News 24 Television
एसियन हाइवेमा झापा प्रहरीको चालकमाथि परीक्षण

झापा । सार्वजनिक यातायातका चालक तथा सहचालकले मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने गरेको गुनासो बढेपछि झापामा ट्राफिक प्रहरीले मापसे तथा लापसे जाँचलाई तीव्रता दिएको छ । विशेषगरी एशियन हाइवे अन्तर्गतका सडकखण्डमा सार्वजनिक सवारीसाधनलाई लक्षित गरी प्रहरीले जाँच अभियान सञ्चालन गरिरहेको हो । 

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले सुरक्षित यात्राको वातावरण सहज नभएको गुनासो गर्दै आएका छन् । चालकले मादक वा लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न जाँच अभियानलाई प्रभावकारी बनाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीले सार्वजनिक यातायाताका साधन तथा यात्रुवाहक सवारीका चालक र सहचालकलाई रोकेर मापसे तथा लापसे परीक्षण गरिरहेको छ । परीक्षणले ट्राफिक दुर्घटना न्यूनीकरण गर्न थप मद्दत गरेको सवारी चालक बताउाछन् । 

पूर्वी नेपालको मुख्य आवागमन मार्गका रूपमा रहेको एशियन हाइवेमा पछिल्लो समय सवारीको चापसमेत बढ्दै गएको छ । यात्रुवाहक सवारीसाधनदेखि स्थानीय सार्वजनिक यातायातसम्म यही सडकखण्ड हुँदै सञ्चालन हुने भएकाले चालकको अवस्था र सवारी सञ्चालनको अनुशासनलाई थप प्रभावकारी बनाउने लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष दिपक कार्की बताउँछन् ।  

यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएको सार्वजनिक यातायातमा चालकको लापरबाहीका कारण हुने सम्भावित दुर्घटना रोक्न जाँचलाई नियमित र प्रभावकारी बनाउनुपर्ने यात्रुको माग छ । 

चालक तथा सहचालकले मादक पदार्थ वा लागुऔषध सेवन गरेको अवस्थामा सवारी सञ्चालन गर्न नपाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न ट्राफिक प्रहरी प्रतिबद्ध भएर लागि परिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख इनिस्पेक्टर सन्तोष राई बताउँछन् ।

शुक्रबार ३४ जनामा लापसे र मापसे परीक्षण गर्दा ३ जनामा पोजेटिभ रिपोर्ट आएको उनको भनाइ छ । 

सार्वजनिक यातायातलाई सुरक्षित बनाउन प्रहरीको जाँचसँगै यातायात व्यवसायी, चालक, सहचालक र यात्रु सबै पक्ष जिम्मेवार बन्नुपर्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्चार्ज डिएसपी निशेष चम्लागाई बताउँछन् ।। 

एशियन हाइवेमा सुरु गरिएको यो अभियानले सार्वजनिक यातायातमा यात्रुको सुरक्षा र सडक अनुशासन कायम गर्न कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा यसको निरन्तरता र कार्यान्वयनमा निर्भर रहनेछ । 

 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update