News 24 Television
अब जनकपुरबाटै रेलमा अयोध्यासम्म, बालेन–मोदीले उद्घाटन गर्ने

धनुषा । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामलाई जोड्न भारतीय रेलले सञ्चालन गर्न लागेको रेल सेवाको सुरक्षा सम्बन्धी जाँचका लागि भारतीय रेल्वेका अधिकारीहरुले विहीबार रेल सहित कुर्थासम्मको निरीक्षण गरेका छन् । 

रेल सेवा सञ्चालनबाट जनकपुरधाम र अयोध्याधामबीचको सम्बन्ध प्रगाढ हुने र दुबै धार्मिक नगरीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । प्रर्यटकहरुको आवागमन बढ्दा दुबै सहरको आर्थिक विकासमा ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ । 

भारतको अयोध्याधाम र नेपालको जनकपुरधामबीच रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । रेल सेवा सञ्चालनको सम्भाव्यता, सुरक्षा, समयतालिका र व्यवस्थापनबारे नेपाल तथा भारतीय रेल विभागका अधिकारीहरूले एक महिनादेखि निरन्तर छलफल र स्थलगत अनुगमन गरिरहेका छन् । 

यसैक्रममा बिहीबार भारतबाट १७ बोगीको यात्रुवाहक रेल जनकपुरधाम आइपुगेको छ । उक्त रेलमार्फत ट्र्याक परीक्षणसमेत गरिएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार रेलको समयतालिका, टिकट मूल्य, सञ्चालन हुने दिन र सुरक्षा व्यवस्थापनबारे निरीक्षण भइरहेको छ । 

प्रारम्भिक तयारीअनुसार सातामा एक दिन शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने प्रस्ताव छ । शनिबार दिउँसो १२ बजे अयोध्याबाट छुटेको रेल आइतबार बिहान ५ बजे जनकपुरधाम आइपुग्ने र सोमबार दिउँसो २ बजे जनकपुरबाट छुटेको रेल मंगलबार मध्यान्ह १२ बजे अयोध्या पुग्ने गरी समयतालिका प्रस्ताव गरिएको छ । 

रेल जयनगर, मधुवनी, दरभंगा, सीतामढी हुँदै गोरखबाट अयोध्या पुग्ने बताइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले रेल सञ्चालनको निर्णय भइ नसकेपनि आवश्यक आन्तरिक तयारी र निरीक्षणका काम अघि बढिसकेको जानकारी दिए ।

रेल सञ्चालनको सुरक्षाबारे जानकारी लिन भारतीय रेल्वेका अधिकारीहरू नेपाल रेल्वेको मुख्य जक्सन कुर्थासम्म स्थलगत निरीक्षणमा जाने तयारी छ । जयनगरदेखि जनकपुरधामसम्मको रेलमार्गको सुरक्षा जिम्मेवारी भने नेपाल रेल्वेकै हुने बताइएको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव तथा अन्य अधिकारीहरूसँग भएको छलफलमा पनि रेल सेवाको विषयले प्राथमिकता पाएको जनाइएको छ । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले लामो समयको प्रतीक्षापछि रेल सेवा सञ्चालनको तयारी अघि बढेकोमा खुसी व्यक्त गरे । उनले धार्मिक पर्यटनसँगै व्यापारिक गतिविधि विस्तार गर्न भिठ्ठामोड वा जटही नाकामध्ये कुनै एक नाका तेस्रो मुलुकबाट हुने आयात–निर्यातका लागि खोल्न पहल गरिदिन सरकारसँग आग्रह गरे ।

स्थानीय राजेश कर्णले जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन हुँदा धार्मिक पर्यटन, आर्थिक गतिविधि र दुई धार्मिक नगरीबीचको सम्बन्ध थप प्रगाढ बन्ने बताए । उनले सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन छिटो टुंग्याउनुपर्नेमा जोड दिए ।

जनकपुरधाम–अयोध्याधाम रेल सेवाको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भारतको राजधानी नयाँ दिल्लीबाट गर्ने तयारी छ । 

रेलमा वातानुकूलित, स्लीपर र सामान्य श्रेणीका डिब्बा रहनेछन् । यसअघि मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामबाट अयोध्या जाने बस सेवाको संयुक्त उद्घाटन गरे पनि उक्त सेवा नियमित हुन सकेको थिएन ।

यसपटक रेल सेवा नियमित र व्यवस्थित रूपमा सञ्चालन भए दुवै देशका धार्मिक पर्यटक तथा यात्रुहरूलाई ठूलो सहजता पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update