News 24 Television
गगन तह लगाउने देउवा दाउ, के होला फैसला ?

काठमाडौँ । नेपाली काँग्रेस देउवा पक्षको १५औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । काँग्रेसको यो पक्षले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गर्दा अहिले वडा, पालिका तथा जिल्लातहको अधिवेशन सकिएको छ । काँग्रेस गगन पक्षको अधिवेशन र निर्वाचन आयोगको अघिल्लो निर्णय अनुसार शेरबहादुर देउवा पक्ष किनारामा परेको थियो । 

देउवा पक्षले संस्थापन पक्षलाई काउण्टर दिन गरिरहेको गतिविधि र सर्वोच्चको अन्तिम फैसला आफ्नो पक्षमा आउने संभावना कमजोर देखिएको अवस्थामा पुगेको भएपनि गगन थापामाथि लागेको १८ करोड लेनदेनको आरोपपछि भने देउवा पक्ष उत्साहित बनेको छ । यो आरोपलाई लिएर पूर्वसभापति शेरबहादुर देउवासमेत गगनमाथि जवाफ फर्काउन थालेका छन् । गगनमाथि लागेको आरोपलाई नै प्रमुख आड मानेर देउवा अहिले राजनीतिक र कानूनी रुपमा हराउने रणनीतिमा लागेका छन् । 

उत्साहित देउवा, भित्री दाउ के ?

राजीतिक जीवनकै पूर्वार्धमा रहेका शेरबहादुर देउवाको अबको कुनै भावी राजनीतिक स्वार्थ देखिँदैन । तर उनी सुरुका दिनदेखि नै आफ्नो निकटका नेताहरुलाई राजनीतिक नेतृत्व सुम्पिन चाहन्थे । यद्यपि उनको यो योजना मुलुकको राजनीतिक माहोल र गगन थापाकै विद्रोहका कारण असफल भयो । यही कारण नै काँग्रेस अहिले दुई खेममामा विभाजित भएको अवस्था छ । यसपछि पनि काँग्रेसको आधिकारिकताको पकड गुमाइसकेका देउवासँग अहिले गगनलाई बदनाम गराएर वा निर्वाचन आयोगमार्फत दिलाइएको पार्टी आधिकारिकताको विषयलाई उल्ट्याएर मात्रै काँग्रेस आफ्नो पक्षमा पार्ने विकल्प छ । 

यस्तोमा गगन थापामाथि लागेको आरोपलाई मलजल गर्दै देउवा अदालतसम्म प्रभाव पार्ने रणनीतिमा छन् । अहिलेको अवस्थामा पनि सर्वोच्चमा काँग्रेस आधिकारिकताको मुद्धा विचाराधिन छ । यस्तो अवस्थामा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको वयानलाई लिएर देउवा गगनमाथि प्रहार गर्ने दाउमा देखिएका हुन् । इनमले प्रहरी वयानमा १८ करोड लिएर पार्टी आधिकारिकता लिएको आरोप लगाएका छन् । जुन विषयले शेरबहादुर उत्साहित देखिन्छन् । यही कडिमा उभिएर पार्टी  आधिकारिकता फुत्काउन सकिने देउवाको बुझाइ छ । 

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले आरोप र दोषी प्रमाणित हुने विषयमा फरक  नछुट्याइ गगनलाई सीधै दोषी करार गरेर दिएको अभिव्यक्ति अझै शंकोको विषय बनेको छ । देउवाको यो अभिव्यक्तिले आगामी काँग्रेसको भविष्य र पार्टी आधिकारिकताको फैसलामा कस्तो प्रभाव पार्ला ? यो भने हेर्न बाँकी छ । 

बयानकै कारण दोषी होलान् गगन ? 

गगन थापाविरुद्धको वयान आएपनि यो तथ्यपूर्ण वयान हो वा आरोप मात्रै हो ? भन्ने विषय प्रमाणित भएको छैन । गगन थापा नेतृत्वको काँग्रेसले त यो आरोपलाई सरकारको षड्यन्त्रको रुपमा लिएको छ । यो विषयमा प्रहरीले थप अनुसन्धान गर्ने नै देखिन्छ । यतिसम्मको गम्भीर र संवेदनशील विषयमा सरकारले समेत  अहिलेसम्म एक्शन नलिएको अवस्था र आरोपको थप तथ्य नबाहिरिँदा गगनमाथि कुनै दवाब देखिँदैन । जुन कारण पनि वयानकै कारण न्यायिक फैसलामाथि पनि ठूलो प्रभाव पर्ने खतरा छैन । यद्यपि उता देउवा पक्षलाई भने महाधिवेशनको माहोल सृजना गर्न र गगनइतरको राजनीतिक लाइन बलियो बनाउन भने इनमको वयानले थप टेवा पुर्‍याएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update