News 24 Television
गरिमा विकास बैंकको वित्तिय स्वास्थ्यमा धक्का, खराब कर्जाको दलदलमा फस्दैं !

काठमाडौं । गरिमा विकास बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको छ । बैंकको खराब कर्जा बढेर ४.८१ प्रतिशत पुग्दा खुद नाफा ४.१७ प्रतिशतले घटेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५० पैसामा झरेको छ भने वितरणयोग्य नाफा ८ करोडमा सीमित भएको छ । तर सेयर मूल्यांकन भने २८.६२ गुणा पीई रेसियोमा पुगेको छ । 

गरिमा विकास बैंकको वित्तीय अवस्था कमजोर हुँदै जाँदा बैंकको नाफा, सेयरधनीले पाउने प्रतिफल र कर्जाको गुणस्तरमाथि नै प्रश्न उठ्न थालेको छ । बाहिरबाट निक्षेप र कर्जा विस्तार गरिरहेको देखिने बैंकको भित्री वित्तीय सूचक भने क्रमशः कमजोर बन्दै गएका छन् । 

खराब कर्जा बढिरहेको, नाफा घटिरहेको छ र प्रतिसेयर आम्दानी खुम्चिएको छ भने लाभांश बाँड्न सक्ने क्षमता झन् साँघुरिएको छ । तर वित्तीय सूचक ओरालो लागिरहँदा पनि बजारमा भने बैंकको सेयर मूल्य तुलनात्मक रूपमा महँगो देखिएको छ । 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो ग्राफ देखाएको हो । बैंकको निष्क्रिय कर्जा एनपीएल गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.७३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ४.८१ प्रतिशत पुगेको छ । बैंकले प्रवाह गरेको कर्जामध्ये असुली हुन नसकेको कर्जाको हिस्सा बढिरहेको छ । खराब कर्जा बढ्नु बंैकका लागि जोखिमको संकेत हो । 

त्यसमाथि खराब कर्जाबाट सम्भावित नोक्सानी थेग्न छुट्याइएको कभरेजसमेत १२०.७२ प्रतिशतबाट घटेर १०४.०९ प्रतिशतमा झरेको छ । यो तथ्यांकले कर्जा जोखिम व्यवस्थापनमा थप दबाब परेको देखाउँछ । त्यसो त बैंकको खुद नाफासमेत घटेको छ । 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ कमाएको थियो । यसरी नाफा ४.१७ प्रतिशतले घटेको हो । 

नाफा घटेसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ५० पैसामा सीमित भएको छ । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि ७.७९ प्रतिशतले घटेर ९२ करोड ८ लाख १४ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९९ करोड ८५ लाख ९४ हजार रुपैयाँ थियो । 

ब्याज आम्दानी ११.२८ प्रतिशतले घटेर १ अर्ब ८२ करोड १७ लाख रुपैयाँमा सीमित हुँदा ब्याज खर्च पनि १४.५९ प्रतिशतले घटेर ९० करोड ९ लाख रुपैयाँ कायम भएको छ । ब्याज खर्च घटे पनि आम्दानीमा आएको गिरावटले बैंकको नाफामा दबाब सिर्जना गरेको छ । 

अर्कोतर्फ कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज २३.६८ प्रतिशतले घटेर २५ करोड ४२ लाख ९१ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ३३ करोड ३१ लाख ९३ हजार रुपैयाँ थियो । करिब ७ करोड ८९ लाख रुपैयाँ कम नोक्सानी व्यवस्था गर्दा पनि बैंकको सञ्चालन मुनाफा ४.३४ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ । यसले बैंकको आम्दानी क्षमतामै समस्या देखिएको संकेत गर्छ । 

अझ सेयर बजारमा बैंकको मूल्यांकन हेर्दा लगानीकर्ताले महँगो मूल्य तिरिरहेको देखिन्छ । बैंकको सेयरको अन्तिम कारोबार मूल्य ४१५ रुपैयाँ हुँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५० पैसा मात्रै छ । यसअनुसार मूल्य आम्दानी अनुपात (पीई रेसियो) २८.६२ गुणा पुगेको छ । अहिलेको आम्दानीको स्तर कायम रहेमा सेयर खरिदमा खर्चिएको रकम बराबरको प्रतिफल संकलन गर्न सैद्धान्तिक रूपमा करिब २८ वर्ष लाग्ने देखिन्छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ६८ पैसा मात्रै हुँदा बजार मूल्य भने त्यसको २.६६ गुणा छ ।

कमजोर हुँदै गरेका वित्तीय सूचकका बीच यस्तो मूल्यांकनले लगानीकर्तालाई थप जोखिममा पार्न सक्छ । सबैभन्दा चिन्ताजनक पक्ष बैंकको वितरणयोग्य नाफा हो । पहिलो त्रैमाससम्म बैंकसँग सेयरधनीलाई वितरण गर्न उपलब्ध नाफा जम्मा ८ करोड ३२ लाख ७८ हजार रुपैयाँ मात्रै छ । यसको अर्थ बैंकले लेखांकनमा २४ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाए पनि नियामकीय व्यवस्था र अन्य समायोजनपछि लाभांश वितरण गर्न उपलब्ध रकम निकै कम छ । 

त्यसैले आगामी दिनमा आकर्षक लाभांशको अपेक्षा गर्ने सेयरधनी निराश हुनुपर्ने अवस्था आउन सक्छ । बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) १०.७१ प्रतिशतबाट घटेर ९.१५ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल (आरओए) ०.९६ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा सीमित भएको छ । यी सूचकले बैंकले सेयरधनीको पुँजी र आफ्नो सम्पत्तिबाट कमाउने प्रतिफल क्षमता कमजोर बनेको देखाउँछन् । तर निक्षेप र कर्जा विस्तार भने रोकिएको छैन । 

असोज मसान्तसम्म ग्राहक निक्षेप १ खर्ब १ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८० अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । निक्षेप ३.११ प्रतिशत र कर्जा २.५७ प्रतिशतले बढेको छ । तर व्यवसाय विस्तारसँगै आम्दानी र नाफा बढ्न सकेको छैन । बैंकको आधार दर ६.३९ प्रतिशतबाट घटेर ५.१८ प्रतिशतमा झरे पनि ब्याजदर अन्तर (स्प्रेड) ४.५९ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा सीमित भएको छ । 

६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी पर्याप्तता अनुपात १२.८४ प्रतिशत र तरलता अनुपात २५.९१ प्रतिशत छ । यी सूचकका बाबजुद खराब कर्जा बढ्नु, नाफा घट्नु, प्रतिसेयर आम्दानी खुम्चिनु र वितरणयोग्य नाफा ८ करोडमा सीमित हुनुले गरिमा विकास बैंकको वित्तीय स्वास्थ्य चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । 

अर्बौं निक्षेप संकलन गर्ने बैंकका लागि सबैभन्दा पेचिलो प्रश्न कति कर्जा विस्तार भयो भन्ने भन्दापनि प्रवाह गरिएको कर्जा कति सुरक्षित छ र त्यसबाट कति वास्तविक आम्दानी भइरहेको छ भन्ने हो । 

ग्राहकको विश्वास र सेयरधनीको लगानी बोकेको बैंकले कमजोर वित्तीय सूचक सुधार्न नसके आगामी दिनमा यसको असर नाफा, लाभांश र बजार मूल्य तीनैतिर देखिन सक्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update