News 24 Television
मधेशमा सत्ता समीकरण फेरिँदै, कसको नेतृत्वमा बन्ला नयाँ सरकार ?

काठमाडौं । मधेश प्रदेशमा एमाले र नेकपा सरकारबाट बाहिरिएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री कृष्ण यादवले राजीनामा दिने तयारी गरेका छन् । यादव नेतृत्वको सरकारले विश्वासको मत लिन एक साता मात्रै बाँकी छ । सत्ता जोगाउन सभापति गगन थापाले ओलीसँग गरेको छलफलसमेत निष्कर्षविहीन बनेपछि जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको कसरत तीव्र बनेको छ । 

मधेश प्रदेशको सत्ता राजनीति फेरि नयाँ मोडमा पुगेको छ । नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेपछि नयाँ सत्ता समीकरण निर्माणको प्रयास तीव्र बनेको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको सरकार संकटमा परेको हो । 

यससँगै जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा एमाले र नेकपाबीच छलफल अघि बढेको छ । सरकारको नेतृत्व जोगाउने प्रयासस्वरूप नेपाली कांग्रेसका सभापति गगन थापा आफैँ सक्रिय भएका थिए । 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मधेश प्रदेशको सरकारलाई निरन्तरता दिन सहयोग गर्न आग्रह गरेका थिए । कात्तिक १७ गते मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थापाले करिब एक घण्टा ओलीसँग छलफल गरेका थिए । भेटमा मधेश प्रदेश सरकारको भविष्य, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । 

एमालेले गत असोज ३० गते कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनसँग भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमाले सरकारबाट बाहिरिएको थियो । एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री यादवको सरकार संकटमा परेको थियो । त्यसपछि नेकपाका मन्त्रीहरूले पनि राजीनामा दिएसँगै सरकारको बहुमत थप कमजोर बनेको छ ।
 
जसपा नेतृत्वमा नयाँ सरकारको तयारी

एमाले र नेकपाले अब मधेशमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरत अघि बढाएका छन् । तीन दलबीच नयाँ सत्ता समीकरण बनाउने विषयमा छलफल भएको र सरकारको नेतृत्व जसपा नेपाललाई दिने समझदारी नजिक पुगेको नेताहरूले बताएका छन् । जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ । यद्यपि, नयाँ सरकार गठन र नेतृत्वका विषयमा औपचारिक निर्णय भने भइसकेको छैन । 

प्रदेशसभाको अंकगणितले पनि नयाँ गठबन्धनका लागि सम्भावना देखाएको छ । उपलब्ध विवरणअनुसार जसपा नेपालका २८, एमालेका २४ र नेकपाका १५ सांसद छन् । यी तीन दल एक ठाउँमा उभिएमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने अवस्था छ । अर्कोतर्फ कांग्रेसका २२ र जनमत पार्टीका १२ सांसद छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा सहभागी नहुने धारणा सार्वजनिक गर्दै आएका छन् । तर नयाँ सरकार गठनको बाटो पूर्ण रूपमा सहज देखिएको छैन । 

एमाले र नेकपाबीच नेतृत्व जसपालाई दिने विषयमा सकारात्मक छलफल भए पनि मन्त्रालय बाँडफाँट र सरकार सञ्चालनको साझा समझदारीमा सहमति जुटाउनुपर्नेछ । कांग्रेसले पनि सरकार जोगाउन विभिन्न दलसँग संवाद जारी राखेको छ । मधेशमा पटक–पटक सरकार परिवर्तन भइसकेको छ । फरक–फरक दलका नेतृत्वमा सरकार बने पनि राजनीतिक अस्थिरता र गठबन्धनभित्रको अविश्वास दोहोरिँदै आएको छ । यस्तो अवस्थामा फेरि सरकार परिवर्तन हुँदा प्रदेशको विकास, सेवा प्रवाह र नीतिगत निरन्तरतामा कस्तो असर पर्छ भन्ने प्रश्न पनि उठेको छ । संविधानअनुसार सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्न नसके सरकार परिवर्तनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ । मधेशको राजनीति अहिले दुई विकल्पको बीचमा छ– कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा जसपा नेपालको नेतृत्वमा नयाँ गठबन्धन बनाउने। गगन थापाले ओलीलाई भेटेर गरेको अन्तिम राजनीतिक प्रयासले पनि कांग्रेस सरकारको निरन्तरता सुनिश्चित गर्न सकेन । अब एमाले, नेकपा र जसपाबीचको सहमतिले मधेश प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिन्छ । 

    
    
    
    
    
    
    
    
    
    

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update