काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष भयो। गएको वरष भदै २३ गते भएको आन्दोलनले नेपालको राजनीतिमा ल्याएको वदलाव र परिस्थितिकाबीच जेन जेनजी आन्दोलनबारे कसले के भने ? यी चासोका विषय छन् ।
जेनजी आन्दोलनको एक वर्ष पुग्यो । संसद विघटनदेखि नयाँ सकारसम्म आइपुग्दा नेपालले भूराजनीतिक चलखेल र विभिन्न समस्याहरु भोगिसकेको छ। यस्तोमा एक वर्ष पुगेकै दिन नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जेनजी आन्दोलनबारे बोल्दै घुसपैठ भएको विषयमा कडा शब्दमा अभिव्यक्ति राखेका छन्।
प्रचण्डले जेनजी आन्दोलनका दुई दिनलाई छुट्टाछुट्टै हेर्नुपर्ने भनेका छन्। प्रचण्डले भदौ २३ गते जेनजी आन्दोलन भएको र सरकारी दमन चर्किएको भनेका छन्। तर, २४ गते जे भयो त्यो षडयन्त्र भएको र प्रतिवेदन सरकारले नै लुकाएको आरोप समेत लगाएका छन्। जेनजी आन्दोलनबारे यसरी अन्य नेताहरुले सार्वजनिक अभिव्यक्त भने दिएका छैनन्। उसोतः प्रमुख दलहरु कसले के भने ?
१. राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञप्ति नै जारी गर्दै नयाँ जागरणको विस्फोट भएको दिन भनेका छन्। रविले विज्ञप्तिमा भनेका छन्, ’वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालको सचेत युवा पुस्ता (जेन्जी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो।’
भदौ २३ र २४ अब कहिल्यै नदोहोरियोस भन्दै रविले एक थोपा पनि रगत नबगाई पार्टी निर्माण भएको स्मरण गरेका छन भने त्यो क्षणले पीडा दिने उल्लेख गरेका छन्। जवाफ दिने ठाउँमा उभिएको र नसके अरु कोहि नै उभिने भनेका रविले भनेका छन्, ’राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ’अस्वीकृति पत्र’ थियो। त्यो आन्दोलनले एउटा जबर्जस्त सन्देश दियोः यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।’
२. नेपाली कांग्रेस
जेनजी आन्दोलन युवापुस्ताको आक्रोश भएको दाबी गर्ने नेपाली कांग्रेसले भने यसबारे खास प्रतिक्रिया दिएको छैन्। कांग्रेस सभापति गगन थापाले औपचारिक स्टेटमेन्ट जारी गरेका छैनन्। भने आन्तरिक विवादमै उनी रुमल्लिएका देखिन्छन्।
३. नेकपा एमाले
एमालेले जेनजी आन्दोलनको एक वर्ष पुगेको र सन्तान गुमाएका परिवारका लागि भदौ २३ अझैं नसकिएको भनेको छ। ज्यान गुमाएकाको क्षतिपञर्ति कुनै शब्दबाट हुन नसक्ने भन्दै एमालेले भनेको छ, ’त्यतिबेला सरकारको नेतृत्वमा हाम्रो पार्टी थियो ।
यो सत्य हो, र हामी यस सत्यबाट पन्छिदैनौ। नागरिकको अमूल्य जीवन गुम्ने गरी घटेको त्यस घटनाप्रति हामी सधैँझैँ गम्भीर र दुःखी छौँ ।’ एमालेले थप्दै शान्तिपूर्ण भनिएको प्रदर्शनमा घुसपैठ भएको र त्यो कसले ग¥यो? भन्दै थपेको छ, ’त्यस दिनको शान्ति पूर्ण प्रदर्शनमा कसले, किन र कसरी घुसपैठ ग¥यो? कस–कसको कहाँ–कहाँ कमजोरी रह्यो, सत्य–तथ्य अवश्य बाहिर आउनेछ । दोषी जोसुकै भए पनि कानुनबमोजिम सजाय पाउनुपर्छ र पीडित न्यायबाट वञ्चित हुनु हुँदैन ।
आज त्यस गम्भीर घटनालाई सम्झने दिन हो। पीडितका कुरा सुन्ने, उनीहरूलाइ स्मरण गर्ने र भविष्यमा यस्तो पीडा फेरि कहिल्यै दोहोरिन नदिने दृढ सङ्कल्प गर्ने दिन हो।’ मानिसको ज्यानभन्दा ठूलो कुनै पनि नहुने भन्दै एमालेले श्रद्धाञ्जली समेत व्यक्त गरेको छ।
४. नेपाली कम्युनिस्ट पाटी
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जेनजी आन्दोलनलाई सहर्ष स्वीकार गर्ने दाबी गरेपनि पछिल्लो समय भदौ २४ गतेलाई षडयन्त्र भन्ने गरेका छन्। जेनजी अगुवाहरुले नै आन्दोलन हाइज्याक भएको कुरा स्मरण गर्दै प्रचण्डले यस्तो दाबी गर्ने गरेका छन्।
५. श्रम संस्कृति पार्टी
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलन सत्ताको खेल, कुर्सीको खेल मात्रै थियो भन्दै अवस्था बदलिन नसकेको दाबी गरेका छन्। हर्कले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दे भनेका छन्, ’शहीदले चाहे जस्तो सरकार बनेको होला तर शहीदले चाहे जस्तो सुशासन अझै आएको छैन ! देशको माटो र स्वधीनता बचाउन गरिएको त्यो आन्दोलनको उद्देश्य र मर्म एक दिन अवश्यक पूरा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु !’
६. राष्ट्रिय प्रजातन्त्र पार्टी
आन्तरिक विवादमा अल्झिएको राप्रपाले पनि जेनजी आन्दोलनबारे औपचारिक प्रतिक्रिया दिएको देखिन्न। राप्रपाले भदौ २३ लाई कसरी हेर्ने भन्ने दृष्टीकोण एकमतको भने देखिन्न। केहि समय पहिले राप्रपाबाट अलग हुने निर्णय गरेका रवीन्द्र मिश्रले त जेनजी आन्दोलनलाई विदेशी जासुसहरुको षडयन्त्र नै भनेका छन्। यसरी राप्रपाले पनि औपचारिक रुपमा प्रतिक्रिया दिएको देखिन्न।


