कैलाली । शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन अठवाली अर्थात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ ।
दार्चुला, बैतडी, डडेल्धुरा सहितका पहाडी जिल्लामा गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ । त्यस्तै कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।
सुदूरपश्चिमको मौलिक संस्कृतिको रुपमा रहेको गौरा पर्व भारतको उत्तराखण्डका कुमाउ र गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने गरिन्छ ।
गौरा पर्वका लागि काम विशेष र रोजगारीका सिलसिलामा भारतलगायतका देशमा गएकाहरु घर फर्किएपछि सुदूरपश्चिमका गाउँघर भरिभराउ भएका छन् । भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने गौराको पहिलो दिन महिलाहरुले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाउने चलन छ । बिरुडा भिजाउने भएकाले पञ्चमीलाई बिरुडा पञ्चमीसमेत भनिन्छ ।
षष्ठीका दिन बिरुडा नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने र सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा गर्ने गरिन्छ ।
विवाहित महिलाले मन्त्रिएको दुवधागो चढाउने चलनसमेत छ । गौराको मुख्य आकर्षण देउडा हो । देउडामा पौराणिक कथा, देवीदेवताका गाथासँगै चैतली, धुमरी र ढुस्कोलगायतका भाकामा खेल खेलिन्छ ।
देउडामार्फत समाजका विकृति र देशको राजनीतिक अवस्थामाथि व्यंग्ययसमेत गरिन्छ । सुखदुःख बाँड्दै सामाजिक सद्भाव कायम गर्ने माध्यमका रुपमा पनि देउडालाई लिइन्छ । पुरुषहरुले ठाडो खेल, देउडा, ढुस्को र धमारीलगायतका खेल खेल्ने गर्छन् ।
सुदूरपश्चिमेलीहरुले दसैँभन्दा पनि बढी महत्वका साथ गौरा मनाउने भएकाले परदेशिएकाहरु घर फर्किन्छन् भने विवाहित चेलीहरु पनि माइत आउने गर्छन् ।
व्रतालु महिलाले फागमार्फत गौराको उत्पत्ति र महेश्वरसँगको विवाहलगायतका प्रसङ्ग सुनाउने गर्छन् । पूजापछि बिरुडाले श्रीमान्, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुज्ने चलन छ ।
गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदासमेत दिइन्छ । नारीलाई विशेष सम्मानका साथ मनाइने यो पर्व धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । तर, यस वर्ष देशमा आएको रसुवा महाविपत्तिका कारण हजारौँ नागरिकको ज्यान गएको र धेरै बेपत्ता भएकाले विगतका वर्षजस्तो हर्षोल्लास भने देखिएन ।


