काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ ।
१७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय परिसरमा २३ औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान ६ बजे गरिएको थियो । करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए ।

‘मैले बिगत २२ बर्षदेखि यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो ।’ काग सम्मेलन कर्ता कलाकार दुलालले भने, ‘यो रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमि आएको छ ।’
दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेका हुन् । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनको भनाई छ । उनी अघि भन्छन्, ‘कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ ।’
दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।
यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।


