News 24 Television
देउवा पक्ष नै विभाजित, पूर्णबहादुर र शेखर कता ?

काठमाडाैँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेलाले पार्टीलाई एकताबद्ध गर्नुको सट्टा थप विभाजनको आधार तय गरिदिएको छ । साउन २९ गतेदेखि ३१ गतेसम्म भएको काँग्रेसका शेरबहादुर देउवा समूहको राष्ट्रिय सम्मेलनमा धेरैजसो नेताहरूले पार्टी एकताको पक्षमा वकालत गरे । उनीहरूले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टी एकता हुने भन्दै मन्तव्य राखेका थिए । अझ, यो सम्मेलनले पार्टी देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने औपचारिक निर्णयसमेत गरेको छ ।

तर, यो भेलाले एकता र भावि योजनाबारे एक ढिक्का हुने सहमति गरिएको दाबी गरे पनि पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइरालाजस्ता शीर्ष नेतृत्वलाई भने अन्तिम समयसम्म समेट्न सकेन । काँग्रेसको राष्ट्रिय भेलाको उद्घाटनमा दुवै नेता उपस्थित भए पनि उनीहरू समापनमा भने मञ्चमा देखिएनन् । प्रमुखतः यो भेला पार्टी विभाजनको उद्देश्यबाट प्रेरित रहेको भन्दै शेखर र पूर्णबहादुर उपस्थित नभएका हुन् । जब कि देउवाको अनुपस्थितिमा पछिल्लो समयसम्म पनि काँग्रेस इतर पक्षको नेतृत्व पूर्णबहादुरले नै गर्दै आएका थिए । यहाँसम्म कि, काँग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनरावलोकन गर्नसमेत शेरबहादुर देउवासँगै पूर्णबहादुरले पनि सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् ।

के चिढिएका हुन् पूर्णबहादुर ?

मुख्य रूपमा काँग्रेसले इतर पक्षको बैठक र आफ्नो गतिविधि सञ्चालन गर्न चुनदेवीमा कार्यालय खोलेको छ । देउवा स्वदेश फर्कनुअघि नै राष्ट्रिय सम्मेलन गर्नका लागि बसेको बैठकमा पूर्णबहादुरलाई नभई शशांकलाई नै भेलाको संयोजक बनाउने निर्णय गरिएको थियो । पूर्णबहादुर आफैँ पछि हटेपछि शशांकलाई नेतृत्व दिइएको बताइन्छ । तर, यही विन्दुबाट पूर्णबहादुरले पार्टी विभाजन हुनुहुन्न भन्दै देउवा पक्षको लाइनबाट ब्याक हुने संकेत गरेका छन् । यसैको उपजका रूपमा आइतबारको समापन सभामा पूर्णबहादुर अनुपस्थित भएको बुझ्न सकिन्छ । यसअघि उद्घाटनमा सहभागी हुन भन्दै पूर्णबहादुरलाई निम्ता दिन शशांक आफैँ उनको निवास बूढानीलकण्ठ पुगेका थिए। निकट स्रोतका अनुसार पूर्णबहादुर पार्टीको आधिकारिकताबारे दायर भएको मुद्दामा अदालतको आदेश नआएसम्म धैर्य गर्नुपर्ने पक्षमा छन् ।

धर्मसम्बन्धी प्रस्तावले पनि विवाद !

राष्ट्रिय सम्मेलनको प्रस्ताव पारित गर्ने बेला प्रकाशशरण महत र विमलेन्द्र निधिबीच अस्वाभाविक धकेलाधकेलको दृश्य देखियो । यो विवादको प्रमुख कारण धर्मसम्बन्धी प्रस्ताव र धारणा नै हो । प्रस्तावमा प्रकाशशरण नेपालको सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने पक्षमा थिए र यो प्रस्तावको तयारी गर्ने, स्वयं प्रकाशशरण महत नै हुन् । तर, उता निधि भने ’धार्मिक स्वतन्त्रता’ भन्ने भाषा प्रस्तावमा समावेश गर्न चाहन्थे । यही विषयमा दुई फरक धारणा उत्पन्न हुँदा महत र निधिबीच धकेलाधकेलसम्म भयो । यद्यपि, अन्तिममा भने देउवाकै निर्देशनअनुसार ’सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने’ प्रस्ताव नै पारित गरियो । धार्मिक प्रस्तावको यो विषयले पनि काँग्रेसमा द्विविधात्मक विवाद सिर्जना गरेको छ । 

गगनलाई पनि थप चिँढ्याइयो !

काँग्रेसको राष्ट्रिय भेलामा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई लक्षित गर्दै अनेक टिप्पणी गरिए । सभामा बोल्ने सबैजसो नेताले गगनको आलोचना गर्दा नारा पार्टी एकताको दिने तर अर्को पक्षका नेतालाई आरोपित गर्ने शैली नमिल्ने चर्चा काँग्रेस वृत्तमा चलिरहेको छ । यसले एकताको सम्भावनालाई झन् टाढै लैजाँदै गएको देखिन्छ ।

’एकता नै पहिलो सर्त’ भन्दै पक्ष–विपक्षमा चलेको दोहोरीले काँग्रेसलाई एक ठाउँमा ल्याउनेभन्दा पनि विभाजनतर्फ नै धकेल्ने निश्चित छ । राष्ट्रिय सम्मेलनलाई पार्टी फुटको औपचारिक विन्दु बनाएको देउवा पक्षले एकता नै अन्तिम सूत्र मानेको दाबी गरे पनि यो भेलाले एकताभन्दा फुटको थप आधार तय गरेको प्रस्ट देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update