News 24 Television
तराई मधेशमा छठको विशेष उल्लास, कहाँ कहाँ मनाइयो छठ ?

काठमाडौं । कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ । आइतबार छठको प्रमुख दिन राजधानी काठमाडौँदेखि तराई मधेशमा उल्लासपूर्वक छठ मनाइरहँदा फरकफरक समुदाय, जात र क्षेत्रका नागरिकबीच सद्भाव बढेको छ ।

कार्तिक शुक्लचतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ शुक्रबारदेखि सुरु भएको थियो । छठको मुख्यदिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाइएको छ । सामाजिक पर्व छठ विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउदो र्र्सुयलाई अर्घ दिई श्रद्धा एवम् भक्तिर्पूवक मनाएका छन् । 

पछिल्लो समय सामाजिक सद्भाव खल्बल्याउने प्रयास भईरहेको बेला छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरु बीच सौहार्दता, आत्मियता र सद्भाव देखिएको छ । उनीहरुले सामुहिक रुपमा पूजापाठ र व्रत गरेका छन् । मधेशको धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामका विभिन्न पोखरी तथा नदी किनारमा हजारौं श्रद्धालुको उपस्थिति रहेको छ । 

लोक आस्थाको महान पर्व छठका अवसरमा जनकपुरधामका घाटहरू भक्तजनले भरिभराउ बनेका छन् । छठ पर्वमा इच्छाअनुसार भाकल पूरा भएपछि धन्यवादस्वरूप तथा मनोकामना पूरा होस् भन्ने विश्वासका साथ व्रत बस्ने चलन रहेको छ ।

व्रतालुहरूले पवित्रता तथा नियमपूर्वक पूजा आराधना गर्दै छठीमाईसँग सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्दछन् ।

संस्कृतीविद् श्यामसुन्दर शशीका अनुसार छठ पर्व परापूर्वकालदेखि नै सबै समुदायले मनाउँदै आएको लोक आस्थाको पर्व हो । प्रकृतिप्रति सम्मान र सूर्य उपासनासँग जोडिएको यस पर्वको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको उनी बताउँछन् ।

यस वर्ष गङ्गासागर तलाउ क्षेत्रमा विशेष चहलपहल देखिएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छठ पूजामा सहभागी हुने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । 

गङ्गासागर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने लामिछानेका लागि विशेष घाटको समेत व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापा पनि आइतबार छठ मनाउन सर्लाही पुगेका छन् । पत्नी डा. अञ्जना केसी थापासहित मधेश झरेका सभापति थापाले वीरगन्ज–१० स्थित घडिअर्वा घाटमा सोमबार पूजापाठ गर्ने कार्यक्रम रहेको छ । त्यसपछि स्थानीयसँग अनौपचारिक संवाद, पार्टी कार्यकर्तासँग भेटभाट र पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रम सहभागी हुने सचिवालयले जनाएको छ । 

यस्तै मधेसी समुदायको उल्लेख्य बसोबास रहेको मकवानपुरको हेटौंडामा यस वर्ष पनि छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । तराई मूलका परिवारसँगै घाटमा पुगेका पहाडी समुदायका व्रतालुहरू पनि छठको विधिअनुसार पूजा सामग्री सजाउने, निराहार व्रत बस्ने र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परामा सहभागी भएका छन् । 

यसले छठ पर्वलाई धार्मिक आस्थासँगै समुदायबीचको सांस्कृतिक आत्मीयता जोड्ने पर्वका रूपमा समेत स्थापित गर्दै लगेको छ । 

यस्तै रूपन्देहीका नदी, पोखरी तथा जलाशय क्षेत्रमा धार्मिक रौनक बढेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका २४९ वटा छठ घाटमा पूजा व्यवस्थापन तथा सुरक्षा प्रबन्ध मिलाइएको छ । 

भैरहवाको सिद्धार्थनगरस्थित श्रीराम जानकी हनुमान मन्दिर परिसर, कालीभक्ति गण, गोनहिया, बालापुरलगायतका स्थानमा छठ पूजा गरिएको छ छ । तिनाउ, दानव, रोहिणी नदीमा पनि भक्तजनको भीड छ ।  

हिन्दू धर्मअनुसार छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु र आरोग्यको कामना गरिन्छ । 

चार दिनसम्म मनाइने यस पर्वमा व्रतालुहरूले कठोर उपवास, शुद्धता र अनुशासन पालना गर्छन्। विशेषगरी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने समयमा घाटहरूमा ठूलो भीड लाग्ने गर्दछ। पछिल्लो समय मधेसी समुदायमा मात्र सीमित नरही पहाडी समुदायसहित विभिन्न जातजाति र समुदायको सहभागिता बढ्दै गएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update