काठमाडौं । के एमालेभित्रको विद्रोह साँच्चै समाप्त भएकै हो त ? या ठूलै राजनीतिक आँधी आउनुअघिको भयानक सन्नाटा मात्र हो ? अथवा ओलीको विकल्प खोज्नेहरूले आत्मसमर्पण गरेकै हुन ? अनि ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन, ओलीको रक्षाकवच हो कि नयाँ विद्रोहको बारुद ?
बाहिर हेर्दा लाग्छ, एमालेमा अब ओली राज निर्विकल्प भइसक्यो । गत फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको धक्कापछि नेतृत्व पुनर्गठनको चर्को बहस छेड्नेहरू आज अचानक मौन छन् । अध्यक्ष ओलीले पार्टीभित्रको असन्तुष्टिको आगो निभाइसकेको ठानेका छन् । तर च्यासलको बन्द कोठाभित्रको सत्यता भने अर्कै छ ।
एमालेभित्र नेतृत्व परिवर्तनको आगो निभेको छैन । तर त्यसको कमान्डर मात्रै फेरिएको हो । हिजोसम्म नेतृत्व फेर्ने अभियानको अग्रमोर्चामा देखिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल आज रक्षात्मक मात्र होइन, ब्याकफुटमा धकेलिएका छन् ।
गत असोज ५ देखि ८ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा ओलीको विकल्प खोज्न कम्मर कसेका नेताहरू खुट्टा कमाउन पुगे । विद्रोहको नेतृत्व गर्ने ठानिएका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले अन्तिम समयमा आत्मसमर्पण गरेपछि ओलीइतर खेमा नराम्रोसँग हिस्स प¥यो ।
विद्रोही पक्षको दाबी मान्ने हो भने, यदि पौडेल र पोखरेल अडिग रहेको भए केन्द्रीय कमिटीका झन्डै १५० सदस्य नेतृत्व हस्तान्तरणको पक्षमा उभिने थिए । तर उनीहरू पछि हट्दा पनि ६० जना केन्द्रीय सदस्यले ओलीविरुद्ध विद्रोहको झन्डा उठाएका थिए ।
अडान छाड्नुको मूल्य अहिले शंकर पोखरेलले चुकाइरहेका छन् । पार्टीभित्र इमानदार उत्तराधिकारी को छवि बनाएका पोखरेल यतिबेला अध्यक्ष ओलीको निर्मम राजनीतिक सिकार बनेका छन् । आफूविरुद्ध लाग्नेहरूलाई कसरी साइजमा ल्याउनुपर्छ भन्ने कला ओलीलाई राम्रोसँग थाहा छ । त्यसको ताजा उदाहरण हो, आगामी मंसिर २ र ३ गते काठमाडौंमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेला ।
पार्टी केन्द्रीय कार्यालयको प्रमुखका हैसियतले महासचिव पोखरेलले गर्नुपर्ने संयोजन खोसेर ओलीले संगठन विभाग प्रमुख भानुभक्त ढकालको काँधमा हालिदिएका छन् ।
आफ्नै महासचिवलाई पन्छाएर ढकाललाई अघि सार्नु ओलीले पोखरेललाई दिएको ठाडो राजनीतिक सन्देश हो । त्यसको अर्थ हो, ओलीले पोखरेलको पखेटा यसरी काटिदिएका छन् कि उनी अब तत्काल उड्न सक्ने अवस्थामा छैनन् । तर यस विषयमा एमाले संसदीय दलकी उपनेता पद्यमा अयालले भेलाको नेतृत्वको लागि पार्टिको सभिवालय बैठकले तय गरेको बताउदै कसैको अधिकार नखोसेको बताएकी छन् ।
पोखरेल कमजोर बन्दै गर्दा एमालेको शक्ति सन्तुलनमा अचानक एउटा नयाँ पावर सेन्टरको उदय भएको छ । र, त्यो नाम हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।
झन्डै ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीलाई ओलीले नै पार्टीको दोस्रो वरीयता (वरिष्ठ नेता) को उपहार दिए । तर यही विन्दुबाट सुरु भएको छ, एमालेको नयाँ महाभारत ।
ओली पक्षको दाबी छ असन्तुष्टहरूलाई सम्हाल्न र पार्टीलाई फुटबाट जोगाउन भण्डारीलाई सेफ्टी भल्भका रूपमा ल्याइएको हो ।
ओलीसँग रिसाएकाहरू पार्टी छोडेर नजाउन्, बरु विद्याको छहारीमा बसून् भन्ने चाहेको देखिन्छ । तर असन्तुष्ट खेमाको बुझाइ बिल्कुलै फरक छ । पोखरेल र पौडेलको कायरताबाट निराश बनेका नेता कार्यकर्ताहरूले अब विद्या भण्डारीलाई ओलीको विकल्प र भावी नेतृत्वको नयाँ ढाल का रूपमा हेर्न थालेका छन् ।
पार्टीभित्र आफूविरुद्ध उठेको विद्रोहलाई दबाउन अध्यक्ष ओलीले चालेको विद्या कार्ड उनी स्वयंमका लागि कति भारी पर्ला ? शंकर पोखरेलको राजनीतिक अवसान र विद्या भण्डारीको यो शक्तिशाली पुनरागमनले एमालेमा असन्तुष्टि मत्थर भएको होइन बरु शक्ति संघर्षको नयाँ अध्याय सुरु भएको प्रस्ट पार्छ ।
हिजोसम्म ओलीविरुद्धको युद्ध मैदान खुला थियो । अब त्यो विद्या भण्डारीको काँधमा बन्दुक राखेर लडिने निश्चित भएको छ ।


