News 24 Television
रविले मन्त्री र सांसदलाई ‘क्लास’ दिए

काठमाडौं । रास्वपाले अभुतपूर्व जनमतका साथ सरकारको नेतृत्व गरिरहेको छ । तर रास्वपा सांसदको प्रस्तुति र शैलीले नागरिक आजित बनेका छन् । संसदमा सांसदहरुले खेल्ने भुमिका निकै कच्चा मात्रै होइन् गैरजिम्मेवार छन् । 

यसले झण्डै दुई तिहाईको जनमतको अबमुल्यन भएको पनि विश्लेषण भइरहेका छन् । रास्वपा चौतर्फी आलोचनाको तारोमा परेपछि सभापति रवि लामिछानेले सक्रियता बढाएका छन् । 

सतारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री र सांसदको भुमिकालाई लिएर चौतर्फी प्रश्न उठिरहेका छन् । मन्त्रीको कार्यशैली र सांसदले संसदमा खेल्ने भुमिका निकै कच्चा देखिनु त्यसको मुख्य कारण हो । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल विरामी पर्दा सेनाको हेलिकप्टर प्रयोगदेखि संसदमा आशिका तामाङको उदण्ड शैली उद्धाहरण हुन् । 

अरु त अरु प्रतिनिधिसभाको साउन २६ को बैठकमा गणपूरक संख्या ६१ नपुग्दा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय हुन सकेको थिएन । जबकी रास्वपाकै १८२ सांसद छन् । अझ सामाजिक संजाल र सार्वजनिक स्थानमा रास्वपा सांसदले देखाउने हर्कतले त जनता आजित छन् । 

रास्वपा मन्त्री र सांसदको शैलीलाई लिएर सर्बत्र आलोचना चुलिएपछि सभापति रवि लामिछाने सक्रिय बनेका छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई क्लास नै लिए । 

संसदीय दलको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ र पूर्वाधारमन्त्री सुनिल लम्साल बाहेक सबैै मन्त्रीको उपस्तिति देखिन्थ्यो । सांसदहरुको पनि बाक्लै सहभागिता रह्यो । 

बैठकमा सभापति रविले संसदमा खेल्ने भुमिका, सरकारको काम, चुनाव ताका जनतासंग गरेको वाचा र मर्यादा बारे ब्रिफिङ गरेका छन् । यो बैठकले सांसदहरुमा देखिएको अन्योलता र मन्त्रीमा देखिएको बेचैनीलाई मत्थर पार्ने विश्वास गरिएको छ । 

जति प्रशिक्षण दिँदा पनि पुग्दैन किन ? 

यसअघि नवनिर्वाचित सांसद भनेर दुई÷दुई पटक प्रशिक्षण नदिएको होइन् । पहिलो पटक गत बर्ष ३ र ४ गते ललितपुरको ग्वार्काेस्थित होटल टुलिपमा दिइएको थियो । जहाँ सांसदको काम, कर्तव्य, अधिकार, संसदीय अभ्यास र पार्टीका नीति जस्ता विषय प्रमुख थिए । 

दोस्रो पटक बैशाख २६ र २७ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज), जावलाखेल, ललितपुरमा भएको थियो । दुई पटक प्रशिक्षण दिँदा पनि रास्वपा सांसदहरुको व्यवहार कच्चा र अपरिपक्क देखिदा पार्टी नेतृत्वले नै हैरानी खेप्नु परेको छ । अझ यतिले नपुगेर तेस्रो पटक प्रशिक्षण दिने रास्वपाको तयारी छ । एकतर्फ प्रशिक्षणको नाममा फण्डा मच्चाउने अर्कातीर ब्यवहार परिवर्तन नहुनुले रास्वपाको प्रशिक्षण शैली माथि नै प्रश्नचिन्ह खडा गरेको छ । 

अनेकौ जुक्ती !

उसो त रास्वपाले सांसदहरुलाई नियममा बाँध्न विभिन्न उपाय अपनाउने गरेको छ । सांसदहरु संसद बैठकमा उपस्थित हुन नसके अनुपस्थिति फारम भर्नुपर्ने निर्देशन नै जारी गरिएको छ । यसरी सांसदहरु गैरजिम्मेवार बन्न थालेपछि रास्वपा नेतृत्वले विभिन्न उपाय अपनाउन थालेको हो । 

रास्वपाले संसदीय दलको विधान संशोधनको लागि कार्यदल नै बनाएर लागि पर्ने निर्णय गरेको छ । बुधबार बसेको दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल नै बनाएको हो । कार्यदललाई ७ दिनको समयसिमा दिइएको छ । 

रास्वपा भित्र विवाद–उकुसमुकसकै अवस्था !

जनताले झण्डै दुई तिहाईको अभुतपूर्व जनमत दिएका छन् । रास्वपालाई कुनै बाहानाबाजी गर्ने छुट छैन । तर पार्टी भित्रको अन्तर द्धन्द्धले प्रधानमन्त्री बालेन र सभापति रवि विच दुरी बढेको बताइन्छ । रास्वपा सांसदहरुले संसदमा खेल्ने भुमिकाले पनि रवि र बालेन फ्याक्टर छुटिएकै देखिन्छ । बालेन पक्ष मौन हुँदा रवि पक्ष सरकारको चर्काे आलोचनामा उत्रिने गरेका छन् । 

पार्टी भित्रकै विवादका कारण सरकारले राम्रो काम गर्न नसकेको विश्लेषण पनि भइरहेका छन् । बिवाद बारे कुनै सार्वजनिक बहस नभएपनि संसद र पार्टी कार्यमा देखिएको अन्योलताले त्यो देखाउँछ पनि । भन्नलाई त सभापति रवि लामिछाने पार्टीमा कुनै कुट नरहेको दाबी गर्छन् । 

गत बर्ष फागुन २१ को प्रतिनिधिसभा चुनावमा १८२ सिटका साथ भारी जनमत पाएको रास्वपा गर या मरको अवस्थामा छ । किनकी जनताले अभुतपूर्व जनमत दिएका छन् सभ्य र भब्य भएर काम गर्नुको विकल्प छैन् । तर पार्टी भित्रको असन्तुष्टी, सांसदहरुको भुमिका र अपरिपक्कताले जनता निरास बन्दै गएका छन् । यसमा रास्वपा नेतृत्व, प्रधानमन्त्री, मन्त्री र सांसद बेलैमा जिम्मेवार बन्नु नै बुद्धिमानी होला । नभए भदौँ २४ उदाहरण ताजै छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update