News 24 Television
डिएनएबाट कहिले होला शवको पहिचान ?

काठमाडौं । बाढी आयो, मान्छे बगायो । कति परिवारले आफन्त गुमाए, कति परिवार अझै आफ्ना मान्छेको खोजीमा छन् । बाढीमा परी क्षतविक्षत भएका शव तत्काल पहिचान हुने अवस्था नरहेपछि व्यवस्थापनको चुनौती देखाउँदै सरकारले शव जमिनमा व्यवस्थापन गरिरहेको छ । 

ती शव पहिचानका लागि अहिले परिवारका सदस्यहरूको डीएनए नमुना संकलन भइरहेको छ । पीडित परिवारका लागि शव पहिचान गर्ने यो नै अन्तिम आशा बनेको छ । तर शवको पहिचान कहिले हुन्छ?र आफन्तले शव कहिले पाउँछन भन्ने प्रश्नको उत्तर कसैसँग पनि छैन । 

बाढीमा ज्यान गुमाएकाहरूको सनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डिएनए परीक्षणका लागि नमुना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ । तर, अहिले प्रयोग भइरहेको स्रोत, साधन र प्रविधिमा मात्र भर परे शव सनाखत तत्काल सम्भव हुने अवस्था छैन ।सबै शवको डिएनए म्याचिङ गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने अवस्था बनेको छ ।हाल नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट डिएनए परीक्षण हुँदै आएको छ ।सामान्यतया एउटा परीक्षणको नतिजा आउन तीन सातासम्म लाग्छ । 

हाल प्रहरीको प्रयोगशालामा एक वर्षमा तीनदेखि चार सय डिएनए परीक्षण हुने गरेका छन् ।विधिविज्ञान प्रयोगशालाको क्षमता पनि प्रहरीकै हाराहारीमा छ ।अहिले पाँच हजारभन्दा बढी डिएनए परीक्षण गर्नुपर्ने आकलन गरिएको छ । 

यस्तो अवस्थामा परीक्षम मेशिन तथा जनशक्ति थप गरिए पनि सबै परीक्षण पूरा गर्न एक वर्षभन्दा बढी समय लाग्ने निश्चित छ । प्रहरीको एउटा मात्र प्रयोगशाला छ, त्यसमा पाँच जना मात्रै दक्ष जनशक्ति छन । अहिलेको जनशक्ति र स्रोत–साधनले २४ घण्टा नै काम गर्ने हो भने पनि सबै डिएनए परीक्षण एक वर्ष लाग्न सक्ने देखिन्छ ।

सनाखत हुन नसकेका शवबाट डिएनए नमुना लिएर अस्थायी व्यवस्थापन गर्न थालिएकोे छ ।त्यस्तै, सम्पर्कविहीन व्यक्तिका नौ सय आफन्तको पनि डिएनए परीक्षणको नमुना लिइसकेको छ ।प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्यको गत हप्ताको मंगलबारदेखि रगतको नमुना संकलन गर्न थालेको छ । 

उपत्यका बाहिरबाट पनि रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ । साथै,विदेशमा रहेकाको हकमा उतै डिएनए प्रोफाइलिङ गरेर इमेलमा पठाउन भनिएको छ ।डिएनए परीक्षणबाट शवको सनाखत गर्ने काम चुनौतीपूर्ण भए पनि स्रोत–साधनको अधिकतम प्रयोग गर्दै छिटो गर्ने प्रयास भइरहेको प्रहरीको भनाई छ । 

यसका लागि सम्बन्धित पक्षहरूसँग सहकार्य भइरहेको प्रहरी प्रवक्ता अबिनारायण काफ्ले बताउँछन् । डिएनए परीक्षणबाट शवको सनाखत गर्ने काम चुनौतीपूर्ण छ ।तर, उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरेर छिटोभन्दा छिटो काम सम्पन्न गर्ने प्रयास भइरहेको छ ।

सफ्टवेयरबाट हुनेछ म्याचिङ्

डिएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनियाँ टोली नेपाल आइसकेको छ । जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको छ । प्रोफाइलिङ गरिएको विवरण कोडिस नामक सफ्टवेयरमा राखिनेछ । उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्षअघि प्राप्त भएको हो ।तर, प्रयोगमा भने हालसालै मात्र ल्याइएको छ ।

चिकित्सकको टोलीले शवको पोस्टमार्टम गरेपछि प्याकिङ गरेर डिएनए नमुना निकाल्न प्रहरीलाई दिन्छ । प्रहरीले हड्डी, कपाल, दाँतलगायत अंगबाट डिएनए नमुना निकाल्छ । त्यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ । धेरैजसो मृतकको शवको हड्डीबाट नमुना संकलन गरिएको छ । हड्डीमाथि डिएनए परीक्षण गर्न अरूभन्दा थप समय लाग्छ । 

मृतकका परिवारका सदस्यको डिएनए प्रोफाइलिङ पनि कोडिस सफ्टवेयरमा राखिन्छ । सफ्टवेयरले शवबाट निकालिएको डिएनए र परिवारका सदस्यको डिएनएबिच म्याचिङ गरेपछि त्यसैका आधारमा शवको सनाखत गरिन्छ । 

एउटा शव बराबर दुईदेखि तीनजना परिवारका सदस्यको डिएनए प्रोफाइलिङ गर्नुपर्ने भएकाले जनशक्ति र स्रोत–साधनको थप अभाव रहेको प्रहरी प्रयोगशालाको भनाइ छ । यसरी डिएनएमार्फत शवको सनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्रमुख एसएसपी योगबहादुर पाललाई दिइएको छ । 

धेरै संख्यामा डिएनए परीक्षण गर्नुपर्ने भएकाले म्याचिङको काममा स्वाभाविक रूपमा समय लाग्ने छ । डिएनए किट पनि महँगो पर्ने भएकाले यो प्रविधि खर्चिलो समेत छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update