काठमाडौं । सत्तारूढ रास्वपाका २० जना नेता सांसद एकैपटक चीन भ्रमणमा निस्कने तयारीमा छन् । प्रधानमन्त्री र पार्टी सभापतिसँग परामर्श गरेर हुन लागेको यो भ्रमण सामान्य राजनीतिक भेटघाट मात्रै हो कि रणनीतिक महत्वसहितको कदम ?
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीको २० सदस्यीय उच्चस्तरीय टोली आइतबार चीन प्रस्थान गर्दैछ । भ्रमणमा निस्कनुअघि टोलीले प्रधानमन्त्रीसँग छलफल गरि भेटवार्ता गरी नेपाल–चीन द्विपक्षीय हित र भ्रमणका एजेन्डाका विषयमा आवश्यक छलफल गरेको छ । त्यसैगरी, शनिबार बिहान प्रतिनिधिमण्डलले बुढानीलकण्ठस्थित पार्टी सभापति रवि लामिछानेसँग निवासमै पुगेर छलफल तथा भेटवार्ता गरेको छ ।
टोलीले सभापति लामिछाने संग भेटेर भ्रमणको तयारी र पार्टीको धारणाका विषयमा संवाद गरेको हो । एउटै पार्टीबाट २० जनाको यति ठूलो समूह विदेश भ्रमणमा निस्कन लागेपछि यसलाई चासोका साथ हेरिएको छ ।
सत्तारूढ दलको जम्बो टोली कतै सरकारी र पार्टीगत कामको आवरणमा चीन घुमेर मात्र फर्कने त होइन भन्ने प्रश्न पनि उठ्न थालेका छन् । तर रास्वपाले भने यो भ्रमणलाई घुमघाम का रूपमा नबुझ्न आग्रह गरेको छ । रास्वपा प्रवक्ता जगदिश खरेलका अनुसार यो भ्रमणको मुख्य उद्देश्य राजनीतिक र कूटनीतिक सम्बन्ध सुदृढ गर्नु हो ।
सरकारको नेतृत्व गरिरहेको दल भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध र मित्र राष्ट्रहरूप्रति रास्वपाको दृष्टिकोण स्पष्ट पार्न यो भ्रमण महत्ववपूर्ण हुने उनको भनाइ छ । नेपालको सत्तारूढ दल रास्वपा र चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध मजबुत बनाउँदै दुई देश र जनता–जनताबीचको सम्बन्धलाई विगतभन्दा अझ सौहार्द र बलियो बनाउने मुख्य राजनीतिक लक्ष्य रहेको प्रवक्ता खरेलले बताएका छन् ।
रास्वपा प्रवक्ता खरेलले २० सदस्यीय जम्बो टोली हुनुको कारणसमेत प्रस्ट्याएका छन् । हेर्दा टोली ठूलो देखिए पनि यसमा राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू मात्र नरहेको बताए । टोलीमा कानुनी क्षेत्रका विज्ञ, इन्जिनियर, उद्यमी तथा विभिन्न क्षेत्रका विशेषज्ञहरूको विविधतापूर्ण सहभागिता रहेकाले आ–आफ्नो क्षेत्रबाट अध्ययन गरी भ्रमणलाई फलदायी बनाइने प्रवक्ता खरेलले तर्क गरे ।
चीनको १० दिने औपचारिक भ्रमणका लागि महामन्त्री विपिन आचार्यको नेतृत्वमा कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, हरि ढकाल, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेश कुमार सापकोटा सहभागी छन् ।
यस्तै टोलीमा डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि समेटिएका छन् । यो टोलीलाई प्रधानमन्त्री बालेन्द्र शाहले समेत घुमघाममा मात्रै सीमित नराख्न निर्देशन दिएका छन् ।
चीनबाट नेपालले लिन सक्ने प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन र कृषि आधुनिकीकरणका अवसर पहिचान गर्न प्रधानमन्त्रीले निर्देशन दिएको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको भनाइ छ ।
कूटनीतिक सम्बन्ध विस्तार, पार्टी–पार्टीबीचको सहकार्य र चीनको विकास मोडलको अध्ययन गर्ने जस्ता महत्वकाङ्षी उद्देश्य बोकेर रास्वपाको २० सदस्यीय टोली चीन प्रस्थान गर्न लागेको छ । भ्रमणअघि प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेसँगको भेटले पनि यो यात्रालाई अझ अर्थपूर्ण बनाउने प्रयास गरिएको देखिन्छ । तर यति ठूलो जम्बो टोलीको यो भ्रमणले व्यवहारमा कस्तो नतिजा ल्याउँछ र नेपालको विकास तथा कूटनीतिमा के कस्तो ठोस योगदान पु¥याउँछ, त्यो भने भ्रमणपछिको उपलब्धिले नै पुष्टि गर्नेछ ।


