News 24 Television
जनैपूर्णिमाको रोचक कथा, धागोमा बाँधिएको संस्कृति

काठमाडौं । जनैपूर्णिमा जनै फेर्ने र हातमा डोरो बाँध्ने पर्व सँगै ऋषितर्पणी, रक्षाबन्धन, गुन्हुपुन्ही र क्वाँतीसँग जोडिएको विशेष पर्व हो । यो पर्वसँग पारिवारिक आत्मीयता, कृषि र प्रकृतिप्रतिको सम्मानका अनेक रोचक परम्परा र कथाहरू जोडिएका छन् ।

यनबद्धो बलिराजा, दानबद्धो महाबल ।

त्वेन त्वाम प्रतिबद्धामि, रक्षमा चलमा चल ।

यी मन्त्र जप्दै शुक्रवार वैदिक परम्पराका अनुयायीहरूले जनै फेरेका छन् । हातमा रक्षा सूत्र अर्थात् डोरो बाँधेका छन् । गुरु वा पुरोहितले बाँधिदिने यो डोरोलाई एउटा धागो मात्रै मानिदैन । धार्मिक मान्यता अनुसार यो रक्षा सूत्रले शुक्राचार्यले महाबली राजाको रक्षा गरेका थिए, त्यही पवित्र सूत्रले तिमीलाई बाँधेर तिम्रो रक्षाको कामना गर्छु भन्ने अर्थ लाग्छ । 

जनैपूर्णिमाको बिहान नदी, कुण्ड र पोखरीतिर भक्तजनको भीड लाग्ने गर्छ । गाईको गोबर, तुलसीको मठको माटो लगाएर स्नान गरेपछि विधिपूर्वक मन्त्रिएको जनै धारण गर्ने परम्परा रहेको छ । हिन्दु दर्शनमा जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ ।

जनैका दुई शिखामा रहेका तीन–तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानिन्छ । अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानका तीन योगका रूपमा लिइन्छ । यस दिन देह शुद्धि गरेर सप्तऋषि—कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल र कुशसहित तर्पण दिने परम्परा छ । 

त्यसैले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भनिन्छ । पौराणिक मान्यताअनुसार दानवी शक्तिबाट लखेटिएका देवताहरूलाई गुरु बृहस्पतिले रक्षा बन्धन तयार गरी रक्षा गरेको प्रसंगसँग पनि यो पर्व जोडिएको छ । भगवान् विष्णुको वामन अवतार र दैत्यराज बलिसँग जोडिएको कथा पनि यसको धार्मिक महत्वसँग सम्बन्धित छ । 

जनैपूर्णिमामा बाँधिएको डोरो गाई तिहारका दिन गाईको पुच्छरमा बाँधे वैतरणी नदी पार गर्न सकिने धार्मिक विश्वाससमेत छ । बौद्ध परम्परामा पनि यो दिनको आफ्नै महत्व छ । बौद्धग्रन्थ ललितविस्तरमा गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको प्रसंग यसै दिनसँग जोडिएको पाइन्छ । यसै दिन तराईका जिल्लामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र स्वास्थ्यको कामना गर्दै राखी बाँध्छन् । 

हातमा बाँधिएको त्यो धागो दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयताको प्रतीक बनेको छ । त्यसैगरी नेवार समुदायले यही दिनलाई गुन्हुपुन्हीका रूपमा आफ्नै मौलिक परम्परासहित मनाउँछन् । नेवार समुदायमा मास, भटमास, केराउ, चना, सिमी, बोडी, मुगीलगायत ११ किसिमका गेडागुडी मिसाएर बनाइने क्वाँती विशेष परिकार रहेको छ । 

वर्षायाममा शरीरमा चिसो पस्ने भएकाले शक्ति प्रदान गर्ने विश्वासका साथ यसको सेवन गरिन्छ । यही दिन उपत्यकाका किसानले रोपाइँ सकिएको संकेतस्वरूप भ्यागुतालाई भात खुवाउने परम्परा पनि रहेको छ । 

जनैपूर्णिमाको विभिन्न तिर्थस्थलहरुमा मेला समेत लाग्ने गर्छ । रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, ललितपुरको कुम्भेश्वरदेखि देशभरका कुण्ड, तलाउ र शिवालयसम्ममा जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update