काठमाडौं । नेपाल र बंगलादेशबीच २०२७ मार्च २६, २८ र ३० मा कीर्तिपुरमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला हुने भएको छ । टेस्ट राष्ट्र बंगलादेश पहिलोपटक नेपालमा खेल्न आउँदा यो श्रृंखला नेपाली क्रिकेटका लागि एक्स्पोजर, क्षमता विकास र दीर्घकालीन क्रिकेट सहकार्यको महत्वपूर्ण अवसर बन्न सक्ने अपेक्षा क्यानल लिएको छ ।
नेपाल र बंगलादेशबीच आगामी २०२७ मार्च २६, २८ र ३० मा कीर्तिपुरमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला हुँदैछ । तीन दिवशीय सिरिज भन्दापनि तीन खेलको टी–२० आई श्रृंखलाको रुपमा हुन लागेको यो खेल नेपाली क्रिकेटका लागि सामान्य द्विपक्षीय सिरिज मात्रै होइन । टेस्ट मान्यता पाएको बंगलादेश पहिलोपटक नेपाल आएर खेल्न लागेकाले यो नेपालका लागि ऐतिहासिक अवसर पनि हो ।
क्यानका अनुसार श्रृंखला भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित हुनेछ । योसँगै बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूह र क्षमता अभिवृद्धिका कार्यक्रममा सहयोग गर्ने तथा भविष्यमा नेपाल ‘ए’ र बंगलादेश ‘ए’ बीचका सिरिजलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।
विश्व क्रिकेटमा बंगलादेशको स्थान
बंगलादेश सन् २००० देखि टेस्ट राष्ट्र हो । आइसीसीको वरीयतामा बंगलादेश टेस्टमा छैटौँ, एकदिवसीयमा नवौँ र टी–२० अन्तर्राष्ट्रियमा आठौँ स्थानमा छ । नेपालले आफ्नोभन्दा निकै लामो अन्तर्राष्ट्रिय अनुभव र उच्च स्तरको प्रतिस्पर्धा गरेको टोलीसँग खेल्दैछ । बंगलादेशले पछिल्ला वर्षमा ठूला टोलीलाई चुनौती दिन सक्ने क्षमता पनि देखाएको छ ।
२०२६ मा पाकिस्तानलाई घरेलु मैदानमा टेस्ट सिरिजमा २–० ले हराएको बंगलादेशले त्यसअघि पाकिस्तानमै पनि २–० को टेस्ट क्लिन स्वीप गरेको थियो । अझ ठूलो उदाहरण २०२६ अगस्टमा बंगलादेशले अस्ट्रेलियालाई उसकै भूमिमा पहिलो टेस्टमै ९ विकेटले पराजित गरेको थियो ।
यसले देखाउँछ नेपालले सामना गर्ने टोली बंगलादेश एसोसिएट क्रिकेटको सामान्य प्रतिद्वन्द्वी जस्तो होइन । बंगलादेशका खेलाडीको अका खास खुबी हो उनीहरूमध्ये केहीले विश्वका चर्चित फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । विशेषगरी मुस्ताफिजुर रहमान आइपीएलमा सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सलगायत टोलीबाट खेलिसकेका छन् ।
आइपीएल २०२५ मा दिल्लीले उनलाई पुनः अनुबन्ध गरेको थियो । २०२६ को पीएसलमा पनि बंगलादेशका मुस्ताफिजुर, पार्भेज हुसैन इमोन, शोरिफुल इस्लाम, नहिद राना र तान्जिद हसन जस्ता खेलाडी सहभागी भए ।
