News 24 Television
तिहारमा गाउँ त हाँस्यो, तर गाउँलेको मन हाँस्न सकेन

२०८३ सालको तिहारमा गाउँघर पुग्दा जुन उत्साह, उमङ्ग र उल्लास देखिने अपेक्षा थियो, त्यो कतै भेटिएन। घरका आँगनमा झिलिमिली बत्ती बलेका थिए। ढोकामा फूलका मालाहरू झुन्डिएका थिए। लक्ष्मीपूजा गरिएको थियो। देउसी–भैलोका केही औपचारिक स्वर पनि सुनिन्थे। तर, यी सबै दृश्यभित्र एउटा अनौठो शून्यता थियो। चाडपर्वको बाहिरी सजावट त थियो, तर मनभित्रको वास्तविक खुसी हराएजस्तो लाग्थ्यो।

गाउँमा तिहारको रौनक आएन

घरका आँगनमा देखावटी मुस्कान थिए, तर ती मुस्कानभित्र लुकेको पीडा अनुहारमा प्रस्ट पढ्न सकिन्थ्यो। यसको एउटै ठूलो कारण थियो– घरका छोरा–छोरी विदेशमा हुनु।

गाउँका बाटो, पाखा र पखेराले आफ्ना सन्तानलाई बोलाइरहेका थिए। वर्षौंदेखि बाँझिएका खेतबारीले कसैको पाइलाको प्रतीक्षा गरिरहेका थिए। घरका बूढा बाआमाहरूले यसपालि त छोरा–छोरी आउलान् कि भन्ने आशा मनमा साँचेर बसेका थिए। तर, यस वर्ष पनि उनीहरू आएनन्।

आँगनमा बसेर बाटोतिर आँखा लगाइरहेका बाआमाको अनुहारमा प्रतीक्षाको थकान थियो। फोनमा भिडियो कल गरेर चाडपर्वको शुभकामना आदानप्रदान त भयो, तर त्यो अँगालोको न्यानोपन थिएन। सँगै बसेर खाएको सेलरोटीको स्वाद थिएन। देउसी–भैलो हेर्दै रमाएको पारिवारिक उल्लास थिएन। सन्तानको अभावमा चाडपर्वको खुसी अधुरो बनेको थियो।

कहाँ हराए ती पुराना तिहार ?

कुनै समय तिहार आउनुअघि नै गाउँका चौरहरू जीवन्त हुन्थे। लिङ्गे पिङ हालिन्थे। चङ्गा उडाउने प्रतिस्पर्धा चल्थ्यो। गाउँका युवायुवती जम्मा भएर कौडा खेल्थे। लङ्गुरबुर्जा र अन्य परम्परागत खेलहरूको आफ्नै रौनक हुन्थ्यो। घरघरमा देउसी–भैलोको मौलिक भाका गुञ्जिन्थ्यो। मादल, बाँसुरी र सामूहिक गीतले गाउँका रातहरू उज्याला बनाउँथे। तर, अहिले ती दृश्यहरू सम्झनामा सीमित हुँदै गएका छन्।

न त पहिलेझैँ मौलिक देउसी–भैलोको आवाज सुनिन्छ, न त गाउँका चौरमा युवाहरूको जमघट देखिन्छ। संस्कृतिको पुस्तान्तरण गर्ने पुस्ता नै गाउँबाट बाहिरिएपछि मौलिकता जोगाउने जिम्मेवारी कसले लिने ?

तिहारमा गाउँको चहलपहल घट्नु केवल मानिसको सङ्ख्या घट्नु होइन, गाउँको संस्कृति, सामाजिक सम्बन्ध र सामूहिक जीवनशैली कमजोर हुँदै जानुको सङ्केत पनि हो।

सुन फल्ने खेतमा वनमारा, गाउँमा सन्नाटा !

गाउँका ती उर्वर खेतबारी, जहाँ कुनै समय धानका बालाहरू लहराउँथे, अहिले वनमाराका झाडीले ढाकिन थालेका छन्। अन्न फल्ने जमिन बाँझिएको छ। घरहरू छन्, तर घरमा बस्ने युवा छैनन्। बाटो पुगेको छ, बिजुली पुगेको छ, घरघरमा खानेपानीका धारा छन्। इन्टरनेटको सुविधा पनि पुगेको छ। विकासका भौतिक पूर्वाधार गाउँसम्म आइपुगेका छन्।

तर, गाउँमा मानिस छैनन्। खेतमा किसान छैनन्। गाउँका चौरमा युवा छैनन्। घरका आँगनमा नातिनातिनासँग रमाउने हजुरबा–हजुरआमाको सपना अधुरै छ।

गाउँमा सुविधा थपिँदै गए पनि गाउँमै बसेर जीवन चलाउने अवसर र भरोसा किन थपिन सकेन ? यो प्रश्न अहिले हरेक गाउँको साझा प्रश्न बनेको छ।

विदेशका गल्लीमा नेपाली युवालाई खोज्ने नारा, गाउँमा भने युवाको प्रतीक्षा !

