भियतनामको दानाङमा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाली खेलाडी दावा सोनाम शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई पिकलबल विश्वकपमा पहिलो पदक दिलाएका हुन्।
३० अगस्टदेखि ६ सेप्टेम्बरसम्म सञ्चालन भइरहेको प्रतियोगितामा दावाले पहिलो दिनमै उत्कृष्ट प्रदर्शन गरेका हुन्। सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका दावाले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक पक्का गरे।
प्रतियोगिताका खेलहरू भियतनामको दानाङस्थित Tiên Sơn Sports Palace लगायतका आधिकारिक पिकलबल कोर्टहरूमा सञ्चालन भइरहेका छन्।
दावा सोनाम शेर्पा पूर्व राष्ट्रिय टेनिस खेलाडी हुनुका साथै व्यावसायिक गल्फ खेलाडी समेत हुन्। टेनिसबाट हासिल गरेको खेल प्रविधि, कोर्टमा प्रतिस्पर्धा गर्ने अनुभव र बल नियन्त्रणसम्बन्धी सीपलाई पिकलबलमा समेत प्रभावकारी रूपमा प्रयोग गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गरेका हुन्।
पुरुष एकलतर्फ मंगोलियाले स्वर्ण तथा जापानले रजत पदक जितेका छन्।
दानाङ, भियतनामबाट प्रतिक्रिया दिँदै दावाले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलतामात्र नभई नेपाली पिकलबल र समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्न पाउनु गौरवको क्षण भएको बताउँदै उनले नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहभागिता विस्तारका लागि निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे।
यसै क्रममा दावाले हालै नेपालमा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति दुःखसमेत व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। देश गम्भीर प्राकृतिक विपत्तिबाट गुज्रिरहेका बेला अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा बोकेर पदक जित्न पाउनु आफ्नो लागि अझ विशेष क्षण भएको उनको भनाइ छ।
यस विश्वकपमा नेपालबाट १८ सदस्यीय टोलीले सहभागिता जनाएको छ। दावाको ऐतिहासिक कास्यपदकले नेपाली टोलीको सहभागितालाई थप महत्वपूर्ण बनाएको छ।
दावाको यो सफलता नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा ऐतिहासिक सुरुवात बनेको छ। विश्वकपको पहिलो दिनमै नेपालले पदक जित्नुले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता र नेपालमा पिकलबलको सम्भावनालाई समेत विश्वसामु उजागर गरेको छ ।


