मकवानपुर । हेटौँडाको कमानेमा ३ करोड ५ लाख रुपैयाँको लागतमा महिलामैत्री पार्क निर्माण भइरहेको छ । महिलालाई विश्राम, मनोरञ्जन र उद्यमशीलताको अवसर दिने उद्देश्यले बनाइएको पार्कको काम अन्तिम चरणमा पुगेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित पुरानो पार्कलाई महिलामैत्री स्वरूपमा विकास गरिँदैछ । महिलालाई प्राथमिकतामा राखेर निर्माण भइरहेको पार्कको काम अन्तिम चरणमा पुगेको छ ।
उपमहानगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा जग्गामा ३ करोड ५ लाख रुपैयाँको लागतमा पार्क निर्माण भइरहेको हो । यसमा हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस) को ७० प्रतिशत लगानी रहेको छ । पार्कमा विश्राम, मनोरञ्जन र सामुदायिक गतिविधिका लागि विभिन्न संरचना बनाइएका छन् । स्थानीय संस्कृति र पहिचान झल्काउने सामग्री राखिनुका साथै महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शन तथा बिक्रीका लागि स्टलसमेत निर्माण भइरहेको छ ।
हेटौँडाका महिलाले उत्पादन गरेका सामग्री देशविदेशसम्म पुगिरहे पनि घरायसी तथा व्यावसायिक कामको व्यस्तताले उनीहरूलाई आफ्नै लागि समय बिताउने अवसर कमै मिल्ने गरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै महिलाले विश्राम र मनोरञ्जन गर्न पाउने सार्वजनिक स्थल निर्माणको पहल नगरप्रमुख मीना कुमारी लामाले गरेकी हुन् ।
महिलामैत्री सहर निर्माण कार्यक्रम युएनओपीएसको सहकार्यमा देशका विभिन्न नगरपालिकामा सञ्चालन भइरहेको छ । पहिलो चरणमा पाँचवटा नगरबाट सुरु भएको कार्यक्रम विस्तार गरी हेटौँडा र तिलोत्तमालाई पनि समेटिएको हो । हाल वीरेन्द्रनगर, चन्द्रागिरि, सुनवल, लम्कीचुहा, तानसेन र धनगढीमा समेत यस्ता कार्यक्रम अघि बढिरहेका छन् ।
पार्क निर्माण सम्पन्न भएपछि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि सुरक्षित, सहज र समावेशी सार्वजनिक स्थल उपलब्ध हुनेछ ।
यसले महिलालाई आफ्नै लागि समय बिताउने अवसर दिनुका साथै उनीहरूका उत्पादनको प्रवद्र्धन र बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।


