काठमाडौं । समाजवादी मोर्चाले एमालेलाई पनि सहभागी गराउने भन्दै तयारी थालेपछि विभिन्न कोणबाट चर्चा चलिरहेका छन् ।
बाहिर समाजवादी मोर्चामा सहभागीताबारे चर्चा चलिरहेका समय एमालेले भने सरकार सफल बनाउने तिर नै चासो देखाइरहेको छ ।
अहिलेका राजनीतिक संकटलाई पार लगाउन भन्दै बनेको समाजवादी मोर्चा एमालेलाई समेट्न सफल होला त ?
तत्कालीन समयमा कांग्रेससहितको सत्ता गठबन्धन बनेकै बेला माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी पार्टी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले सक्रियता बढाउने कोसिस गरिरहेको छ ।
समाजवादी मोर्चा गठनकै विषयले चिढिएका डा. बाबुराम भट्टराई अहिले प्रचण्डसँग चिढिएका छन् । तर, मोर्चामा एमालेलाई पनि सहभागी गराउने भन्दै मोर्चा संयोजक नेत्रविक्रम चन्द ’विप्लव’ले सक्रियता बढाएका छन् ।
बालकोटमै पुगेर ओलीसँग कुराकानी गरेपछि प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल भयो । छलफल राम्रो भएको दाबी गरेका ओलीले समाजवादी मोर्चामा भने तत्काल सहभागी हुने संकेत गरेनन् ।
ओलीले आफ्नो दलमा सल्लाह गर्ने, छलफलले दिने निष्कर्षपछि मात्रै जवाफ फर्काउने बताएको प्रधानमन्त्री निकटहरुले बताएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले अहिलेको राजनीतिक संक्रमण, कम्युनिष्ट जनमतमा आइरहेको संकटदेखि थुप्रै चुनौतिको सामना मिलेर गर्नुपर्ने भन्दै मोर्चामा आउन प्रस्ताव गरेको बुझिएको छ । यद्दपी, ओलीले पार्टीमा सल्लाह गर्ने भन्दै खास चासो नदेखाएको बताइन्छ ।
यस्तोमा माओवादी केन्द्रले पनि एमाले नआएपनि मोर्चा अघि बढ्ने बताइरहेको छ ।
मोर्चाको राजनीति र नेतृत्व
समाजवादी मोर्चालाई कार्यगत एकताको रुपमा दलहरुले लिइरहेको देखिन्छ । मुद्दा र एजेण्डामा सामूहिकता खोज्ने र मुलुकको वृहत्तर हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि गर्ने उद्देश्य मोर्चाको छ । यसअघि माधव नेपालले मोर्चाको नेतृत्व गरेपनि अहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले नेतृत्व गरिरहेका छन् ।
उनले सक्रियताका साथ एमालेलाई पनि समेट्ने योजना बनाएर छलफल अघि सारे पनि यसले सार्थकता भने पाइसकेको छैन् । यस्तोमा मोर्चाको राजनीति र नेतृत्वको पहल कदमीलाई पनि महत्वका साथ हेरिएको छ ।
एमाले के गर्ला ?
एमाले अध्यक्ष केपी ओली पछिल्लो समय अत्यन्तै लचक र कोमल बन्न थालेका छन् । माधव नेपालसहितका नेताहरुलाई देख्नै नचाहने ओली लचकतासहित साथ खोजिरहेको देखिन्छन् ।
यसको अर्थ हो, ओलीले आगामी राजनीतिक चुनौतिलाई नजिकबाट नियालेका छन् । मध्यपहाडी पदयात्रामा निस्किएपछि ओलीले जनताको पार्टीप्रतिको आशा र भरोसा नदेख्नु र पछिल्लो समय लोकप्रियतावाद हाबि हुनुले पनि ओलीले सचेततापुर्वक कदम चाल्न खोजेको देखिन्छ ।
यस्तो अवस्थामा ओलीले समाजवादी मोर्चालाई पनि हतियार बनाउने गरि निर्णय नगर्लान् भन्न सकिने स्थिति भने छैन् ।
नजिकिदै गएको उपचुनावमा एमालेको स्थिति र त्यसपछि मोर्चा वा पार्टी एकता, कार्यगत एकता सहकार्यको स्थिति थप प्रष्ट हुने विश्वास गर्न थालिएको छ ।