एक सञ्चारकर्मीका रूपमा तिहारको समयमा गाउँघरमा देखेका यी दृश्यले मलाई गहिरोसँग छोए। राज्यसत्तामा जो आए पनि युवालाई आफ्नै देशमा रोक्ने, स्वदेशमै श्रम र सीपको सम्मान गर्ने तथा परिवारसँगै बसेर जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण गर्ने विषय भाषण र चुनावी नारामै सीमित भएको अनुभूति भयो।

हरेक निर्वाचनमा युवालाई स्वदेशमै रोजगारी दिने, विदेश पलायन रोक्ने र देशमै समृद्धि ल्याउने प्रतिबद्धता दोहोरिन्छ। तर, निर्वाचन सकिएपछि ती प्रतिबद्धताको अवस्था के हुन्छ ? गाउँका रित्तिँदै गरेका घर, बाँझिँदै गरेका खेतबारी र विदेशिएका युवाका परिवारले यसको उत्तर खोजिरहेका छन्।

गाउँमै भेटिएका एक वृद्धसँगको कुराकानी झन् मन छुने थियो। उनले दुःखेसो पोख्दै भने, "विदेशका गल्लीगल्लीमा पोस्टर टाँसेर नेपाली युवालाई स्वदेश फर्काउने नारा लगाएर मात्र के हुन्छ ? गाउँमा फर्केर के गर्ने ? छोराछोरीलाई यहीँ बसेर खाने, कमाउने र भविष्य बनाउने आधार त चाहियो नि ! चुनावका बेला सुनिने यस्ता नारा चुनाव जित्ने अभियानका लागि मात्र हुन् कि भन्ने लाग्न थालेको छ।"

उनको यो भनाइ एउटा व्यक्तिको गुनासो मात्र थिएन। यो त वर्षौंदेखि सन्तानको प्रतीक्षामा रहेका हजारौँ बाआमाको साझा पीडा थियो।

तिहारको उज्यालोमा देखिएको गाउँको अँध्यारो

तिहार उज्यालोको पर्व हो। दियो बालेर अँध्यारो हटाउने, दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने तथा परिवार र समाजलाई एकताको सूत्रमा बाँध्ने पर्व हो। तर, आफ्नै सन्तानको अभावमा बाआमाको मन अँध्यारो छ भने घरमा बालिएको दियोले मात्र त्यो अँध्यारो हटाउन सक्दैन।

आज प्रश्न केवल कति युवा विदेश गए भन्ने होइन। प्रश्न त उनीहरू किन गए भन्ने हो। किन आफ्नै देशको माटोमा पसिना बगाएर परिवार पाल्न सक्ने वातावरण बनेन ? किन गाउँका खेतबारीमा उत्पादन गर्ने हात विदेशका सडक र कारखानामा श्रम बेच्न बाध्य छन् ?  किन बाआमाको बुढेसकाल सन्तानको प्रतीक्षामै बितिरहेको छ ?

देशको समृद्धि भनेको सडक, भवन, पुल र बिजुली मात्र होइन। देशको वास्तविक समृद्धि त गाउँका खेतबारी हराभरा हुनुमा छ, युवाहरू आफ्नै गाउँमा रोजगारीमा जोडिनुमा छ र बाआमाले चाडपर्वमा आफ्ना सन्तानसँगै बसेर खुसी साट्न पाउनुमा छ।

२०८३ को तिहारले एउटा गम्भीर सन्देश दिएको छ– गाउँमा विकासका संरचना बनेका छन्, तर गाउँको जीवनशैली र सामाजिक आत्मा कमजोर हुँदै गएको छ।

यसपटक गाउँका घरमा दियो त बल्यो, तर बाआमाको मनमा प्रतीक्षाको अँध्यारो हटेन। खेतबारीले किसान पाएनन्। पिङले खेल्ने युवा पाएन। देउसी–भैलोले पुरानो भाका पाएन। तिहार आयो, दियो बल्यो, घर झिलिमिली भयो। तर, गाउँको मन उज्यालो हुन सकेन।

सायद अब राज्यले बुझ्नुपर्ने समय आएको छ– विदेशिएका युवालाई पोस्टर र नाराले होइन, स्वदेशमै सम्मानपूर्वक बाँच्न र काम गर्न सक्ने वातावरणले मात्र फर्काउन सकिन्छ।

नत्र, अर्को वर्ष पनि तिहार आउला, दियो बल्ला, फूल फुल्ला, तर गाउँका आँगनमा बाआमाको प्रतीक्षा र आँखामा सन्तानको अभाव उस्तै रहनेछ

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update