काठमाडौं । पत्रकार धरपकड र संचारगृहभित्रै प्रवेश गरि प्रहरीले मिडियामाथि गरेको अनाधिकृत हस्तक्षेपकाविरुद्ध मिडिया अलाइन्स नेपालले विरोध जनाएको छ । शुक्रबार प्रहरीले भिभिन्न मिडिया आबद्ध पत्रकारको पक्राउ र केही संचार गृहका न्यूज रुममै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रयास गरेको विषयलाई लिएर एक विज्ञप्ति जारी गर्दै मिडिया एलाइन्सले गम्भीर आपत्ति जनाएको हो ।
अलाइन्सले सञ्चार गृह केवल एउटा कार्यालय वा व्यावसायिक प्रतिष्ठान मात्र नभइ नागरिकको सूचनाको हक सुनिश्चित गर्ने, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने र राज्यका गतिविधिमाथि निगरानी राख्ने सार्वजनिक उत्तरदायित्व बोकेको संस्था भएको उल्लेख गरेको छ । सञ्चार गृहको कार्यक्षेत्र, सम्पादकीय स्वतन्त्रता र संस्थागत स्वायत्तताको सम्मान गर्नु राज्यका सबै निकायको दायित्व रहेको समेत मिडिया एलाइन्सले स्मरण गराएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको प्रहरी प्रशासनले आफ्नो अधिकार प्रयोग गर्दा प्रचलित कानुनी प्रक्रिया, संवैधानिक व्यवस्था र प्रेस स्वतन्त्रताका आधारभूत मान्यताको पूर्ण पालना गर्नुपर्छ। कुनै पनि सञ्चार गृहमा कानुनी आधार, आवश्यक प्रक्रिया र उचित औचित्यबिना प्रवेश गर्ने, सञ्चारकर्मीलाई त्रसित पार्ने वा समाचार संकलन, सम्पादन तथा प्रसारण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन।’
मिडिया अलाइन्स नेपालले सरकारसँग विभिन्न ४ बुँदे मागसमेत अघि सारेको छ
१. सञ्चार गृहमा प्रहरी प्रवेश तथा अनुसन्धानका क्रममा प्रचलित कानुन र निर्धारित प्रक्रियाको पूर्ण पालना सुनिश्चित गरियोस्।
२. सञ्चार गृहको सम्पादकीय स्वतन्त्रता, संस्थागत स्वायत्तता र व्यावसायिक मर्यादामाथि हस्तक्षेप हुने कुनै पनि गतिविधि तत्काल रोकियोस्।
३. सञ्चारकर्मीलाई आफ्नो पेसागत जिम्मेवारी निर्वाध रूपमा निर्वाह गर्ने वातावरण र सुरक्षा सुनिश्चित गरियोस्।
४. सञ्चार गृहमा भएको घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी तथा संस्थागत जवाफदेहिता सुनिश्चित गरियोस्।
प्रेस विज्ञप्ति
सञ्चार गृहभित्र प्रहरीको निर्बाध प्रवेश तथा सञ्चार संस्थाको व्यावसायिक र सम्पादकीय कार्यक्षेत्रमा हुन सक्ने हस्तक्षेपप्रति Media Alliance Nepal को गम्भीर ध्यानाकर्षण भएको छ।
सञ्चार गृह केवल एउटा कार्यालय वा व्यावसायिक प्रतिष्ठान मात्र होइन, यो नागरिकको सूचनाको हक सुनिश्चित गर्ने, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने र राज्यका गतिविधिमाथि निगरानी राख्ने सार्वजनिक उत्तरदायित्व बोकेको संस्था हो। त्यसैले सञ्चार गृहको कार्यक्षेत्र, सम्पादकीय स्वतन्त्रता र संस्थागत स्वायत्तताको सम्मान गर्नु राज्यका सबै निकायको दायित्व हो।
कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको प्रहरी प्रशासनले आफ्नो अधिकार प्रयोग गर्दा प्रचलित कानुनी प्रक्रिया, संवैधानिक व्यवस्था र प्रेस स्वतन्त्रताका आधारभूत मान्यताको पूर्ण पालना गर्नुपर्छ। कुनै पनि सञ्चार गृहमा कानुनी आधार, आवश्यक प्रक्रिया र उचित औचित्यबिना प्रवेश गर्ने, सञ्चारकर्मीलाई त्रसित पार्ने वा समाचार संकलन, सम्पादन तथा प्रसारण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन।
कानुनभन्दा माथि कोही पनि छैन भन्ने मान्यतासँगै कानुन कार्यान्वयन गर्ने निकाय पनि कानुनी सीमाभित्रै रहनुपर्छ। कुनै घटनाको अनुसन्धान वा कानुनी कारबाही आवश्यक भएमा त्यसका लागि निर्धारित कानुनी प्रक्रिया अवलम्बन गरिनुपर्छ। प्रेस स्वतन्त्रताको आवरणमा गैरकानुनी गतिविधिलाई संरक्षण गर्न मिल्दैन, तर कानुन कार्यान्वयनको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने छुट पनि कसैलाई छैन।
Media Alliance Nepal सञ्चार गृहको संस्थागत मर्यादा, पत्रकार तथा सञ्चारकर्मीको पेसागत सुरक्षा र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका अनुचित हस्तक्षेपको विरोध गर्दछ।
यस सन्दर्भमा हामी नेपाल सरकार, गृह मन्त्रालय तथा प्रहरी प्रशासनसँग निम्न माग गर्दछौँ :
१. सञ्चार गृहमा प्रहरी प्रवेश तथा अनुसन्धानका क्रममा प्रचलित कानुन र निर्धारित प्रक्रियाको पूर्ण पालना सुनिश्चित गरियोस्।
२. सञ्चार गृहको सम्पादकीय स्वतन्त्रता, संस्थागत स्वायत्तता र व्यावसायिक मर्यादामाथि हस्तक्षेप हुने कुनै पनि गतिविधि तत्काल रोकियोस्।
३. सञ्चारकर्मीलाई आफ्नो पेसागत जिम्मेवारी निर्वाध रूपमा निर्वाह गर्ने वातावरण र सुरक्षा सुनिश्चित गरियोस्।
४. सञ्चार गृहमा भएको घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी तथा संस्थागत जवाफदेहिता सुनिश्चित गरियोस्।
लोकतन्त्रमा स्वतन्त्र प्रेस राज्यको प्रतिपक्ष मात्र होइन, नागरिकको आवाज र सार्वजनिक जवाफदेहिताको महत्वपूर्ण आधार पनि हो। त्यसैले सञ्चार गृहलाई भय, दबाब र हस्तक्षेपमुक्त राख्नु राज्यको संवैधानिक तथा लोकतान्त्रिक दायित्व हो।
प्रेस स्वतन्त्रताको रक्षा गर्नु सञ्चार क्षेत्रको मात्र सरोकार होइन, लोकतन्त्रको रक्षासँग जोडिएको साझा दायित्व हो।
Media Alliance Nepal
काठमाडौं
मिति : २०८३/०७/१४


