News 24 Television
रेमिट्यान्सले फे¥यो जीवनशैली, घरजग्गादेखि आफ्नै व्यवसायसम्म

सिन्धुपाल्चोक । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले ग्रामीण भेगका धेरै परिवारको आर्थिक अवस्था बदलिएको छ । घरखर्च चलाउनै धौधौ पर्ने परिवारले अहिले घर निर्माण, व्यवसाय सञ्चालन र छोराछोरीको शिक्षामा लगानी गर्न सकेका छन् । 

रेमिट्यान्सले आर्थिक अवस्था मात्रै होइन, परिवारको जीवनशैली र भविष्यप्रतिको आशासमेत बदलिरहेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमबास सिरान्चौरकी कामना तामाङका लागि पछिल्लो एक दशक संघर्ष र जिम्मेवारीको समय बन्यो । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि घरपरिवार सम्हाल्ने, किराना पसल चलाउनेदेखि तीन छोराछोरीको पढाइ र हेरचाह गर्ने जिम्मेवारी उनकै काँधमा आयो । तर विदेशबाट श्रीमानले पठाउने नियमित आम्दानीले उनको संघर्षलाई सहज बनाउँदै लग्यो । 

अहिले उनी परिवारको आर्थिक व्यवस्थापनदेखि व्यवसाय सञ्चालनसम्म आफैँ सम्हालिरहेकी छन् ।
श्रीमान् सुशील तामाङ वैदेशिक रोजगारीमा जानुअघि कामनाको परिवारलाई सामान्य घरखर्च चलाउनसमेत धौधौ थियो । नेपालमै काम गरेर परिवार पाल्दै आएका सुशीललाई ठूलो परिवारको जिम्मेवारी पूरा गर्न कठिन भएपछि रोजगारीका लागि कतार जाने निर्णय गरे । कतारमा १० वर्ष बिताएपछि उनी रोजगारीकै सिलसिलामा दक्षिण कोरिया पुगे । 

विदेशबाट नियमित पैसा आउन थालेसँगै परिवारको आर्थिक अवस्थामा क्रमशः सुधार हुँदै गयो । अहिले परिवारले घरजग्गा जोडेको छ भने कामनाले आफ्नै किराना पसल सञ्चालन गरेर आर्थिक गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेकी छन् ।

वैदेशिक रोजगारीले सुशीललाई परिवारबाट भौगोलिक रूपमा टाढा बनाए पनि छोराछोरीप्रतिको जिम्मेवारी भने टाढिएको छैन । उनी बेला–बेला घर आउँछन् । विदेशमै रहँदा पनि भिडियो कलमार्फत छोराछोरीसँग नियमित कुराकानी गर्छन् । 

उनीहरूको पढाइ, विद्यालयको गतिविधि र भविष्यबारे चासो राख्छन् । प्रविधिले टाढिएको परिवारलाई भावनात्मक रूपमा जोड्न पनि सहयोग गरिरहेको छ ।

कामना तामाङको परिवारमा आएको परिवर्तन एउटा परिवारको आर्थिक सुधारको विषय मात्रै होइन वैदेशिक रोजगारीले ग्रामीण समाजमा पारेको व्यापक प्रभावको प्रतिनिधि उदाहरण पनि हो । आइएमई रेमिट लगायतका विदेशबाट आउने रेमिट्यान्सले गाउँका धेरै परिवारको दैनिक जीवनशैली फेरिएको छ ।

छोराछोरीको शिक्षामा लगानी, घरजग्गा खरिद, आवास सुधार र व्यवसाय सञ्चालनसम्म रेमिट्यान्सको योगदान देखिन्छ । यसले महिलालाई घरको आर्थिक व्यवस्थापनमा सक्रिय बनाउनुका साथै आत्मनिर्भरता र सामाजिक सहभागिताको अवसरसमेत बढाएको छ । विदेशमा पसिना बगाउनेको कमाइले गाउँका घरमा चुलो मात्र बलेको छैन । 

बालबालिकाका सपना, परिवारको भविष्य र महिलाको आत्मविश्वासलाई समेत नयाँ आधार दिएको छ । 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update