काठमाडौँ । युनिभर्सल पिस फेडेरेसन (युपिएफ) नेपालको आयोजना तथा निर्वाणा एकेडेमीको सहकार्यमा काठमाडौँमा 'युएन ह्युम्यानिटेरियन डे २०२६' (संयुक्त राष्ट्रसङ्घीय मानवीय दिवस) भव्य रूपमा सम्पन्न भएको छ। "मानवताको उत्सव, ऐक्यबद्धताको प्रेरणा : विश्वासको पुनर्स्थापना- अब शान्तिका लागि के गर्न सकिन्छ ?" भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा समाजका विभिन्न क्षेत्रका १२७ जना प्रतिनिधिको सहभागिता रहेको थियो। निर्वाणा एकेडेमीका प्रिन्सिपल निराजन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्व उपसभामुख इन्दिरा राना मगरले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि पूर्व उपसभामुख इन्दिरा राना मगरले मानवता र एकता नै दीगो शान्तिका आधार भएको बताउनुभयो। आफ्ना सेवाकालीन चुनौतीपूर्ण अनुभव स्मरण गर्दै उहाँले भन्नुभयो, "निःस्वार्थ सेवा र मानवीय संवेदना नै जीवनको सबैभन्दा महत्त्वपूर्ण मूल्य हो।" त्यस्तै, प्रमुख वक्ता पूर्व कर्नेल रतिन्द्र क्षेत्रीले कोभिड-१९ महामारीको समयलाई स्मरण गर्दै भन्नुभयो, "मानवता, सहकार्य र सामूहिक जिम्मेवारी नै विपद् व्यवस्थापन तथा सामाजिक स्थायित्वका प्रभावकारी आधार हुन्।"

कार्यक्रममा युपिएफ एसिया प्यासिफिकका उपाध्यक्ष सन्तोष कुमार पौडेल, विश्व शान्ति तथा एकीकृत परिवार सङ्घका क्षेत्रीय निर्देशक कृष्ण अधिकारी र नेपालका लागि अस्ट्रेलियाका पूर्व राजदूत महेश राज दाहालले पनि शान्ति र सहकार्यबारे धारणा राख्नुभएको थियो। पूर्व राजदूत दाहालले भन्नुभयो, "नेपालले मानवता, शान्ति र सहकार्यको सन्देशमार्फत अन्तर्राष्ट्रिय समुदायमा आफ्नो सकारात्मक पहिचान अझ सुदृढ गर्न सक्छ।"
यसै अवसरमा मानवता, शान्ति, शिक्षा तथा सामाजिक सेवामा योगदान पुर्याएका १० जना विशिष्ट व्यक्तित्वलाई 'एम्ब्यासेडर फर पिस अवार्ड' (शान्ति दूत सम्मान) प्रदान गरियो। सम्मानित व्यक्तित्व सुवर्ण राज केसीले प्राप्त सम्मानले शान्ति, मानवता र सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भएर अघि बढ्न थप प्रेरणा मिलेको बताउनुभयो। कार्यक्रममा निर्वाणा एकेडेमीका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुतिसमेत दिएका थिए।
समापन सत्रमा युपिएफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले शान्ति र एकता केवल नारामा सीमित नभई करुणा, न्याय र सेवामा आधारित दैनिक व्यवहार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले यी मूल्यहरूलाई विद्यालय, समुदाय र राष्ट्रिय तहसम्म विस्तार गर्नुपर्ने बताउनुभयो। समग्रमा यो कार्यक्रमले नेपालमा मानवीय सेवा, सामाजिक सहकार्य र शान्ति निर्माणप्रति साझा प्रतिबद्धता अभिव्यक्त गरेको छ।

