काठमाडौं । विशेष महाधिवेशन हुँदै नियमित १५ औं महाधिवेशन सम्पन्न गरि गगन थापा नेतृत्वमा रहेको नेपाली काग्रेस इतर पक्षबाट मात्र होइन, सरकारबाट समेत घेराबन्दीमा परेको छ । काग्रेस सभापति थापाले पार्टी बैधानिकताका लागि १८ करोड घुस दिएको अडियो सार्वजनिक भएपछि कांग्रेस नेताहरु सरकारविरुद्ध आक्रामक बनेका छन् ।
केही दिनयतादेखि नेपाली कांग्रेसका नेताहरु सरकारविरुद्ध आक्रामक बनिरहेका छन् । बिचौलिया इनम सापकोटाको अडियो लिक प्रकरणले कांग्रेस नेताहरु सरकारविरुद्ध आक्रामक बनेका हुन् ।
सरकारका पछिल्लो गतिविधिहरु सत्तारुढ दल रास्वपाको संस्थापन समूहलाई नै चित्त बुझेको छैन । रास्वपा सभापति रवि लामिछानेले पनि सरकारको आलोचनात्मक टिप्पणी गरिरहेका छन् । यहि परिप्रेक्ष्यमा कांग्रेस र रास्वपाको बालेन समूहबीच वार कि पारको जस्तो अवस्था बनिरहेको छ ।
बिचौलया इनमको अडियो प्रकरणपछि प्रधानमन्त्री बालेन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । नयाँ पुस्ताको नेतृत्व र राजनीतिक परिवर्तनका दुई फरक धारका रूपमा हेरिएका यी नेताबीच अहिले सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालका टिप्पणी र राजनीतिक घटनाक्रमले दूरी बढाउँदै गएको छ ।
साइबर अपराधमा तानिँदै कांग्रेस नेताहरु
नेपाली कांग्रेसको नयाँ नेतृत्वप्रति पार्टी इतर पक्षले आलोचना गरिरहेकै छ । पार्टीको बैधानिकताको फैसला आउन बाँकी नै रहेको भन्दै इतर पक्षले सामानान्तर गतविधि जारी नै राखेको छ । आगामी मंसिर २१ देखि १३ गतेसम्म कांग्रेस इतर पक्षले छुट्टै १५ औं महाधिवशन गर्र्दैछ । यहि मौकामा विशेष महाधिवेशनलाई बैधानिकता दिलाउँदा सर्वोच्चका न्यायाधीसहरुसँग सेटिङ भएको इनमको बयान सार्वजनिक भएपछि इतर पक्षलाई झनै ठूलो खजाना मिलेको छ ।
त्यसैले इतर पक्षको शनिवार काठमाडौ जिल्ला अधिवेशनमा कांग्रेस पूर्व सभापति देउवा गगनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । देउवासहित उनी पक्षका नेताहरु सर्वोच्चको फैसला सच्चिने अपेक्षा गरिहेको छ । पार्टीभित्रैको कचिंगलमा रुलिरहेको बेला आएको १८ करोडको डिल प्रकरणले तनावमा रहेका कांग्रेस नेताहरुले बालेन र बालेनको टिमले गरेको प्रोपोगाण्डा भनिरहेका छन् ।
सोही अक्रोस सामाजिक सञ्जालमा पोख्दा साइबर ब्यूरोले तानिरहको छ । सामाजिक सञ्जालमा ब्यक्त भावनालाई लिएर कांग्रेस सहमहामन्त्री अजयबाबु शिबाकोटी आइतबार साइबर ब्यूरो कार्यालयमा उपस्थित भएका थिए ।
यता, आइतबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले दुई तिहाई शक्तिको आडमा सरकारले आफूहरुविरुद्ध प्रश्न उठाउनेहरुलाई ठेगान लगाउन खोजेको आरोप लगाएका छन् ।
चुनाव केन्द्रित रास्वपा रणनीति
सतहमा हेर्दा कांग्रेस र बालेन टिमबीच टकराव देखिए पनि यो रास्वपाको चुनाव केन्द्रित रणनीति भएको आशंका पनि उत्तिकै छ । सत्तारुढ दल रास्वपा स्थानीय तहको चुनावमा होमिसकेको छ ।
