News 24 Television
‘टिएलसी’ स्थापना गरेर तत्काल पठनपाठन सञ्चालन गर्न माग

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको आकस्मिक बाढीले क्षतविक्षत बनाएको क्षेत्रमा विद्यार्थी बालबालिकाको पठनपाठन यथासिद्ध्र शुरु गर्न अभिभावकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । रसुवा, नुवाकोट र धादिङमा बाढीले शिक्षा क्षेत्रमा गरेको क्षतिको विवरण सार्वजनिक गर्दै अभिभावकहरुले तत्काल पठनपाठन सूचारु गर्नुपर्नेमा जोड दिएका हुन् । 

गत भदौ १० गतेको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीले पाँच जिल्लाका १५ वटा पालिका प्रभावित भएका छन् । ती १५ वटा पालिकाका चार दर्जन बढी वडाहरु प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी रसुवाको उत्तरगया गाउँपालिका बाढीले प्रभावित भएको छ ।

भोटेकोशी र त्रिशुली नदीय तटीय क्षेत्रका घर, विद्यालय, स्वास्थ्यचौकी, बैंक तथा वित्तीय संस्थाहरु समेत तहसनहस बनायो । बाढीले ठूलो परिमाणमा धनजनको क्षति हुनुका साथै पीडित परिवारहरु होल्डिङ सेन्टरमा रात बिताइरहेका छन् । 

बाढीले त्यस क्षेत्रका शिक्षण संस्थाहरु तहसनहस बनाएको भन्दै अभिभावकहरुले यथाशीघ्र पठनपाठन सूचारु गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।

शैक्षिक क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे जानकारी दिन नेपाल राष्ट्रिय अभिभावक संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यथाशिघ्र बालबालिकाको पठनपाठन सञ्चालनको वातावरण मिलाउन माग गरेका हुन् । 

अभिभावक गुमाएका बालबालिकाहरुलाई राज्यले अभिभाकत्व प्रदान गर्ने कुरा पहिलो कर्तब्य हुने उनीहरुको भनाई छ । अस्थायी सिकाई केन्द्र (टीएलसी) स्थापना गरि सम्भावित विभिन्न विकल्पहरु खोजेर भए पनि यथाशीघ्र पठनपाठन सुचारु गर्नुपर्नेमा उनीहरुको जोड छ । 

विद्यार्थीहरुसँग कापीकलम, किताव, झोला, ड्रेस केही पनि नभएको र बस्ने ठाउँसमेत नहुँदा होल्डिङ सेन्टरमा बसिरहेका अवस्था रहेकाले शिक्षण सिकाई प्रक्रियालाई सहजीकरण गर्न अभिभावकहरुले सरकारसँग आग्रह गरेका छन् । यतिबेला पीडित बालबालिकाहरुलाई राज्यको अपनत्व आवश्यक रहेको अभिभावकहरुको भनाई छ । 

बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुलाई मात्र नभई शिक्षक र अभिावकहरुलाई समेत यतिबेला मनोसामाजिक परामर्श आवश्यक रहेको संघका बाग्मती प्रदेश अध्यक्ष नीरबहादुर कार्की बताउँछन् । 

विछिप्त अवस्थामा रहेको मनस्थितिलाई सहज अवस्थामा ल्याउनका लागि हप्ता दश दिनको मनोसामाजिक परामर्श प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ । शैक्षिक सत्रलाई खेर जान नदिन शैक्षिक क्यालेण्डर अनुसार क्षति भएको शिक्षण सिकाईको परिपूर्ति गर्ने गरि अविलम्ब पठनपाठन सञ्चालन गरिनुपर्ने अभिभावकहरुको जोड छ ।   

बाढीले सबै ठाउँका शिक्षण संस्थाहरुमा भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । नेपाल राष्ट्रिय अभिभावक संघका अनुसार भदौ १० को बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै ४ सय ५१ जना विद्यार्थी र २३ जना शिक्षकहरु बेपत्ता छन् । 

बाढीले तीन जिल्लाका ८ वटा सामुदायिक विद्यालय तथा ३ वटा संस्थागत विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । प्रभावित जिल्लामा पठनपाठन सञ्चालन हुन नसकिरहेको छैन । रसुवाको विदुर नगरपालिकाले भने होल्डिङ सेन्टरका रुपमा प्रयोग भएका विद्यालय, पूर्ण क्षति भएका विद्यालय बाहेक अन्य विद्यालयको पठनपाठन बुधबारदेखि सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update