News 24 Television
रेमिट्यासको रकम पशुपालनदेखि स्वरोजमुलक पेशामा

मकवानपुर । वैदेशिक रोजगारी नेपाली परिवारको आर्थिक परिवर्तनको एउटा महत्वपूर्ण आधार बनेको छ । विदेशमा कमाएको रकम स्वदेशमै सही सदुपयोग गर्न सके त्यसले परिवारको जीवनस्तर उकास्नुका साथै आयआर्जन र आत्मनिर्भरताको बाटो समेत खोल्न सक्छ भन्ने उदाहरण धेरै छन् । 

विदेशको कमाइलाई परिवारले स्वदेशमै लगानी गरेर उद्यम र व्यवसायमा जोडिएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ गुवाबारीका राजेन्द्र अधिकारी घरमै बसेर खेतीकिसानी गर्दै आएका थिए । 

सामान्य खेतीपातीबाट हुने आम्दानीले घरखर्च चलाउन र आर्थिक अवस्था सुधार गर्न सहज नभएपछि उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । तीन वर्षअघि रोजगारीका लागि कतार पुगेका उनले पहिलोपटक श्रीमती कलावती महताको नाममा रेमिटमार्फत पैसा पठाए । 

पठाएको पैसा निकालेर ऋण तिर्न राजेन्द्रले कलावतीलाई भनेका थिए । तर, उनले भने उक्त पैसाले ऋण तिर्नुको सट्टा दुईवटा दुहुनो गाई किनिन् । दुईवटा गाईको दूध बेचेर उनले अर्को एउटा गाई पनि थपिन् । 

विदेश जाँदा राजेन्द्रले लिएको ऋण पनि त्यही गाईको दूध बेचेर चुक्ता गरिन् । सुरुमा श्रीमान्ले पठाएको थोरै रकमले गाईपालन सुरु गरेकी कलावतीले अहिले छोरीको विद्यालय खर्चदेखि घरखर्च सबै जुटाउन सफल भएकी छिन् । 

छोराको वैदेशिक रोजगारी यात्रापछि परिवारमा आएको परिवर्तनले राजेन्द्रकी आमा सन्तकुमारी पनि दंग छिन् । तीन वर्षको अवधिमा छोराले विदेशमा कमाएको रकम बचत भएको छ भने बुहारीले थोरै लगानीबाट सुरु गरेको गाईपालन व्यवसायले अहिले परिवारको दैनिक खर्च धानिरहेको छ । पहिले घरखर्च चलाउनै मुस्किल हुने परिवारमा अहिले नियमित आम्दानी हुन थालेपछि सन्तकुमारी पनि खुसी छिन् ।

यता, हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीकी उर्मिला अधिकारी लामो समयदेखि सौन्दर्य व्यवसायमा आबद्ध छिन् । उनले सुरुमा घरकै एउटा सानो कोठाबाट ब्युटीपार्लर सञ्चालन गरेकी थिइन् । 

विस्तारै ग्राहकको संख्या बढ्दै गएपछि व्यवसाय विस्तार गर्नुपर्ने आवश्यकता महसुस भयो । समयसँगै ग्राहकको माग र सौन्दर्य सेवाप्रतिको आकर्षण बढ्दै जाँदा उनले पनि आफ्नो व्यवसायलाई थप व्यवस्थित र फराकिलो बनाउने सोच बनाइन् । उनको व्यवसाय विस्तार गर्ने सोचलाई साकार पार्न श्रीमान् रोहित गौतमले साथ दिए । दुबईमा वैदेशिक रोजगारी गरेर कमाएको रकम उनले श्रीमतीको व्यवसाय विस्तारका लागि पठाइदिए । 

श्रीमान्को कमाइ र साथले उर्मिलाको व्यवसाय विस्तार गर्ने सपना पूरा हुने बाटो खुल्यो । अहिले उर्मिला आफैँ एक स्थापित सौन्दर्य व्यवसायीका रूपमा परिचित छिन् । घरको एउटा सानो कोठाबाट सुरु गरेको उनको व्यवसायले विस्तार पाउँदै गएको छ । 

आफ्नै सीप, मेहनत र श्रीमान्को वैदेशिक रोजगारीबाट प्राप्त आर्थिक सहयोगले उनलाई आत्मनिर्भर बन्न मात्र होइन, अरूका लागि पनि रोजगारीको अवसर सिर्जना गर्ने अवस्थामा पु¥याएको छ ।

वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्थामा ल्याउन सक्ने सकारात्मक परिवर्तनका यी प्रतिनिधि उदाहरण हुन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्सले परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । 

विदेशमा कमाएको रकम घरखर्च र ऋण तिर्नमा मात्रै सीमित नराखी कृषि, पशुपालन तथा साना व्यवसायमा लगानी गर्न सके त्यसले स्वदेशमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न सक्छ । यसले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत योगदान पु¥याउन सक्ने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update