News 24 Television
नेपाली विद्यार्थीमाझ लोकप्रिय इजरायली ‘अर्न एण्ड लर्न’

काठमाडौं । सन् २००१ बाट सुरु भएको नेपाल र इजरायल सरकारबीचको ‘कमाउँदै, कृषि प्रविधि सिक्दै’ (अर्न एन्ड लर्न) कार्यक्रमअन्तर्गत हालसम्म नेपालबाट पाँच हजारभन्दा बढी विद्यार्थी इजरायल गएर फर्किसकेका छन् ।

नेपालका तीन विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन र सुदूरपश्चिम विश्वविद्यालय) र इजरायलका विभिन्न कृषि प्राविधिक विश्वविद्यालयबीचको सम्झौताअनुरूप यो कार्यक्रम सञ्चालित छ । कृषि विज्ञान (बीएससी एग्रिकल्चर) को अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीका लागि तय गरिएको यो ११ महिने कार्यक्रम एक प्रकारको इन्टर्नसिप हो । यस कार्यक्रमअन्तर्गत विद्यार्थीले सातामा पाँच दिन इजरायलका कृषि फार्म, डेरी उद्योग र तरकारी उत्पादनमा काम गर्छन्, एक दिन पढ्छन् र एक दिन अनिवार्य बिदा पाउँछन् ।

इजरायलको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण–पूर्वी एसिया विभागकी निर्देशक मिखाइल वाइलर–टालले यो कार्यक्रमले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । उनले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापार विस्तारका लागि नेपाल सरकारसँग उच्चस्तरीय भ्रमण र सहकार्यको अपेक्षा पनि गरेकी छन् ।

इजरायल सरकारको कृषि प्रशासन विभागअन्तर्गत इन्टर्नसिप कार्यक्रमकी प्रमुख तमर  यार्डेनका अनुसार हरेक वर्ष सयौं नेपाली विद्यार्थीले यहाँ काम र अध्ययन सँगै गर्छन् । ‘सुख्खा जमिन र पानीको अभावका बाबजुद इजरायलले अपनाएको आधुनिक प्रविधि र थोपा सिँचाइ प्रणाली सिकेर नेपाली विद्यार्थीले स्वदेशमा आधुनिक कृषि फार्म सुरु गरेको हामीले पाएका छौं,’ यार्डेनले भनिन् । नेपाली विद्यार्थीबाट इजरायलीहरूले पनि नेपालको परम्परागत कृषि प्रणालीबारे सिक्ने अवसर पाएको उनले बताइन् ।

इजरायलबाट फर्केका युवालाई व्यावसायिक कृषिमा आकर्षित गर्न नेपाल सरकारले सहुलियतपूर्ण कर्जा र उद्यमशीलताको अवसर प्रदान गर्नुपर्ने इजरायली अधिकारीहरूको सुझाव छ । सिकेर आएको सीप र प्रविधिलाई उपयोग गर्न नेपाल सरकारले कृषिमुखी नीति र आवश्यक पूर्वाधार तयार गरेमा नेपाली युवाले कृषिमा फड्को मार्न सक्ने उनीहरू बताउँछन् । यसै उद्देश्यलाई सघाउन सन् २०२० मा नेपालमा ‘कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने दुईपक्षीय सम्झौता भएको थियो । तत्कालीन इजरायली विदेशमन्त्री गाबी अश्केनाजी र नेपालका तत्कालीन राजदूत डा. अन्जान शाक्यबीच भएको उक्त सम्झौताअनुसार हाल नेपालका विभिन्न प्रदेशमा कृषि उत्कृष्टता केन्द्र स्थापनाको काम भइरहेको छ ।

कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहँदा सन् २०२३ अक्टोबर ७ मा हमास समूहले गरेको आक्रमणले भने ठूलो पीडा दिएको छ । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गयो भने विपिन जोशीलाई अपहरण गरियो । कृषि फार्ममा काम गरिरहेका विद्यार्थीमाथि भएको यो त्रासदीपूर्ण घटनाले आफूहरूलाई अत्यन्तै दुःखी र भावुक बनाएको इजरायली प्रशिक्षक तथा अधिकारीहरूले नेपाली सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्मरण गरे ।

नेपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक छ । सन् १९६० मा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको इजरायल भ्रमणका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । इजरायलसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो ।

आगामी दिनमा दुवै देशका अधिकारीले अर्न एन्ड लर्न कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन गम्भीरतापूर्वक काम गर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकारले कृषिमैत्री नीति, योजना र पर्याप्त पूर्वाधार निर्माणमा ध्यान दिनु जरुरी रहेको इजरायलबाट फर्किएका विद्यार्थीहरूको धारणा छ ।

( जेरुसेलमबाट फर्केर)

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update