश प्रस्तुत गरेको थियो। यसले युवाबीच आपसी समझदारी र सद्भाव अभिवृद्धि गर्न संस्कृति तथा सिर्जनशीलताको महत्वपूर्ण भूमिकालाई उजागर गरेको थियो।
कार्यक्रमपश्चात शंकरापुर नगरपालिकाकी उपप्रमुख श्रीमती समिता श्रेष्ठसँग शिष्टाचार भेट तथा कार्यक्रमसम्बन्धी जानकारी आदानप्रदान गरिएको थियो। उक्त भेटले स्थानीय सरकार, शैक्षिक संस्था, नागरिक समाज तथा युवाबीच शान्ति, सामाजिक विकास र समुदायमा आधारित पहलका लागि सहकार्यलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ।

कार्यक्रमले “युवा केवल भविष्यका नेता होइनन्, आजै शान्ति निर्माणका सक्रिय साझेदार हुन्” भन्ने महत्वपूर्ण सन्देशलाई प्राथमिकताका साथ अघि सारेको छ। UPF नेपालले विश्वास, समझदारी, सहकार्य र शान्तिको संस्कृति निर्माणमा युवाको अर्थपूर्ण तथा सक्रिय सहभागिता बढाउन आह्वान गरेको छ।