२०२६ मा ै विदेशी फ्रेन्चाइज लिगमा बंगलादेशका ६ खेलाडीले खेलेका थिए । यसको अर्थ नेपालका खेलाडीले राष्ट्रिय टोलीका खेलाडीलाई होइन विश्वस्तरीय फ्रेन्चाइज क्रिकेटको अनुभव बोकेका खेलाडीको निर्णय क्षमता, दबाब व्यवस्थापन र खेलको गतिलाई नजिकबाट अनुभव गर्नेछन् ।
नेपालले पाउने फाइदा
बंगलादेशसँगको खेलमा नेपालले पाउने सबैभन्दा ठूलो उपलव्धि हो एक्स्पोजर । नेपालका ब्याटरले अन्तर्राष्ट्रिय स्तरको तीव्र बलिङ, विविधतापूर्ण स्पिन र फिल्डिङको सामना गर्नेछन् । बलरले पनि उच्चस्तरका ब्याटरविरुद्ध योजना लागू गर्ने अवसर पाउनेछन् ।
त्यस्तै यो खेलमा नेपाली खेलाडीको विश्वास र प्रतिस्पर्धात्मक क्षमता परीक्षण हुने भने कोचिङ स्टाफले नेपाली खेलाडीको कमजोरी स्पष्ट रूपमा पहिचान गर्न सक्नेछ ।
यो खेलसँगै नेपालले पाउने फाइदा भनेको क्रिकेट कूटनीति र दीर्घकालीन सहकार्य पनि हो । महिला क्रिकेट, उमेर समूह, क्षमता विकास र ‘ए’ टोलीका खेलस्तर उकास्न पनि बंगलादेशले सहयोगड गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल ‘ए’ टोलीलाई नियमित रूपमा बलिया विपक्षीसँग खेलाउने वातावरण बनेमा राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी तयार पार्ने बाटो बलियो हुनेछ ।
बंगलादेशविरुद्ध नेपालको रणनीति
नेपालले बंगलादेशसँग खेल्दा दबाबमा जानुभन्दा तीन खेललाई तीन फरक रुपमा टेस्ट गर्दा उचित हुन्छ । पहिलो खेलमा विपक्षीका बलर र ब्याटरको कमजोरी पहिचान गर्ने, दोस्रोमा त्यसअनुसार रणनीति परिवर्तन गर्ने र तेस्रोमा उत्कृष्ट संयोजनसहित मैदानमा उत्रिने योजना नेपाली टिमका लागि उपयुक्त हुन सक्छ ।
ब्याटिङमा सुरुआती विकेट जोगाउँदै पावरप्लेमा अवसर लिनु, स्पिनविरुद्ध स्ट्राइक रोटेट गर्नु र अन्तिम पाँच ओभरका लागि विकेट बचाउनु महत्वपूर्ण हुनेछ । बलिङमा मुस्ताफिजुरजस्ता बलरको कटर, स्लोअर र योर्कर सामना गर्ने विशेष तयारी हुनु पर्छ ।
बंगलादेशका प्रमुख ब्याटरविरुद्ध एउटै योजना दोहो¥याउनुको साटो मैदान, विकेट र खेलको अवस्थाअनुसार फिल्डिङ परिवर्तन गर्नुपर्छ । यो खेलका लागि नेपालको बलियो पक्ष भनेको घरेलु मैदान र समर्थक पनि हो
सिरिजभन्दा ठूलो अवसर
नेपालले भरखरै एसियन प्रिमियर कपको विजेता बन्दै नेपालले दोस्रोपटक एसिया कप खेल्दैछ । २०२७ मा बंगलादेशमै हुने एसिया कपको तयारीको रुपमा पनि नेपालले यो खेललाई लिन सक्छ । त्यसैले बंगलादेशसँगको खेल नेपालका लागि हारजितको भन्दापछि टेस्ट राष्ट्रसँग नियमित प्रतिस्पर्धाको तहमा लैजाने अवसरका रुपमा पनि लिन सकिछ ।
कीर्तिपुरमा हुने यी तीन खेल नेपालका लागि स्कोरबोर्डमा तीन नतिजा थप्ने अवसर मात्र हुँदैनन खेलाडीको स्तर मापन गर्ने, कमजोरी सुधार्ने, नयाँ प्रतिभा खोज्ने र बंगलादेशसँग दीर्घकालीन क्रिकेट सम्बन्ध निर्माण गर्ने अवसर पनि हुन् ।


