काठमाडौं । गाईजात्राको भोलिपल्ट ललितपुरमा नेवाः समुदायले दिवंगत आफन्तको सम्झना र पुण्यको कामना गर्दै मतया जात्रा मनाउँदैछन् । परम्परागत भेषभूषा, बाजागाजा र दीपसहित विभिन्न शक्तिपीठ, मठमन्दिर तथा चैत्यको परिक्रमा गरिने मतयामा युवा पुस्ताको उत्साहजनक सहभागिताले संस्कृति संरक्षण र पूस्तान्तरणको सन्देश दिएको छ ।
गाईजात्राको भोलीपल्ट काठमाडौं उपत्यकाको ललितपुरका नेवाः बस्तीमा फेरि अर्को सांस्कृतिक र धार्मिक माहोल सुरु हुन्छ । हातमा दियो, साथमा बाजागाजा, शरीरमा परम्परागत पहिरन अनि ओठमा श्रद्धाका भाव देखिने यो दृश्य हो मतया जात्राको । मतया अर्थात् दीपयात्रा । ललितपुरका नेवाः समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट, भाद्र कृष्ण द्वितीयाका दिन मनाउने यो जात्रा दिवंगत आफन्तको स्मरण, पुण्यको कामना र धार्मिक आस्थासँग जोडिएको छ ।
सहभागीहरू सांस्कृतिक बाजागाजासहित हाकुपटासी लगायतका परम्परागत नेवारी पोसाकमा सजिन्छन् र विभिन्न शक्तिपीठ, मठ–मन्दिर, चैत्य तथा चिभाको परिक्रमा गर्छन् ।
मतयाको अवसरमा पुरै ललितपुर सहर नै एउटा विशाल धार्मिक यात्रा बनेर अघि बढ्छ । जात्रामा सहभागीहरूले आफ्नो श्रद्धाअनुसार समयबजी, फलफूल तथा विभिन्न परिकार शक्तिपीठमा चढाउँछन्। कतिपयले दिवंगत आफन्तको सम्झनामा दान गर्दै पुण्य सञ्चय गर्छन् भने कतिपयले परिवार र समाजको सुख, शान्ति तथा समृद्धिको कामना गर्छन् ।
मतयाको इतिहास खोज्दा एउटा रोचक पक्ष भेटिन्छ । यद्यपी योे जात्रा कहिलेदेखि सुरु भयो भन्ने विषयमा यकिन ऐतिहासिक तथ्य भने स्पष्ट छैन । मौखिक परम्परा र स्थानीय सांस्कृतिक अभ्यासमार्फत पुस्तौँदेखि यो जात्रा अगाडि बढ्दै आएको छ ।
यही परम्परा अहिले ललितपुरका नयाँ नयाँ स्थानहरुमा पनि विस्तार भइरहेको छ । यसको उदाहरण हो ललितपुरको ठेचो । यहाँ २०५४ सालदेखि विभिन्न दाफा खलहरूको अगुवाइमा मतया जात्रा मनाउन थालिएको हो । कुनै समय सीमित बस्तीमा सांस्कृतिक अभ्यासका रूपमा रहेको जात्रा अहिले नयाँ पुस्ता र नयाँ स्थानमा समेत फैलिँदैछ ।
यो जात्रा संस्कृति जोगाउन अहिले नयाँ पूस्ता पनि जागरुक देखिएको छ । त्यसैले पनि पछिल्ला वर्षहरुमा मतयामा युवा पुस्ताको उपस्थिति उल्लेखनीय देखिदै आएको छ ।
परम्परागत बाजाको तालमा युवाहरू सहभागी हुनु, मौलिक पहिरन लगाउनु र घण्टौँ पैदल हिँडेर जात्रामा सहभागी हुनु धार्मिक आस्थासँगै युवाहरुमा देखिएको आफ्नो पहिचानप्रतिको मोह पनि हो । संस्कृति किताबमा पढेर मात्र जोगिँदैन । संस्कृति बाँच्न यसलाई मनाउँदै पर्छ अनि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुनुपर्छ ।
त्यसैले मतयालाई ललितपुरका नेवाः समुदायले जात्रामा मात्रै सिमित राखेका छैनन् । समुदायको सामूहिक स्मृति, धार्मिक आस्था, कला, संगीत, पहिरन र सामाजिक एकताको जीवित दस्तावेजका रुपमा नेवा समुदायले यसलाई लिएका छन् ।
दिवंगतलाई सम्झिँदै सुरु हुने यो यात्रा अन्ततः जीवित पुस्तालाई आफ्नो जरा सम्झाउने यात्रामा पनि परिणत हुँदै गइरहेको छ । पूर्वजको सम्झना गर्दै आफ्नो संस्कृति बचाउने, अनि त्यो संस्कृति भावी पुस्तालाई जिम्मा लगाउने । मतयाले दिएको सबैभन्दा सुन्दर सन्देश पनि यही हो ।
