झापा । दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपालको पुर्वी नाका स्थित मेचीनगरको काँकरभिट्टा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला सीमा नाका हुँदै नेपाल भित्रिने तथा बाहिरिने यात्रुको चाप बढ्ने भएकाले उनीहरूलाई आवश्यक सूचना, सुरक्षा र सहजीकरण उपलब्ध गराउन सहायता कक्ष सञ्चालन गरिएको हो ।
काँकरभिट्टा बसपार्क क्षेत्रमा स्थापना गरिएको सहायता कक्षबाट यात्रुलाई सवारीसाधन, गन्तव्य, भाडादर तथा सुरक्षासम्बन्धी जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यात्राका क्रममा समस्या परेका यात्रुले सहायता कक्षमार्फत यातायात व्यवसायी तथा ट्राफिक प्रहरी वा जनपथ प्रहरीसँग सम्पर्क गर्न सक्नेछन् । यसले यात्रुलाई थप सहज महसुस हुने यातायात व्यवसायी बिष्णुकुमार श्रेष्ठ बताउँछन् ।
ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण राईका अनुसार चाडपर्वमा यात्रुको आवागमन बढेसँगै सवारीसाधनको चाप पनि बढ्ने भएकाले यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
यात्रुलाई तोकिएको भाडादरभन्दा बढी रकम नलिन, क्षमताभन्दा बढी यात्रु नराख्न र सवारीसाधन सुरक्षित रूपमा सञ्चालन गर्न यातायात व्यवसायी तथा चालकलाई सचेत गराइएको उनले बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निशेष चापागाईंले चाडपर्वका बेला यात्रुको सुरक्षा र सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन प्रहरी परिचालन बढाइएको बताए ।
मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले चाडपर्वका बेला काँकरभिट्टा हुँदै ठूलो संख्यामा यात्रु आवतजावत गर्ने भएकाले सहायता कक्ष सञ्चालन उपयोगी हुने बताए । यात्रुलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउनु स्थानीय तह, प्रहरी र यातायात व्यवसायी सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
चाडपर्वमा रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि बाहिर रहेका नागरिक घर फर्किने क्रम बढ्ने भएकाले काँकरभिट्टालगायत पूर्वी नाकामा यात्रुको चाप बढ्ने गरेको छ ।
यात्रुको चापसँगै सार्वजनिक सवारीमा टिकट अभाव, बढी भाडा असुली, अव्यवस्थित पार्किङ र सवारी जामजस्ता समस्या देखिने गरेका छन् । यसैलाई मध्यनजर गर्दै काँकरभिट्टा बसपार्क संगै जिल्लाका विर्तामोड, दमकलगायतका बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन यात्रु स्वयं पनि सचेत हुन जरुरी छ ।


