News 24 Television
ओखलढुंगामा सरकारी सेवा लिनेको घूइँचो

ओखलढुङ्गा । दसैँ बिदापछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा विभिन्न सेवा लिन आउने सेवाग्राहीको चाप बढेको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन दैनिक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालय पुगिरहेका छन् । 

सेवाग्राहीको चाप बढेपछि कार्यालयले आवश्यकता अनुसार नियमित समयभन्दा बाहिरसम्म पनि सेवा दिँदै आएको छ । चाप व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज र समयमै सेवा उपलब्ध गराउन कार्यालयले नागरिक सहायता कक्षमार्फत थप सुविधासमेत उपलब्ध गराएको छ । 

दसैँ बिदा सकिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा सेवाग्राहीको चाप बढेको छ । नयाँ नागरिकता बनाउनेदेखि पुरानो नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउनेहरूको उपस्थिति बाक्लिएको हो । 

विशेषगरी नागरिकतासम्बन्धी सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार दसैँपछि दैनिक एक सयभन्दा बढी नयाँ तथा प्रतिलिपि नागरिकता वितरण भइरहेको छ । 

सामान्य अवस्थामा दैनिक १५ देखि २५ वटासम्म नागरिकता वितरण हुने गरेकोमा दसैँपछि एकै दिनमा १४५ वटाभन्दा बढी नागरिकता वितरण भएको कार्यालयले जनाएको छ। नागरिकतासँगै राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सेवाग्राहीको चाप पनि उत्तिकै छ ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नियमित कार्यालय समयभन्दा बाहिरसम्म पनि सेवा प्रवाह गरिरहेको छ । सेवाग्राहीको संख्या अत्यधिक भएका दिन बेलुका ८ देखि ९ बजेसम्म पनि सेवा दिएको कार्यालयले जनाएको छ । 

यसरी अतिरिक्त समय उपयोग गरेर भए पनि सेवाग्राहीलाई सेवा उपलब्ध गराउने प्रयास गरिएको छ। त्यस्तै, कार्यालयमा आउने नागरिकलाई प्रशासनिक प्रक्रिया पूरा गर्न सहज होस् भन्ने उद्देश्यले नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ। सहायता कक्षबाट आवश्यक कागजातको निःशुल्क फोटोकपी, सशुल्क हुलाक टिकट तथा निःशुल्क वाइफाइको सुविधा उपलब्ध गराइएको छ ।

दसैँपछिको बढ्दो सेवाग्राहीको चापले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह र व्यवस्थापनमाथि थप जिम्मेवारी बढाएको छ। यस्तो अवस्थामा नियमित समयभन्दा बाहिरसम्म सेवा दिनु र नागरिक सहायता कक्षमार्फत थप सुविधा उपलब्ध गराउनु सकारात्मक प्रयास हुन् । तर, सेवाग्राहीले सरकारी सेवा लिनकै लागि लामो समय कुर्नुपर्ने अवस्था कम गर्दै सेवा प्रक्रियालाई अझ सहज, छिटो र झन्झटरहित बनाउनु पनि उत्तिकै आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update