काठमाडौँ । प्रधानमन्त्री बालेन शाह हाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका भ्रमणमा छन् । उनको यो पहिलो विदेश भ्रमण हो । गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाहको पहिलो गन्तव्य अमेरिका बनेसँगै, नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण अनिवार्य रूपमा भारतबाटै सुरु गर्नुपर्ने परम्परागत मान्यता तोडिएको छ । यद्यपि, पहिलो भ्रमण अमेरिकाबाट सुरु गरे पनि प्रधानमन्त्री शाह आगामी मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारी भइरहेको छ । यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरले उनलाई भारत भ्रमणको निम्तो पठाइसकेका छन् । हालै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण र अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणबारे उच्च तहमा छलफल भइसकेको छ ।
परम्परा तोड्दै अमेरिकाबाट पहिलो भ्रमण
विगतमा अपवाद बाहेक नेपालका प्रधानमन्त्रीहरूले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने गरेका थिए । वर्तमान सरकारले कुन देशबाट भ्रमण सुरु गर्ला ? भन्ने कौतुहलतामाझ, बाढीपहिराको विषम परिस्थिति र राष्ट्रसंघीय महासभाका कारण संयोगवश नै भए पनि प्रधानमन्त्री शाहले अमेरिकालाई पहिलो गन्तव्य बनाए । अब भने उनको दोस्रो विदेश भ्रमणको गन्तव्य भारत नै तय हुने देखिएको हो । परराष्ट्र मन्त्रालयको तयारीअनुसार आगामी मंसिरको पहिलो साता हुने यो भ्रमणमा द्विपक्षीय हित र चासोका विषयहरूमा ठोस छलफल हुनुपर्ने अपेक्षा गरिएको छ ।
बालेनले उठाउनुपर्ने प्रमुख ६ विषयहरु के–के ?
१. सीमा विवाद र सार्वभौमिकताको मुद्दा
प्रधानमन्त्री बालेन शहले लामो समयदेखि बल्झिँदै आएको नेपाल–भारत सीमा विवादलाई यो भ्रमणको प्रमुख मुद्दा बनाउनुपर्ने देखिन्छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले नेपालको सहमतिबिना व्यापारिक नाका सञ्चालन गर्नु नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथिको चुनौती हो । सीमा समस्या सदाका लागि हल गर्न यो उपयुक्त अवसर हुन सक्छ । नेपालले यसअघि उक्त क्षेत्रलाई नेपालमा समावेश गरेर नक्सा नै जारी गरेपनि व्यवहारिक रुपमा नेपालको हुन सकेको छैन ।
२. वातावरणीय एवं जलवायु न्यायको मुद्दा
औद्योगिक राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण हिमाली क्षेत्रले भोगिरहेको जलवायु परिवर्तनको असर र हालैको भोटेकोशी बाढी जस्ता विपद्हरू यसका ज्वलन्त उदाहरण हुन्। जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा परिरहेको असर र यसको क्षति न्यूनीकरणका लागि नेपाल र भारतबीच संयुक्त पहल र सहकार्यको ठोस एजेन्डा बन्नुपर्छ । यो मुद्दा पनि बालेनले आफ्नो भारत भ्रमणका क्रममा राख्नसके दुई पक्षिय हित हुने देखिन्छ ।
३. बाढी तथा प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी मुद्दा
नेपाल–भारत सीमा क्षेत्रमा हुने डुबान, बाढी र नदी नियन्त्रणका लागि दीर्घकालीन प्राविधिक सहकार्य आवश्यक छ । विशेष गरी सीमा क्षेत्रमा भारततर्फबाट निर्माण गरिएका एकतर्फी बाँधहरुका कारण नेपाली भूमि डुबानमा पर्ने समस्याको स्थायी समाधान खोजिनुपर्छ । कोशी महाकाली तथा कर्णाली नदी थुनिदा नेपालतर्फ प्रत्येक वर्ष हजारौँ नागरिक प्रभावित हुँदै आएका छन् ।
४. विद्युत् व्यापार र ऊर्जा क्षेत्रमा नयाँ समझदारी
नेपालमा उत्पादित जलविद्युत् भारत हुँदै बंगलादेशसम्म सहज र निर्वाध रूपमा निर्यात गर्नका लागि दीर्घकालीन तथा व्यावहारिक वातावरण बनाउनुपर्ने आवश्यकता छ । यसअघि भएका समझदारीहरूको स्थायित्व र भविष्यमा आउन सक्ने अवरोधहरू हटाउन कूटनीतिक पहलको खाँचो देखिन्छ ।
५. व्यापार घाटा न्यूनीकरण र यातायात पूर्वाधारमा समझदारी
विशाल व्यापार घाटा कम गर्न नेपाली उत्पादनहरूले भारतीय बजारमा सहज पहुँच पाउनुपर्ने विषय पनि नेपालले उठाउनुपर्ने छ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने ठोस योजना बनाउने एजेण्डा पनि प्रधानमन्त्री बालेनले पेश गर्न सके नेपालका लागि हित हुने देखिन्छ । साथै, जनकपुर–अयोध्या यात्री रेल सेवा जस्ता धार्मिक तथा सांस्कृतिक सञ्जालहरूको विस्तारमा जोड दिनुपर्छ । नेपाल भारतबीच समाजिक, सांस्कृतिक र धार्मिक हिसाबले समानता हुँदा अवागमनमा सहजता आवश्यक छ । यसले पनि दुई पक्षिय हित गर्ने देखिन्छ ।
६. पारवहन सुविधा र तेस्रो मुलुकसँगको व्यापार मुद्दा
एक भूपरिवेष्ठित राष्ट्रका रूपमा नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि पाउनुपर्ने जलमार्ग र स्थल मार्गको सहज पहुँच तथा पारवहन सुविधा थप प्रभावकारी बनाउने विषयमा गम्भीरतापूर्वक कुरा उठाइनुपर्छ । किनकी नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रले तेस्रो मुलुकसँग व्यापारका लागि जल र स्थलमार्गको लागि सहजता प्राप्त गर्ने अधिकार बोकेको छ । यसको सहजिकरणका लागि भारत नेपालप्रति केही लचिलो हुनुपर्ने आवश्यकता छ ।
यदि भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालको पारावह र तेस्रो मुलुकसँगको व्यापार सुविधासहितको विविध विषयमा घनीभूत छलपल गर्दै समझदारी गर्नसके नेपालको वृहत्तर हित हुने देखिन्छ । झण्डै दुई तिहाइँ नजिकको वर्तमान सरकारप्रति नागरिकका थुप्रै अपेक्षा छन् । जसमा छिमेकी राष्ट्रसँगको सन्तुलित र सौहार्दतपूर्ण सम्बन्ध पनि हो । बालेन शाहको आगामी भारत भ्रमणले विगतको विमति तथा असमझदारीलाई चिर्दै कुटनीतिक क्षेत्रमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।


