काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । शनिवार यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन बनेको हो । योसँगै नेपाल आगामी वर्ष हुने एक दिवसीय एशिया कपमा पुग्न सफल भएको छ ।
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बन्दै दोस्रो पटक एशिया कपमा छनोट भएको छ । शनिवार यूएईलाई हराउँदै नेपाल दोस्रो पटक एशिया कपमा छनोट भएको हो ।
यसअघिसन् २०२३ को फाइनलमा पनि नेपालले यूएईलाई नै पराजित गर्दै पहिलो पटक एसिया कपमा पुग्न सफल भएको थियो । शनिवार एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ४४ रनले हराएको हो ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपराले १०५ बलमा नटआउट १०० रन बनाए । त्यस्तै, सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३, खुजैमा तानवीरले १५, आयल अफजल खानले ९ तथा अदिव अस्बानीले रन बनाए ।
यूएईको छैटौँ विकेटका लागि राहुल चोपरा र सोहेब खानले ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बलिङतर्फ नेपालका करण केसीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ३१४ रनको बलियो स्कोर बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे । आसिफले १०६ बलमा १०२ रन बनाएर आउट भए । यस्तै, गुल्सन झाले अर्धशतक पार गर्दै ५२ रन जोडे । अर्का ओपनर अर्जुनकुमालले ४३ रन बनाएर रनआउट हुँदा रोहित पौडेलले ४० रन जोडे ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले १८, इशानले पाण्डे १३, सन्दीप जोराले ७ रन बनाउँदा बसीर अहमद १५ रनमा नटआउट रहे । बलिङतर्फ यूएईका इब्रार अहमदले ४, खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १÷१ विकेट लिएका थिए ।
एसीसी प्रिमियर कप च्याम्पियन बनेसँगै नेपाल दोस्रो पटक एशिया कपमा पुग्न सफल भएको हो । अब एशिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति राष्ट्रहरूसँग खेल्नेछ ।
सन्दिप बने उत्कृष्ट खेलाडी
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ को र्वोत्कृष्ट खेलाडी घोषित भए । नेपाललाई उपाधि जिताउन बलिङमा महत्वपूर्ण भूमिका खेलेका सन्दिपले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए । पहिलो खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका उनले लेसियाविरुद्ध १, साउदी अरेबिया विरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमान विरुद्ध ३ र फाइनलमा यूएईविरुद्ध १ विकेट लिएका हुन् ।
खेल शुरु हुनुअघि नै सन्दिपले भोटेकोशी बाढी प्रभावितहरुका लागि प्रिमियर कप क्रिकेट समर्पित हुने बताएका थिए । लामिछानेले प्रतियोगिताभर नेपाली टोलीको प्रदर्शनसँग जोडेर थप सहयोग रकम जुटाउने नयाँ पहलको सुरुआत गरेका थिए ।
उनले आफ्नो एक महिनाको पारिश्रमिक दैविप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्दै नेपाली टोलीको प्रदर्शनसँग जोडर थप सहयोग जुटाउने घोषणा गरेका थिए ।
एसीसी प्रिमियर कपका क्रममा नेपाली टोलीले लिने प्रत्येक विकेट र नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक चौका तथा छक्का (बाउन्ड्री) बापत व्यक्तिगत तर्फबाट १५ सय रुपैयाँका दरले रकम छुट्याउने सन्दिपले घोषणा गरेका थिए ।


