कैलाली । सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, सिर्जनशील सोच र नयाँ व्यावसायिक अवधारणालाई लगानीयोग्य उद्यममा रूपान्तरण गर्ने उद्देश्यले ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन–२०८३’ आयोजना हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कैलाली बहुमुखी क्याम्पसस्थित इन्क्युबेसन सेन्टरको आयोजनामा हुने सम्मेलनमा नवउद्यमी, विद्यार्थी, युवा तथा व्यवसायिक क्षेत्रमा नयाँ सोच भएका व्यक्तिहरूलाई सहभागी गराइने जनाईएको छ ।
सुदूरपश्चिममा लुकेका स्थानीय सम्भावना, सीप र सिर्जनशील सोचलाई लगानीयोग्य व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यले सुदूरपश्चिम नवउद्यमी सम्मेलन–२०८३ आयोजना हुने भएको छ ।
स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म भन्ने नारासहित कात्तिक १३, १४ र १५ गते कैलाली बहुमुखी क्याम्पस, धनगढीमा सम्मेलन आयोजना गर्न लागिएको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरले पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिएको हो ।
राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको सहकार्यमा सम्मेलन सञ्चालन हुनेछ । कृषि तथा कृषि प्रविधि, पर्यटन, प्राकृतिक उत्पादन, डिजिटल तथा सूचना प्रविधि, खाद्य तथा हस्तकला, सर्कुलर इकोनोमी, शिक्षा र स्वास्थ्य केयर इकोनोमीलगायत क्षेत्रका व्यावसायिक अवधारणालाई प्राथमिकता दिइनेछ ।
सम्मेलनमा विद्यार्थी, युवा उद्यमी, व्यवसाय सुरु गर्न चाहने युवा, प्राविधिक तथा व्यावसायिक सीप भएका व्यक्ति र वैदेशिक रोजगारीबाट फर्किएका युवाले सहभागिता जनाउन सक्नेछन् । ८८ वटै स्थानीय तहबाट स्थानीय समस्या, बजारको अवसर वा आफ्नै सीपलाई व्यवसायमा बदल्ने योजना भएका व्यक्तिले प्रस्ताव पेश गर्न सक्नेछन् ।
इन्क्युबेसन सेन्टरले करिब ७० युवाका व्यावसायिक अवधारणा छनोट गरी प्रशिक्षणदेखि लगानीको पहुँचसम्म जोड्ने तयारी गरेको छ । यसअघि २७ विद्यार्थीलाई तालिम दिई पाँच लाख रुपैयाँसम्म बीउपूँजी उपलब्ध गराइएको थियो ।
यसपटक सम्मेलनमा व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउने योजनासमेत अघि सारिएको छ । बैंकबाट सहुलियत ऋण, उद्यमीको आफ्नै लगानी र इन्क्युबेसन सेन्टरको सहयोगसहित त्रिपक्षीय सहकार्यको अवधारणा अघि बढाइएको हो ।
छनोट भएका सम्भावनायुक्त उद्यमलाई ९० दिने उद्यम विकास कार्यक्रममा जोडिनेछ । ग्राहक परीक्षणदेखि पहिलो बिक्रीसम्म व्यवसाय दर्ता, नमुना उत्पादन, लागत तथा मूल्य निर्धारण, ब्रान्ड निर्माण, लेखा व्यवस्थापन र लगानीकर्तासँग पहुँचका विषयमा निरन्तर मार्गदर्शन दिइने आयोजकले जनाएको छ ।


