News 24 Television
पुँजीगत खर्च बढाएर १८ करोड १९ लाख पु¥याइयो

म्याग्दी । म्याग्दीको धौलागीरी गाउँपालिकाले बजेटको आकारलाई बढाएर गाउँसभाबाट पारित गरेको छ । गत आर्थिक वर्षमा खर्च हुन नसकी बाँकी रहेको बजेटलाई चालु वर्षका २७ वटा योजना तथा कार्यक्रममा समावेश गर्दै चालु आर्थिक वर्षको कुल बजेट ४८ करोड ५२ लाख तीन हजार रुपैयाँबाट बढाएर ५४ करोड ७२ लाख तीन हजार रुपैयाँ पु¥याएको छ । 

धौलागीरी गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न गाउँसभाको २७औँ विशेष अधिवेशनले बजेट संशोधन गर्दै चालु आर्थिक वर्षको कुल बजेट ४८ करोड ५२ लाख तीन हजार रुपैयाँबाट बढाएर ५४ करोड ७२ लाख तीन हजार रुपैयाँ पु¥याएको छ । 

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गरेको बजेट संशोधन प्रस्ताव र वडा नं. ३ का अध्यक्ष देवेन्द्र रोकाले प्रस्तुत गरेको विनियोजन ऐन संशोधनसम्बन्धी प्रस्ताव सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो । 

गत आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई चालु आर्थिक वर्षमा २७ वटा योजना तथा कार्यक्रममा विनियोजन गरिएको उपाध्यक्ष पुन मगरले जानकारी दिए । 

गत असारमा सम्पन्न गाउँसभाले पुँजीगत शीर्षकमा १४ करोड छ लाख ८७ हजार रुपैयाँ विनियोजन गरेको थियो। विशेष गाउँसभाबाट थप बजेट विनियोजन भएपछि पुँजीगत बजेट १८ करोड १९ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

थप बजेटबाट गाउँपालिकाले पूर्वाधार विकाससँगै कृषि, पर्यटन, शिक्षा, युवा, महिला, नवप्रवर्तन तथा कला–संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिएको छ । दीर्घकालीन महत्वका र स्थानीय आवश्यकता सम्बोधन गर्ने बेलिब्रिज, वडा कार्यालय भवन, ढल व्यवस्थापन तथा कल्भर्ट निर्माणका योजनामा उल्लेख्य बजेट विनियोजन गरिएको छ । 

गुर्जामा वडा कार्यालय भवन निर्माणका लागि ५० लाख, दरखोलामा बेलिब्रिज निर्माणका लागि ६० लाख, मराङको सानो र ठूलो खोलामा कल्भर्ट पुल निर्माणका लागि ७० लाख तथा मल्कवाङको खालीखोलामा कल्भर्ट पुल निर्माणका लागि ६६ लाख रुपैयाँ विनियोजन भएको छ । 

त्यसैगरी गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयमा शौचालय निर्माणका लागि २० लाख, लुलाङमा ढल व्यवस्थापनका लागि २५ लाख, मुना स्वास्थ्य चौकीको घेराबारका लागि २५ लाख र मुदी गाउँमा ढल व्यवस्थापनका लागि ४१ लाख रुपैयाँ छुट्याइएको छ । 

हेम नमुना आवासीय माध्यमिक विद्यालयमा खोल्साबाट हुने बाढी नियन्त्रणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल ताकमकोटमा शौचालय, खानेपानी निर्माण र स्लेट ढुंगा छाप्ने कामका लागि चार लाख रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ । पूर्वाधारसँगै उत्पादन, उद्यमशीलता र सामाजिक विकासलाई जोड्ने कार्यक्रम पनि बजेटमा समेटिएका छन् । 

पर्यटन तथा होमस्टे व्यवसायीलाई लक्षित तालिम र सामग्री वितरणका लागि २० लाख, मागमा आधारित कृषि कार्यक्रमका लागि पाँच लाख, नवप्रवर्तन तथा डिजिटल धवलागिरि अभियानका लागि पाँच लाख र युवालाई लक्षित सीप विकास तालिमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै कला तथा संस्कृति संरक्षणका लागि १५ लाख र गृहिणी तथा आमा समूह लक्षित कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसबाट स्थानीय उत्पादन, पर्यटन व्यवसाय, युवा सीप र महिला समूहका गतिविधिलाई प्रोत्साहन गर्ने गाउँपालिकाको अपेक्षा छ । 

बजेट विनियोजन भएका योजनाहरूको सर्वेक्षण तथा लागत अनुमान तयार पार्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार दुईवटा योजनाको ठेक्का आह्वान भइसकेको छ । तिहारलगत्तै उपभोक्ता समिति गठन गरी सम्झौता गर्ने र साना योजनालाई उपभोक्ता समितिमार्फत कार्यान्वयनमा लैजाने गाउँपालिकाको तयारी छ ।

१० लाख रुपैयाँभन्दा बढी बजेट भएका योजनालाई भने ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गरिने छ । बजेट थपिएसँगै गाउँपालिकाले सडक तथा पुल पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र उत्पादनमूलक क्षेत्रका योजनालाई अघि बढाउने तयारी गरेको छ । 

विनियोजित बजेटलाई समयमै कार्यान्वयन गरी नागरिकको आवश्यकता र विकासका प्राथमिकतालाई सम्बोधन गर्नु अब गाउँपालिकाका लागि मुख्य चुनौती हुनेछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update