क्याण्डिडेट क्लव बनाएर रास्वपाले उम्मेदवार छनोट गर्नेदेखि स्थानीय तह चुनाव लक्षित गतिविधिहरु गर्दै आएको छ । यहिबीचमा रास्वपाभित्रै देउवा र बालेन समूहबीच असहमति जस्तो देखिए पनि प्रदेश र स्थानीय तहको संरचनालाई बेवास्ता गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समाजिक सञ्जालमा ‘गाउँ गाउँमा सिंहदरबार’ भनी स्टाटस लेखेका थिए । बालेनको यो स्टाटस पनि स्थानीय तहको निर्वाचन लक्षित मान्न्न सकिन्छ ।
कांग्रेस पुनर्गठनको प्रयासमा
लामो समयदेखि नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहसमा रहेको कांग्रेसले पनि थापाको नेतृत्वमा पार्टी पुनर्गठन गर्ने प्रयास गरिरहेको छ । परम्परागत दलप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई आफ्नो राजनीतिक आधार बनाएको रास्वपाका लागि कांग्रेसको नयाँ नेतृत्व एउटा महत्वपूर्ण राजनीतिक चुनौती बनेको छ ।
निर्वाचन आयोगले आगामी फागुनमा नै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेका बेला नयाँ पुस्ताका मतदातालाई आकर्षण गर्न लागिरहेको कांग्रेस र विशेष गरि गगन थापालाई बदनाम गराउन पछिल्लो समय प्रधानमन्त्री बालेन समूह कस्सिएरै लागेको छ ।
बाख्रा अनुदानदेखि १८ करोडको अडियोको तनाव
रास्वपाले प्रतिनिधिसभाको निर्वाचनकोबेला पनि गगनलाई नै लक्षित गरेर डिजिटल वारहरु गरेको थियो । तत्कालिन समयमा कांग्रेस सभापति थापाले ‘सुनखानी एकीकृत कृषि कृषि केन्द्र मार्फत बाख्रापालनका लािग भन्दै ब्यवसायिक कृषि आयोजना केन्द्र (प्याक्ट) मार्फत राज्यकोषबाट १४ करोड अनुदान लिएको आरोप लाग्ने गरेको छ ।
मटनकाजी उपनाम दिएर गगनको आलोचना हुने गरेको छ । यद्यपी उक्त फर्मले अनुदान लिएको कुरा अहिलेसम्म कहिँकतै पनि खुलेको छैन । सो आरोप चिर्न गगनले ‘मटन डट वल्र्ड’ नामको एउट ब्लग नै बनाएका थिए । जसमा प्राजेक्ट गोभमेन्टदेखि गगनको पूर्ण जीवनी उल्लेख छ । उक्त ब्लग अहिले पनि सञ्चालनमै छ ।
२०८२ भदौको जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व हत्याएका गगन पार्टीको नियमित १५ औं महाधिवेशन गरेर वैधानिक रुपमा पार्टी नेतृत्वमा छन् ।
पार्टीको आधिकारिकताको विवाद भने अझै पनि टुंगो लागिसकेको छैन । सर्वोच्चको फैसलाविरुद्ध कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालिन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दिएको पुनरावलोकन निवेदनको फैसला आउन बाँकी छ । त्यसैले मुद्दा किनारा लागिनसकेको भन्दै देउवाले पार्टी सभापतिको दाबी गर्न अझै छाडेका छैनन् ।
यहिबेलामा सत्तारुढ दल रास्वपाको बालेन समूहको पनि घेराबन्दीमा परेका गगनले आफ्नो आरोप पार लगाउँछन् कि विचौलियाको आरोप प्रमाणित भई पार्टी नेतृत्वसमेत गुमाउनुपर्ने हो, त्यो भावी दिनले बताउने छ ।


